Saturday, July 4, 2020

७. भवानी भिक्षुको “टाइपिस्ट” कथामा मनोविश्लेषण


भवानी भिक्षुको “टाइपिस्ट”  कथामा मनोविश्लेषण
डा. दुर्गाबहादुर घर्ती

आधुनिक नेपाली कथाको आरम्भसँगसँगैजसो सामाजिक यथार्थवादी र मनोवैज्ञानिक कथाका दुई धार स्पष्ट रूपमा देखापर्दछन् । गुरुप्रसाद मैनालीको नासो (शारदा, १९९२ जेठ) आधुनिक नेपाली कथायात्राको पहिलो पाइला मात्र नभएर सामाजिक यथार्थवादी कथापरम्पराको उठानबिन्दु पनि हो । आदर्शतर्फ निकै झुकाउ भए पनि सामाजिक जीवनको यथार्थ प्रस्तुतिप्रति मैनाली पर्याप्त सचेष्ट छन् । नासोभन्दा झण्डै छसात महिनापछि विश्वेश्वरप्रसाद कोइरालाको “चन्द्रवदन” (शारदा, १९९२ मार्ग पौष संयुक्ताङ्क) कथा देखापर्दछ । फ्रायडीय सिद्धान्तअनुकूल मानवीय अन्तर्लोकको उद्‌घाटन एवं आन्तरिक प्रेरणाले व्यक्तिका चिन्तन, विचार र व्यवहारमा पार्ने प्रभावको प्रस्तुतीकरणमा केन्द्रित कथा लेखनको परम्परा यहीँबाट सुरु हुन्छ । यो पहिलो नेपाली मनोवैज्ञानिक कथा हो र कोइराला नेपाली मनोवैज्ञानिक कथापरम्पराका प्रणेता हुन् । यही परम्परामा कोइरालाको उत्तरवर्तीका रूपमा मानव (शारदा, १९९५ भाद्र आश्विन संयुक्ताङ्क) कथा लिएर भवानी भिक्षुको आगमन हुन्छ । उनले आफ्नै निजी वैशिष्ट्यका साथ यस परम्परालाई अघि बढाउने काम गरेका छन् र उनीबाट मनोवैज्ञानिक नेपाली कथाले अझ बढी विस्तृति र उचाइ प्राप्त गरेको छ । कोइरालाका कथामा झैँ उनका कथामा रतिरागात्मकताको प्राचुर्य पाइने भए पनि उनको मनोविश्लेषणात्मक प्रयोग बढी सूक्ष्म, गहन र सघन प्रकारको छ । पात्रका मनोवृत्तिको चित्राङ्कनमा कुनै विशेष सङ्केत वा प्रतीकमा मात्र सीमित नरही विस्तृत विश्लेषण र टिप्पणीसमेत प्रस्तुत गर्नु उनको कथागत वैशिष्ट्य हो । उनका गुनकेशरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०२४) र अवान्तर (२०३४) कथासङ्ग्रह प्रकाशित छन् र केही कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
प्रस्तुत “टाइपिस्ट” कथा मैयाँसाहेब कथासङ्ग्रहमा सङ्गृहीत छ । वि. सं. २०१५ सालमा रचित (भिक्षु, २०१७‚ पृ. २६) यस कथामा सामाजिक परिवर्तनको दिग्दर्शन गराउँदै त्यही सामाजिक–पारिवारिक पृष्ठभूमिमा पात्रका अन्तर्मानसिकताको पर्यवलोकन गरिएको छ । यो निम्नवर्गीय नारीको जागरण र पराजयको अन्तः कथा हो (त्रिपाठी, २०२८‚ पृ. २४) । पात्रका बाह्य व्यवहारमा आन्तरिक प्रेरणाको प्रभाव र बाह्य वातावरणद्वारा आन्तरिक इच्छाको उद्‌बोधन यस कथाको मूल पक्ष हो । कार्यकारण सम्बन्धका आधारमा पात्रका अन्तर्बाह्य पक्षको उद्‌घाटन गरिएकाले कथामा प्रयुक्त मनोविश्लेषणात्मक सन्दर्भ बुझ्न सजिलो भएको छ ।
