आख्यानशास्त्रको सैद्धान्तिक परिचय
— डा. दुर्गाबहादुर घर्ती
विषयप्रवेश
मानव जातिले सभ्यताको आदिकालदेखि अनेक
प्रकारका कलाको विकास गर्दै आएको छ । कला सिर्जनाका लागि ज्ञान, भावना र कल्पना अनि अनुकरण गर्न सक्ने अद्भुत क्षमता मानवमा
जन्मजात प्राप्त छ । मानव सिर्जनाका विभिन्न स्वरूपमध्ये साहित्य भाषाका
माध्यमद्वारा अभिव्यक्त हुने कला हो । विषयवस्तु एवं प्रस्तुतिगत शैलीका आधारमा
साहित्यका विभिन्न विधाहरू छुट्टिन्छन् । गद्य शैलीमा घटनाको वर्णन गर्ने विधालाई
आख्यान भनिन्छ । यसअन्तर्गत कथा र उपन्यास पर्दछन् । कथाको आयामविस्तार छोटो र
उपन्यासको आयामविस्तार लामो हुन्छ । त्यसो त कविता, नाटक र निबन्धमा पनि आख्यानतत्त्व त्याज्य छैन तर कवितामा
भाव,
नाटकमा अनुकरण र निबन्धमा विचारको प्रधानता हुन्छ । कथाकथन
अर्थात् घटनावर्णन नै आख्यानको मूल पक्ष हो । कविता र नाटकले साहित्यको समग्र
भूगोल ओगटिरहेको अवस्थामा पछिबाट निबन्ध र आख्यानले आफ्नो उपस्थिति जनाउँछन् ।
अहिले लोकप्रिय विधाका रूपमा आख्यानको बढोत्तरी हुँदै गएको छ र यसको सैद्धान्तिक
व्याख्या पनि देखापरिरहेका छन् । तिनै सैद्धान्तिक विमर्शलाई यहाँ चिनाउने प्रयत्न
गरिएको छ ।
आख्यानको परिचय
कथा (स्टोरी) र आख्यान वा समाख्यान
(न्यारेटिभ) दुवै समान प्रकारका देखापरे पनि तिनमा सूक्ष्म भिन्नता देखार्दछ ।
संस्कृत काव्यशास्त्रमा आख्यान, आख्यायिका, कथा, उपख्यान
जस्ता भेदहरूको र पाश्चात्य साहित्यमा ग्रिसेली चिन्तनपरम्परादेखि नै कथा र
कथानकको विस्तृत व्याख्या गरिएको पाइन्छ । ती मूलतः नाट्यसिद्धान्तका सन्दर्भमा
आएका छन्,
भरतको नाट्यशास्त्र र अरिस्टोटलको पोइटिक्स नै तिनको मूल
आधार हो । आख्यानका बारेमा नयाँ ढङ्गमा गहन र सूक्ष्म अध्ययन गर्ने कार्यमा
संरचनावादीहरूको योगदान महत्त्वपूर्ण छ । आख्यानको अध्ययन गर्ने सिद्धान्तलाई
आख्यानशास्त्र वा समाख्यानशास्त्र भनिन्छ । साहित्यसिद्धान्तमा आख्यानशास्त्र
भनेको आख्यानात्मक संरचनाको अध्ययन हो (ब्रिटानिका, मिति नभएको) । मोनिका फ्लुडर्निक (सन् २००६) का अनुसार
आख्यानशास्त्र एउटा विधाका रूपमा आख्यानको अध्ययन हो (पृ. ८) । आख्यानशास्त्रको
अध्ययनका सन्दर्भमा कथा, कथानक, आख्यान, सङ्कथन
जस्ता आधारभूत शब्दहरू बुझ्नु आवश्यक हुन्छ । आख्यानमा एक वा एकभन्दा बढी वास्तविक
वा काल्पनिक घटनाहरू एक, दुई वा
धेरै समाख्याताहरूद्वारा एक, दुई
वा धेरै आख्यायितहरूलाई सम्प्रेषित गरिएको हुन्छ । कथामा घटनाहरूको कालक्रमिक
वर्णन हुन्छ । त्यसमा ‘के’ भन्ने प्रश्नको उत्तर हुन्छ, ‘कसरी’ भन्ने प्रश्नको उत्तर खोजिएको हुँदैन (प्रिन्स, सन् २००३, पृ.