नारीकेन्द्री यस कथाको अग्रभूमिमा शान्ति र मीना देखापर्दछन् । कथाको शीर्षकले पनि यिनै दुई टाइपिस्ट नारीलाई इङ्गित गरेको छ । शान्ति कथावृत्तको केन्द्रकका रूपमा रहेकी छ र उसकै मनोवृत्तिको अभिव्यञ्जनामा कथाप्रवाहले गति पाएको छ । उसका मनोवाञ्छा, आचरण, विचार र व्यवहार नै यस कथाको प्राणतन्तु हो । अन्य पात्रहरू उसकै सेरोफेरोमा कारणभूत रूपमा आएका छन् ।
शान्ति र मीनाको सङ्क्षिप्त परिचयबाट यस कथाको उठान भएको छ र प्रारम्भमै शान्तिको टाइपराइटिङ्ग सिक्न चाहने इच्छाको कारण खोजिएको छ । कथामा भनिएको छ— “शान्तिले टाइपराइटिङ्ग सिक्न लागेको बखत उसको बिहे भइसकेको थियो । केवल उसले चाहिएजति पैसा खर्च गर्न नपाएर टाइपिङ सिकी । कतै कुनै नोकरी भेट्टाए पचास–साठी रुपियाँ महिनाको आम्दानी हुन सक्थ्यो र यसो कहिलेकाहीँ चाहिएको चिप्लो सारी र हलुङ्गो नीलो रङको साटनको ब्लाउज हाल्न पनि हुन्थ्यो, तथा सिनेमा पनि जान पाइन्थ्यो भनेर ऊ टाइपिङ सिक्न गएकी थिई” (भिक्षु‚ २०१७‚ पृ.१४) । यी भनाइबाट उसको अन्तर्मानसिकता बुझ्न सकिन्छ । ऊ सुख सिद्धान्त (प्लेजर प्रिन्सिपल) बाट परिचालित रहेकी छ र राम्रो लगाउने, आनन्द प्राप्त गर्ने उद्दाम चाहनाले वशीभूत भएकी छ । आनन्द वा सुखको लालसा मान्छेको आदिमकालदेखिको नैसर्गिक प्रवृत्ति हो । शान्तिमा त्यो तीव्र रहेको देखिन्छ । सुख सिद्धान्त अचेतन प्रक्रियासँग सम्बन्धित हुन्छ (वूडवर्थ, १९६५‚ पृ. २६५) । अचेतनका प्रेरणाले उद्दीप्त शान्तिका इच्छा पचास–साठी रुपियाँ मासिक आय भएको लोग्नेबाट पूर्ति हुन सक्तैन । त्यही भएर शान्तिले आफ्नो इच्छापूर्तिको उपाय आफै खोज्छे र टाइपराइटिङ्ग सिक्न जान्छे ।
शान्ति टाइपराइटिङ्ग सिक्न जान सुरु गरेका बेला उसको लोग्नेका मनमा केही चिसो पसेको भए पनि उसले शान्तिलाई रोक्न सक्तैन । त्यसका पछाडि विशिष्ट मनोवैज्ञानिक कारण देखापर्दछन् । पत्नीले टाइपिङ्ग सिकेपछि केही आम्दानी होला, कहिलेकाहीँ आफू पनि पत्नीसँगै नयाँसडक डुलेर किनमेल गर्न अथवा अरूहरूले झैँ सिँगारिएकी, ठाँटिएकी पत्नी लिई सिनेमा जान सकिएला भन्ने रहर संवरण गर्न उसले सक्तैन र पत्नीलाई रोक्न चाहने उसको तात्कालिक पुरुष–उद्वेगले फणा उठाउन पाउँदैन । शान्ति टाइपिङ्ग स्कूल जान थालेपछि ऊ झन् आकर्षक बन्दै गएकी देखिन्छ । उसका लोग्नेका दृष्टिमा ऊ अब दिनहुँ राम्री हुँदै आएकी, सिँगारिइ नै रहने र अझ प्रसन्न, हँसिली, आत्मविश्वस्त तथा केही अंशमा लोभलाग्दी किसिमसित चञ्चला देखापर्न थालेकी र बिहा हुनै आँटेकी अविवाहित युवतीजस्ती हुन गएकी छ । “लोग्नेचाहिँले यो पनि अनुभूति पायो कि कदाचित् ऊ पनि कुनै तरुणी भएकी केटीसित प्रेम गर्न लागेको छ । केटी ऊतिर आकर्षित छ, अलिकति माया गर्न लागेझैँ पनि गर्छे, तर केही अबेला छ अर्थात् उसले एउटा कृत्रिम