५८ र ९३) । यहाँ ई. एम. फस्र्टरको कथा र कथानकबिचको भिन्नतासम्बन्धी विचार पनि
स्मरणीय छ । कथा समयशृङ्खलामा व्यवस्थित घटनावर्णन हो र कथानक पनि घटनावर्णन नै हो
तर त्यसमा कार्यकारणमा जोड दिइएको हुन्छ (फस्र्टर, सन् १९८५, पृ.
८७) । रुसी रूपवादीहरू कथानकलाई कथाको कालक्रमिक शृङ्खलाको पुनर्विन्यास भन्छन् ।
संरचनावादीहरूका अनुसार रणनैतिक ढङ्गमा सङ्गठित कथाका घटनाहरूलाई नै परम्परागत
रूपमा कथानक भनिएको हो । कथामा घटनाहरू त्यसको सङ्कथनद्वारा कथानकमा रूपान्तरित
हुन्छन्,
त्यो प्रस्तुतीकरणको ढङ्ग हो (च्याटम्यान, सन् १९७८, पृ.
४३) । कथानक आख्यानको अङ्ग हो । आख्यानमा मान्छेका कथा प्राप्त गर्नका लागि
सामग्रीहरूलाई उपयुक्त ढङ्गमा प्रस्तुत गरिएको हुन्छ (बार्थ, सन् १९७७, पृ.
७९) । जेरार्ड जेनेट (सन् १९८०) का अनुसार आख्यान भनेको सामान्यतः मौखिक वा लिखित
सङ्कथन हो जसले घटना वा घटनाहरूको शृङ्खलाका बारेमा भन्ने प्रयत्न गर्छ । अहिले
आख्यानले वास्तविक होस् या काल्पनिक घटनाहरूको शृङ्खला भन्ने बुझाउँछ र ती
सङ्कथनका विषय हुन् (पृ. २५) । च्याटम्यान (सन् १९७८) का अनुसार कथा भनेको
विषयवस्तु वा घटनाहरूको शृङ्खला हो र सङ्कथन अभिव्यक्ति हो, माध्यम हो जसद्वारा विषयवस्तु सूचित हुन्छ (पृ. १९) ।
समग्रमा,
घटनाहरूको व्यवस्थित संयोजन नै समाख्यान कला हो भन्न सकिन्छ
। आख्यान अहिले साहित्यको एउटा विधाका रूपमा स्थापित भएको छ र त्यसअन्तर्गत कथा
(सर्ट स्टोरी) र उपन्यास पर्दछन् ।
आख्यानको तत्त्व
आख्यान आफैमा पूर्ण हुन्छ, त्यसलाई विभिन्न तत्त्वहरूले पूर्णता प्रदान गर्छन् ।
आख्यानका तत्त्वहरूलाई संरचक घटक पनि भनिन्छ । च्याटम्यानले आख्यानका तत्त्वहरूलाई
कथा र सङ्कथन गरी मुख्य दुई भागमा विभाजन गरेका छन् । कथातत्त्व आख्यानात्मक
अभिव्यक्तिको विषयवस्तु हो र सङ्कथनतत्त्व आख्यानात्मक अभिव्यक्ति हो । कथातत्त्वअन्तर्गत
घटना र अवस्थिति पर्दछन् । घटनामा कार्य र संयोग तथा अवस्थितिमा पात्र र परिवेश
समाविष्ट हुन्छन् । ती विषयवस्तुका रूप हुन् । कथामा लेखकको सांस्कृतिक संहिताद्वारा
छनोट गरिएका वस्तु र घटना आदिको चित्रण विषयवस्तुको सार हो । त्यसैगरी सङ्कथतत्त्वअन्तर्गत
आख्यानात्मक सङ्कथन वा आख्यान सम्प्रेषणको संरचना अभिव्यक्तिको रूप हो र
माध्यमविशेषबाट प्रकटीकरण अभिव्यक्तिको सार हो । रूपवादी एवं संरचनावादीहरू सारमा
भन्दा रूपलाई महत्त्व दिन्छन् । आख्यानका संरचक घटकहरूमध्ये घटना, पात्र र परिवेश सङ्केतित हुन् र आख्यानात्मक अभिव्यक्तिका
रूपमा रहेको भाषा सङ्केतक हो (च्याटम्यान, सन् १९७८, पृ.२५—२६)
। पछि च्याटम्यानले कथानक, पात्र, परिवेश, कथन, दृष्टिबिन्दु, सारवस्तु र विचारलाई आख्यानको प्रमुख तत्त्वका रूपमा लिएर
तिनको विस्तृत व्याख्या गरेका छन् । उनका अनुसार कथानक, पात्र, परिवेश
र सारवस्तु आख्यानका आधारभूत तत्त्व हुन् । ती कथाका तत्त्व हुन् । कथन र कथयिता
अर्थात् भाषा र दृष्टिबिन्दु सङ्कथनका तत्त्व हुन् (च्याटम्यान, सन् १९९३, पृ.