किसिमले कुनै केटीसित प्रेमको कोर्टशिप गरेझैँ आनन्द पाउन लागेको थियो । यस्तो अनुभूति उसले आफ्नो जीवनमा यसभन्दा अघि कहिल्यै पाएको थिएन” (पृ. १४–१५ । यी प्रसङ्गहरूबाट परम्परागत यान्त्रिक दाम्पत्य सम्बन्ध र आर्थिक दुर्बलताका कारण उनीहरूले राम्ररी दाम्पत्य जीवनको आनन्दभोग गर्न नपाएको स्पष्ट हुन्छ । शान्तिले नीरस गार्हस्थ्य परिधिबाट उन्मुक्ति खोजेकी छ र सामाजिक परिवेशको संसर्ग पाउन थालेपछि उसका कुण्ठित इच्छाहरू सक्रिय हुन थालेका छन् । त्यही भएर उसमा स्पष्ट परिवर्तनको सङ्केत देखापर्दछ । घरमा भन्दा घरबाहिरको संसारमा उसले अचेतनस्तरमै सन्तुष्टि प्राप्त गरेको उसका क्रियाकलाप एवं शारीरिक सौन्दर्यमा आएको परिवर्तनबाट बुझ्न सकिन्छ । उसको कायिक तथा मानसिक परिवर्तनबाट उसको लोग्ने पनि अभिभूत भएको छ ।
टाइपराइटिङ्ग सिकेपछि शान्तिले एउटा सचिवालयको विभागमा जागिर पाउँछे । सुरुका दुई–तीन महिनासम्म कार्यालयीय प्रक्रियाका कारण तलब नपाएकी र बिहान चाँडचाँडै दस बजे खाना खाएर जागिरमा जानुपर्ने हुँदा ऊ घरकी बुहारीभन्दा पनि छोरीबेटी जस्ती हुन पुगेकाले घरमा असन्तुष्टिको वातावरण उत्पन्न भए पनि तीन महिनाको एकमुष्ट तलब एक सय असी रुपियाँ सासूको अगाडि लोग्नेका हातमा राखिदिएपछि घरको नरमाइलोपनको असर तत्कालै विलुप्त हुन्छ । तलब पाएपछि राम्रा सारी ब्लाउज किन्ने र सिनेमा हेर्न जाने शान्तिको इच्छा अनि अरूझैँ आफू पनि पत्नीसँगै नयाँसडक डुलेर किनमेल गर्ने र सिँगारिएकी, ठाँटिएकी पत्नी लिएर सिनेमा हेर्न जाने उसका लोग्नेका इच्छाले एकैसाथ सन्तुष्टि प्राप्त गरेको देखिन्छ । शान्ति तलब पाएको भोलिपल्ट लोग्नेका साथ बजार जान्छे, एउटा सारी र दुई–तीन पीस ब्लाउजको कपडा किन्छे । “पसलेको चालीस–पचास रुपियाँको बिल तिर्न जब बेपर्बाहीसाथ उसको लोग्नेले रुपियाँ झिकी काउन्टरमा फाल्यो, त्यस बखत उसमा पनि एउटा गौरवको अनुभूति भएको कुरा शान्तिले थाहा नपाई रहिन । अझ लोग्नेतर्फबाट ऊ झन् आत्मविश्वस्त भएकी थिई” (पृ. १५) । यसबाट ती दुवैको कुण्ठित अहम्भावले सन्तुष्टि प्राप्त गरेको स्पष्ट हुन्छ । कपडापसलमै लाडे भएर शान्तिले सिनेमा हेर्न जान लोग्नेसँग ढिपी गर्छे र उनीहरूले बाल्कोनीमा पहिलोपटक सँगै बसेर सिनेमा हेर्छन् । शान्तिले आफ्नो चाहनाको परिपूर्तिका लागि जसरी आपूmलाई सक्रिय तुल्याएकी छ र सफलता पनि प्राप्त गरेकी छ, त्यसबाट उसको इच्छाशक्तिको प्रबलता बुझ्न सकिन्छ । नवफ्रायडवादी ओट्टो रेङ्कले इच्छाशक्तिलाई व्यक्तित्वविकासको आधार मानेका छन् र इच्छाशक्तिलाई तीन प्रकारमा वर्गीकरण गरेका छन्— प्रतिकूल इच्छाशक्ति, प्रतिस्पर्धात्मक इच्छाशक्ति र सकारात्मक इच्छाशक्ति (वोल्म्यान, १९९५‚ पृ. ३२०–३२१) । शान्तिमा अरूजस्तै बन्न चाहने प्रतिस्पर्धात्मक इच्छाशक्ति रहेको छ ।