३ र ६०७) । सङ्कथनतत्त्वका भाषा र दृष्टिबिन्दु आख्यानको सूक्ष्म घटक हुन् भने कथातत्त्वका
कथानक,
पात्र, परिवेश
र सारवस्तु स्थूल घटक हुन् ।
आख्यानको तह
आख्यानमा धेरै प्रकारका घटनाहरूको
संयोजन गरिएको हुन्छ । घटनाको वर्णन वा कथाकथन आख्यानको मुख्य विशेषता हो । नाटक
अनुकरणात्मक र आख्यान वर्णनात्मक हुन्छ । ग्रिसेली भाषामा अनुकरणलाई ‘मिमेसिस’ र
कथाकथनलाई ‘डिजिसिस’ भनिन्छ । आख्यानमा प्रस्तुत गरिएको कथाकथनको अंश, विशेषगरी आख्यानद्वारा वर्णन गरिएको कथाकथनलाई ‘डिजिटिक’
भनिन्छ (प्रिन्स, सन् २००३, पृ. २०) । जेरार्ड जेनेटले कथाकथनलाई मूल, प्रथम वा ‘डिजिटिक’ र अन्तर्निहित, द्वितीयक वा ‘मेटाडिजिटिक’ गरी दुई प्रकारमा विभाजन गरेका
छन् । मूल कथाकथनमा आख्यानका मुख्य मुख्य वृत्तान्त प्रस्तुत हुन्छन् । त्यसमा
समाख्याता पात्रका रूपमा देखापर्ने अर्थात् प्रथम पुरुष दृष्टिबिन्दु र पात्रका
रूपमा देखा नपर्ने अर्थात् तृतीय पुरुष दृष्टिबिन्दु गरी दुई प्रकारको हुन्छ ।
अन्तर्निहित कथाकथन मूल कथाकथनसँग सम्बन्धित हुन्छ । मूल र अन्तर्निहितका बिच
कार्यकारणको सम्बन्ध हुन्छ । द्वितीयक कथाकथनले प्रथमको व्याख्या गर्ने, त्यसलाई पूरा गर्ने, विस्तार गर्ने र जोड्ने काम गर्दछ (जेनेट, सन् १९८०, पृ.
२२८—२३४) । मिकी बलका अनुसार आख्यानात्मक पाठ प्राथमिक र अन्तर्निहित हुन्छन् ।
प्राथमिक समाख्याताको पाठ र अन्तर्निहित पात्रको पाठ हुन् (बल, सन् २०१७, पृ.
५१) । गौण वा अन्तर्निहित कथाकथन मूलभन्दा भिन्दै संरचना हो तर मूलको विरोधी होइन, त्यसको सहयोगी अंश हो ।
आख्यानको सम्प्रेषण
आख्यान सञ्चार हो र साहित्यमा भाषाका
माध्यमद्वारा आख्यान सम्प्रेषित हुन्छ । आख्याभित्र विनिमयको कार्य प्रधान हुन्छ, आख्यान सञ्चार गर्ने वस्तुका रूपमा रहेको हुन्छ (बार्थ, सन् २००६, पृ.
८१) । यसमा प्रेषक र प्रापक गरी दुई पक्ष हुन्छन् । लेखक प्रेषक र श्रोता वा पाठक
प्रापक हुन्छ । लेखक र पाठकबिच आख्यानको आदानप्रदान नै आख्यानात्मक सम्प्रेषण हो ।
यस प्रक्रियामा वास्तविक लेखक, अन्तर्निहित
लेखक,
समाख्याता, आख्यायित, अन्तर्निहित पाठक र वास्तविक पाठकको सहभागिता हुन्छ ।
वास्तविक लेखक र वास्तविक श्रोता वा पाठकद्वारा कथाको सञ्चार हुने भए पनि तिनले
त्यो अन्तर्निहित लेखक र अन्तर्निहित पाठकका माध्यमबाट गर्छन् । अन्तर्निहित लेखक
र अन्तर्निहित पाठक मात्र कार्यका अन्तर्यामी हुन्छन् र तिनले पाठका रूपमा गर्ने
आख्यानात्मक विनिमयको निर्माण गर्छन् (च्याटम्यान, सन् १९७८, पृ.
२८) । वास्तविक लेखक भनेको आख्यान लेख्ने व्यक्ति हो, त्यो वास्तविक निर्माता हो । तर आख्यानको श्रवण वा पठनका
क्रममा हाम्रा सामु वास्तविक लेखक हुँदैन । आख्यानमा हामीलाई यावत् कुरा कुनै
काल्पनिक व्यक्ति वा अभिकर्ताले प्रस्तुत गर्दछ जसलाई हामी पाठबाट अनुमान गर्न
सक्तछौँ । हामी आख्यानको पठनका क्रममा सारा कथाको निर्माणको श्रेय त्यही काल्पनिक
व्यक्ति वा अभिकर्तालाई दिन्छौँ । त्यसैले त्यो पाठकद्वारा गरिएको वास्तविक लेखकको
पुनर्सिर्जन हो । त्यसलाई अन्तर्निहित लेखक भनिन्छ । अन्तर्निहित लेखक भन्ने
पदावली सर्वप्रथम वयन सी. बूथ (सन् १९६१) ले गरेका हुन् । अन्तर्निहित लेखकले घटना
र पात्र मात्र नभएर समाख्याताको पनि चयन गर्दछ । त्यसकारण अन्तर्निहित लेखक
समाख्याता होइन । समाख्यातालाई अन्तर्निहित लेखकले बनाउँछ । समाख्याता कथाप्रेषक
वा कथावाचक मात्र हो, जबकि
सारा कुराको योजना अन्तर्निहित लेखकको हुन्छ । समाख्याताले अन्तर्निहित लेखकको
मनोभाव सम्प्रेषण गर्दछ । अन्तर्निहित लेखक आफू बोल्दैन, पाठकलाई सोझै सन्देश भन्ने काम गर्दैन (च्याटम्यान, सन् १९९३, पृ.
२४०—२४२) । अन्तर्निहित लेखक प्रत्यक्ष रूपमाा देखिने जैविक लेखक नभए पनि त्यसले
आख्यानात्मक पाठको वैचारिक एवं नैतिक अवस्थाको बहस र विश्लेषण गर्दछ । त्यो पाठको
अर्थको स्रोत नभएर अर्थको खोजीको परिणति हो (बल, सन् २०१७, पृ.
६१) । अन्तर्निहित लेखकले कुनै निश्चित विश्वासको समुच्चय मात्र नभई आफ्नो
उद्देश्यप्रति सहानुभूति राख्ने, पाठको
बोध गर्न सक्ने एक निश्चित प्रकारको पाठकको पनि परिकल्पना गरेको हुन्छ । वास्तविक
व्यक्ति नभएर अन्तर्निहित लेखकद्वारा कल्पना गरिएको पाठकलाई अन्तर्निहित पाठक
भनिन्छ । यो अन्तर्निहित लेखकको प्रापक हो । आख्यानमा अन्तर्निहित लेखक र
अन्तर्निहित पाठक सधैँ उपस्थित हुन्छन् । अन्तर्निहित पाठक आख्यायित वा सम्बोधित
होइन । आख्यायितचाहिँ समाख्याताले प्रत्यक्ष रूपमा सम्बोधन गर्ने श्रोता हो ।
आख्यायित कथाका बारेमा कहिल्यै बोल्दैन, ऊ श्रोता मात्र हो (च्याटम्यान, सन् १९९३, पृ.