शान्तिले मासिक साठी रुपियाँ तलबमध्ये खाजा खान र आफूखुशी खर्च गर्नका लागि केही रकम राखी चालीस रुपियाँ घरमा बुझाउँछे र त्यही रकमका कारणले घरमा उसको व्यक्तित्वले विशेष स्थान पाएको छ । “यसैले त्यस घरमा शान्तिको अवस्थिति पत्नी र बुहारीको मात्रै नरही चालीस रुपियाँको प्रमुख अनिवार्यताको पनि हुन गएको थियो, र त्यो त्यस घरमा बस्ने एउटी केटी टाइपिस्टले झैँ लगाउनु, घुम्नु, बस्नु, खानु, जानु, आउनु, र कमाउनुको बेग्लै किसिमको व्यक्तित्वमा मान्य तथा निश्चित हुन गएकी थिई” (भिक्षु‚ २०१७‚ पृ. १६) । शान्तिको अहिलेको बेपर्बाहीपन उसको लोग्नेलाई कहिलेकाहीँ अन्तर्हृदयमा बिझ्ने र शान्ति आफ्नी अनुवर्तिनी पत्नीभन्दा कोही अर्कै युवतीजस्तो लाग्ने भए पनि घरव्यवहारका लागि पत्नीप्रदत्त आयको विशेष महत्त्व भएकाले ऊ त्यतातिर त्यति आग्रहशील हुन सक्तैन र उसको मानसिक उद्विग्नता चाँडै नै सेलाउँछ । निश्चय नै उसमा पनि युवकोचित स्वाभाविक इच्छाहरू नभएका होइनन्, तर उसका आय र परिस्थितिले ती पूरा हुन पाएका छैनन् । आफ्नी पत्नीलाई एउटी अर्कै टाइपिस्ट केटीका रूपमा आत्मसात् गरी उसले त्यस अभावको क्षतिपूर्ति गर्दछ र उसका कुण्ठित इच्छाले  सन्तुष्टि प्राप्त गर्दछन् । “विशेषतः आफ्ना अनेकौँ कठिनाइहरूभित्र ऊ एक किसिमको हलुङ्गोपनाको उपलब्धि गथ्र्यो र शान्तिसँग उसको हृदयको आघात–सङ्घात पत्नीजस्तोको प्रतिको नभई एउटी टाइपिस्ट केटीको प्रति भएको जस्तो हुन्थ्यो जसको प्रेमाघातको गाँठो उसलाई फुकाउनु, सुल्झाउनु थियो; र यसरी माथिल्लो मनस्तरमा ऊ उल्लसित नै हुन्थ्यो” (पृ. १६) ।
जागिर खान थालेको केही दिनपछि त्यहीँ नजिकै भएको अर्को विभागमा काम गरिरहेकी टाइपिस्ट मीनासँग शान्तिको मित्रता कायम हुन्छ । दिउँसो दुई–तीन बजेतिर मीना उसलाई चिया खान बोलाउन आउँछे र होटेलको एउटा बेग्लै कोठामा चिया खाँदै उनीहरू अन्तरङ्ग कुरा गर्न थाल्दछन् । “मीना नवयुवती कुमारी र चञ्चला पनि थिई । कुरा ऊ नै सुरु गर्थी । मोजका कुरा भएर दुवै पूर्ण मनोयोगसित आनन्द लिन परस्पर भाग लिन्थे” (पृ. १६) । एकान्तमा मोजका कुरा गरेर आनन्द लिनु अचेतनमा निहित यौनेच्छाको प्रेरणा हो । मीना अविवाहित युवती भएकाले उसका कामेषणाले तृप्तिको अनुभूति गर्नै पाएको छैन भने सुख सिद्धान्तबाट परिचालित शान्तिका इदम्को इच्छाले विभिन्न कठिनाइले जकडिएको लोग्नेबाट सन्तृप्ति पाउन सकेको छैन । त्यसैले उनीहरू आपसमा रतिरागसम्बन्धी कुरा गरेर सन्तुष्टि लिन्छन् । आफ्नै अतृप्त चाहनाको प्रकटीकरण गरे पनि वस्तुतः मीना शान्तिको यौन बुभुक्षालाई उद्दीप्त पार्ने प्रेरकका रूपमा देखापर्दछे । उसले शान्तिका