२४६—२४७) । आख्यायितले कथाका बारेमा बोल्यो भने त्यो समाख्याता भइहाल्छ । आख्यायित
प्रकट र अप्रकट वा पात्रका रूपमा देखापर्ने र देखापनपर्ने हुन्छ । वास्तविक लेखक र
वास्तविक पाठक आख्यान विनिमयको बाहिर रहेका हुन्छन् (च्याटम्यान, सन् १९७८, पृ.
१५१ र २५४) । आख्यान सम्प्रेषणमा वास्तविक लेखक र वास्तविक पाठकभन्दा अन्तर्निहित
लेखक,
समाख्याता, आख्यायित
र अन्तर्निहित पाठकको भूमिका महत्त्वपूर्ण हुन्छ ।
कथनको प्रस्तुतीकरण
आख्यानको मुख्य कार्य भनेको घटनावर्णन
वा कथाकथन हो । कथाकथन समाख्याताले गर्दछ । समाख्याताद्वारा प्रस्तुत गरिने
कथाकथनलाई च्याटम्यानले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारमा वर्गीकरण गरेका
छन् । प्रत्यक्ष कथनमा पात्रले गरेका र भनेका कुराका साथै नभनेका र नसोचेका कुराको
पनि वर्णन हुन्छ, त्यसको
व्याख्या,
मूल्याङ्कन, सामान्यीकरण जस्ता विभिन्न प्रकारको टिप्पणी हुन्छ ।
अप्रत्यक्ष कथनमा अप्रत्यक्ष सङ्कथनको प्रकृति, पाठको बाह्य पक्षको चित्रण, सीमित दृष्टिबिन्दु जस्ता कुरा पर्दछन् । अप्रत्यक्ष कथनमा
घटना,
पात्र तथा परिवेशका बारेमा भनेको स्वर सुनिन्छ, तर भन्नेवाला समाख्यानको छायामा लुकेको हुन्छ (च्याटम्यान, सन् १९७८, पृ.
१९६—१९७) ।
कौतूहल
कौतूहल र विस्मय प्रधान कथा र त्यसको
उपकारकसँग सम्बन्धित हुन्छन् । कोशीय अर्थमा कौतूहल अनिश्चयात्मक हुन्छ र धेरैजसो
चिन्ताजनक हुन्छ । यसमा प्रायः पीडा र आनन्द मिश्रित उत्सुकता हुन्छ (च्याटम्यान, सन् १९७८, पृ.
५९) । कौतूहलले नै पाठकलाई पाठसँग आकर्षित गर्दछ । कौतूहल परिणाममुखी र
प्रक्रियामुखी हुन्छ ।
पात्र
पात्र कथाजगत्को सहभागी हो ।
आख्यानमा मानव जीवनको प्रस्तुति पात्रका माध्यमद्वारा हुन्छ । पात्रसम्बन्धी
अवधारणा पूर्वमा भरतमुनि र पश्चिममा अरिस्टोटलदेखि नै पाइन्छ । चरित्रचित्रणमा
व्यक्तिको स्पष्ट तस्बिर, उसका
क्रियाकलाप र चिन्तनप्रक्रिया र जीवनको चित्रण पर्दछन् । यसमा मान्छेको प्रकृति, परिस्थिति, आनीबानी, संवेदना, इच्छा, मूलप्रवृत्ति जस्ता यावत् कुरा पर्दछन् जसले व्यक्तिको
निर्माण गरेका हुन्छन् (च्याटम्यान, सन् १९७८, पृ.
१०७) । परम्परागत रूपमा पात्रलाई आख्यानमा कार्यव्यापार गर्ने व्यक्ति भनिएको
पाइन्छ । रूपवादी र केही संरचनावादीहरूले पनि पात्रलाई घटना सिर्जना गर्ने
व्यक्तिका रूपमा लिएको पाइन्छ । उनीहरूका दृष्टिमा पनि पात्र व्यक्तिभन्दा कर्तृक
हो,
कार्य गर्ने व्यक्ति हो । भ्लादिमिर प्रप, टोमसेभ्स्की आदिको धारणा यही प्रकारको छ । तोदोरोभले
प्रपलाई समर्थन गरे पनि उनले कथानककेन्द्री वा अमनोवैज्ञानिक र पात्रकेन्द्री वा
मनोवैज्ञानिक आख्यान भनेर भिन्नता देखाएका छन् । रोलाँ बार्थ पात्रलाई
प्रकार्यात्मक सङ्कुचित घेराबाट मुक्त गर्न चाहन्छन् र व्यक्तित्व एवं विशेषतामा
जोड दिन्छन् । च्याटम्यानका विचारमा पात्रको व्यवहार्य सिद्धान्तले खुलापनलाई
जोगाइराख्नुपर्छ अनि पात्रलाई केवल कथानकको कार्य गर्ने व्यक्तिका रूपमा नभएर
स्वायत्त प्राणीका रूपमा मान्नुपर्छ । यसमा के तर्क दिनुपर्छ भने श्रोता वा
पाठकद्वारा पात्रको पुनर्निर्माण गरिएको हो । पात्रको पुनर्निर्माण भन्नुको
तात्पर्य “पात्रहरू कस्ता छन्” भन्ने कुराबाट खुल्दछ (च्याटम्यान, सन् १९७८, पृ.
११९) । त्यसले पात्रको व्यक्तिलाई खुला गर्दछ । आख्यानमा पात्र समाख्याताका रूपमा; सम्बोधितका रूपमा; कर्ता, कर्म, प्रेषक, प्रापक, सहयोगी, प्रतिद्वन्द्वी
आदि भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा देखापर्दछ ।
सारवस्तु
सारवस्तुअन्तर्गत विषयसूत्र र विचार
पर्दछन् । विषयसूत्र (थिम) आख्यानजगत्भन्दा बाहिर वास्तविक जीवनको अनुभवको जगत्सँग सम्बन्धित
हुन्छ । यो कथामा पुनरावृत्ति भइरहँदैन तर कथाबाट सामान्य जीवनमा पुग्न सक्छ ।
अहिलेका आख्यानमा खुला–अन्त हुने भएकाले तिनका विषयसूत्र अनेक हुन सक्छन् ।
विषयसूत्र विचारको संरचनामा खडा हुन्छ (च्याटम्यान, सन् १९९३, पृ.
२७६) । प्रत्येक पाठमा सन्दर्भ हुन्छ, सन्दर्भ पाठवरिपरि रहेको हुन्छ । त्यसैले त्यसमा विश्वास र
विचार पनि रहेको हुन्छ ।
दृष्टिबिन्दु
आख्यानमा कुनै पनि कुरालाई निश्चित
पात्रका दृष्टिबिन्दुबाट हेरिएको हुन्छ । त्यसमा पात्रले सङ्केन्द्रकको कार्य
गर्दछ । कथा सङ्केन्द्रकका विचार र अनुभूतिका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको
हुन्छ । कथा समाख्याताको परिप्रेक्ष्यबाट भनिएको हुन्छ (फ्लुडर्निक, सन् २००६, पृ.
३६) । समाख्याताले आफ्नो दृष्टिकोणअनुासार घटनाको वर्णन गर्दछ । त्यसलाई
दृष्टिबिन्दु भनिन्छ । दृष्टिबिन्दुका ठाउँमा परिप्रेक्ष्य शब्द पनि प्रयुक्त
हुन्छ । दृष्टिबिन्दु भनेको चयन हो, कुनै कुरालाई हेर्ने वा अनुभूत गर्ने निश्चित तरिका हो, निश्चित कोण हो (बल, सन् २०१७, पृ.
१३२) । यससँग परिप्रेक्ष्य; स्वर
(भ्वाइस) अर्थात् समाख्याता, समाख्यान
र व्यक्तिको छनोट; भाव
अर्थात् कार्य, कथन र विचार
प्रस्तुतिको रीति एवं समाख्यानद्वारा सूचना सम्प्रेषणको छनोट र प्रतिबन्धको रीति; समाख्याता अर्थात् द्रष्टा र वक्ता तथा सङ्केन्द्रण पर्दछन्
। जेनेटले समाख्याताको चर्चा स्वर (भ्वाइस) सिद्धान्तअन्तर्गत गरेका छन् र
दृष्टिबिन्दुलाई सङ्केन्द्रणमा समेटेका छन् । समाख्याता त्यसलाई भनिन्छ जसले कथा
भन्दछ । गीत कथाविहीन हुन्छ, नाटक
समाख्याताविनाको कथा हुन्छ, कथा र
उपन्यासमा समाख्यातासहितको कथा हुन्छ (फ्लुडर्निक, सन् २००६, पृ.
४—५) । आख्यानमा समाख्याता नाटकीय र अनाटकीय, निरीक्षक र समाख्याता–अभिकर्ता, बहुल समाख्याता हुन सक्छ । समाख्याता वा कथयिता कथामा
भूमिका निर्वाह गर्ने र नगर्ने दुवै हुन सक्छन् । कथामा भूमिका निर्वाह गर्ने
प्रथम पुरुष समाख्याता हुन्छ । उसले आफ्ना विचार र अनुभूति प्रकट गर्दछ । प्रथम
पुरुष समाख्याता आख्यानको प्रमुख पात्र पनि हुन सक्छ र सहायक पात्र पनि हुन सक्छ ।
सहायक पात्रले प्रमुख पात्रहरूको वर्णन गर्नेलाई परिधीय समाख्याता भनिन्छ । प्रथम
पुरुष समाख्यातालाई आन्तरिक र तृतीय पुरुष समाख्यातालाई बाह्य पनि भनिएको पाइन्छ ।
तृतीय पुरुष समाख्याता सीमित र सर्वज्ञ हुन्छ । त्यसैगरी सङ्केन्द्रण
असङ्केन्द्रीकरण, आन्तरिक
सङ्केन्द्रीकरण र बाह्य सङ्केन्द्रीकरण गरी तीन प्रकारको हुने बताइएको छ ।
असङ्केन्द्रीकरणमा सर्वज्ञ समाख्याता हुन्छ, केन्द्रीय पात्रको दृष्टिकोण, अनुभूति र संज्ञानको प्रस्तुतिमा सीमित हुनु आन्तरिक
सङ्केन्द्रीकरण हो र बाह्य सङ्केन्द्रीकरण बाह्य वस्तुजगत्को वर्णनमा केन्द्रित
हुन्छ (हर्मन तथा अन्य, सन् २००५, पृ. १७३—१७४) ।
परिवेश
आख्यानमा पात्र रहने र क्रियाकलाप
गर्ने दिक् र काल परिवेश हो । त्यसका साथै परिवेशको प्रमुख कार्य भनेको आख्यानको
भावमा योगदान दिनु हो (च्याटम्यान, सन् १९७८, पृ.
१४१) । भाव भनेको व्याकरणिक निश्चयार्थ, आज्ञार्थ, इच्छार्थ, सम्भानार्थ होइन । यो पात्र वा सहभागीको दृष्टि वा
दृष्टिकोण हो । यसलाई परिप्रेक्ष्य पनि भनिन्छ (जेनेट, सन् १९८०, पृ.
१६२) । पात्र र परिवेशको सम्बन्ध हुन्छ । स्थानअन्तर्गत कथाक्षेत्र र सङ्कथन
क्षेत्र पर्दछन् । आख्यानमा समय महत्त्वपूर्ण हुन्छ । आख्यान घटनाहरूको शृङ्खला हो
। यसको आफ्नै विकास, गति, परिवर्तनको प्रक्रिया हुन्छ । घटनाहरू कुनै निश्चित अवधिमा
घटित हुन्छन्, तिनको आफ्नै क्रम
हुन्छ (बल, सन् २०१७, पृ. १७७) । समयअन्तर्गत काल, गति, लय र
अवधि पर्दछन् । घटनाक्रमको दिशा या त भूततर्फ या भविष्यततर्फ हुन्छ जसलाई
प्रत्यावर्तन र प्रत्याशा भनिन्छ । विभिन्न घटनाहरू, घटनाशृङ्खला एवं कथांशले ओगटेको समयको मात्राद्वारा लयको
निर्धारण गर्न सम्भव हुन्छ (बल, सन्
२०१७,
पृ. ७१ र ८९) । लय सङ्क्षेपात्मक र दृश्यात्मक हुन्छ ।
सङ्क्षेपात्मकमा लयको गति तीव्र र दृश्यात्मकमा गति मन्द हुन्छ । समय आख्यानको पठन
समय र कथानक समय गरी दुई प्रकारको हुन्छ । सङ्कथन समय भनेको पठन समय र कथा समय
भनेको समाख्यानका घटनाहरूको अवधि हो (च्याटम्यान, सन् १९७८, पृ.
६२) । अवधि आख्यान पठनको समयसँग सम्बन्धित छ जसमा सारांश, पदलोप, दृश्य, विस्तार र विराम जस्ता कुराले प्रभाव पार्दछन् । जेनेटले
आख्यानको क्रमको व्याख्या गर्ने सन्दर्भमा कालिक क्रम, आयाम, अवधि, पुनरावृत्ति जस्ता कुराको चर्चा गरेका छन् । कथा–घटनाको
आयाम समय हो र कथा–अवस्थिति स्थान हो (च्याटम्यान, सन् १९७८, पृ.
९६) । जेरार्ड जेनेटले अवधि र पुनरावृत्तिका बारेमा चर्चा पनि गरेका छन् । क्रम
कथामा घटनाहरूको अनुक्रमको कालिक क्रम हो र सङ्कथन समय मिथ्या समय हो । अवधि
समाख्यान संयोजननमा कथाकथनको अवधि हो । त्यसैगरी आवृत्ति भनेको दोहोरिनु हो । यो
कथित घटना वा कथा र कथनको पुनरावृत्ति हो (जेनेट, सन् १९८०, पृ.
३५ र ११४) ।
निष्कर्ष
आख्यानशास्त्र आख्यानको अध्ययन गर्ने
सिद्धान्त हो । आख्यानसम्बन्धी धारणा प्राचीन कालदेखि नै पाइने भए पनि रूपवादी र
संरचनावादीहरूले यससम्बन्धी नौलो व्याख्या प्रस्तुत गरेका छन् । आख्यानको संरचना र
संरचक तत्त्वहरूको विमर्श नै आख्यानशास्त्रको मूल पक्ष हो । त्यसमा पनि घटनाहरूको
संयोजन र समाख्यानलाई बढी महत्त्व दिइएको पाइन्छ । यसले आख्यानको अध्ययनमा नौलो
दृष्टि र युक्ति प्रदान गरेको छ ।
सन्दर्भसामग्री
Bal, M. (2017).
Narratology: Introduction to the theory of narrative (4th ed.). University of
Toronto Press.
Barthes, R. (1977).
Image-music-text (Stephen H., Trans.). Fontana Press.
Barthes, R. (2004).
Introduction to the structural analysis of narratives. In Mieke Bal (Ed.),
Narrative theory: Critical concepts in literary and cultural studies (4th ed.,
Vol. 1, pp. 65-94).
Chatman, S. (1978). Story and discourse: Narrative structure in fiction and film.
Cornell University Press.
Chatman, S. (1993). Reading narrative fiction. Macmillan
Publishing Company.
Fludernik, M.
(2009). An introduction to narratology (Patricia H.-G. and Monika F., Eds.).
Routledge.
Forster, E. M.
(1985). Aspects of the novel (Reprint). Penguin Books Ltd.
Genette, G. (1980).
Narrative discourse: An essay in method (Jane E. L., Trans.). Cornell University
Press.
Herman, D., Jah., M.
and Ryan, M-L. (Eds.). (2005). Routledge Encyclopedia of Narrative Theory. Routledge.
https://www.britannica.com/art/narratology
Prince,
G. (2003). A dictionary of narratology (Revised ed.). University of Nebraska
Press.