अन्तरवृत्तिहरूलाई जागृत तुल्याउने काम गरेकी छ (भण्डारी, २०५२‚ पृ. २१९) । “लौ, कल्पना गर कि तिम्रो बिहा भएको छैन । केटाकेटी भएकै छैनन्, लोग्ने एकातिर छँदैछ, केको बिहा, होइन ? आफैँ कमाउने आफैँ खाने, हगि ! अँ, अब भन कि कसैले तिमीलाई माया गर्न थालेको छ, अझ त्यो धनी पनि छ, उसले तिमीलाई सिनेमा जान निम्त्यायो भने तिमी के गछ्र्यौ ? भन त ...!” (भिक्षु‚ २०१७‚ पृ. १६–१७) भन्दै उसले शान्तिका आन्तरिक इच्छालाई झकझकाइरहन्छे, शान्तिले जान्नँ भन्दिन्छु भन्दा तिमी नगए उसले दुःख मान्छ, ऊ बोल्नै छाडिदिन्छ, कतै भेट भए निन्याउरो मुख लगाएर चुपचाप यसो तिमीतिर हेरी मुख फर्काएर जान्छ अनि तिमीलाई दुःख लाग्दैन ? भन्छे । शान्तिले आपूmलाई केही दुःख नलाग्ने बताएपछि उसले दुःख नलागी छोड्छ र ? तिमी उसकी प्रेमिका, यतिका दिनसम्मन् उसलाई हेर्न, ऊसित कुरा गर्न पाए मनमा कस्तोकस्तो सुख लाग्ने, हेर्न नपाए मुटु नै दुखेजस्तो हुने, केके हराएको, के गुमाएको जस्तो भइरहने हुन्छ, अनि ऊ निन्याउरो मुख लगाएर, तिमीलाई मुटु नै नराख्ने केटी भन्ठानी भित्रभित्रै रोयो, चुपचाप कल्प्यो भने कस्तो हुन्छ त ? भन्दछे । उसका यी कुरा सुनेर शान्तिलाई कस्तोकस्तो लाग्छ र एकछिन ऊ चुप लागेर सम्झन्छे— “साँच्चीकै यस्तो भए उसलाई सहिनसक्नु हुन्छ कि ? तर यस्तो त अझसम्म कहिल्यै भएको छैन ! हुन्छ होला त ?” (पृ. १७) । यस भनाइबाट उसले अझसम्म प्रेमानुभूति प्राप्त गर्न नसकेको स्पष्ट हुन्छ । त्यही भएर मीनाले उसलाई आइमाई भएर पनि माया गर्नु र माया गरिन पनि कहिल्यै नपाएकी भनेर टिप्पणी गर्छे । घरमा लोग्ने छँदाछँदै शान्तिले अतृप्तिबोध गर्नुको कारण यी प्रसङ्गहरूबाट बुझ्न सकिन्छ । “यस्तै कुरा तिनीहरूमा चल्दथे र अफिसमा टाइपिङ टेबुलमा बसी, काम भए गर्दै नभए त्यसै ती दुवै भर्खरै भएका कुराहरू मनमनै अनेकौँ रूपमा लम्ब्याउन थाल्दथे र आफ्ना काल्पनिक सुखदुःखमा रमाउन लाग्थे” (पृ. १८) । यथार्थमा प्राप्त गर्न नसकिएको कुरा कल्पनाका माध्यमद्वारा पूर्ति गर्ने यो एक प्रकारको मनोरचना हो (भण्डारी, २०५६‚ पृ. ९३) । यसलाई कल्पनातरङ्ग वा स्वैरकल्पना भनिन्छ । स्वैरकल्पनाको प्रेरक शक्ति अतृप्त इच्छा हो र हरेक स्वैरकल्पना इच्छाको परिपूर्ति नै हो (फ्रायड, १९८९‚ पृ. ३८) ।
शान्ति र मीनाको व्यक्तित्व परस्पर भिन्न प्रकारको देखिन्छ । शान्तिमा नारीपन र मीनामा पुरुषपनको प्रबलता रहेको छ । उनीहरूबीचको घनिष्ठताका कारण त्यो पनि हो । एक दिन शान्ति र मीना चियापसलको कोठामा चिया खाइरहेका बेला एउटा युवक त्यहीँ बस्न आउँछ र कोठामा दुईजना केटी मात्र देखेर तुरुन्तै फर्किहाल्छ । शान्ति र मीना त्यस युवकले सुन्ने गरी अट्टहास गरेर हाँस्छन् । युवक ती केटीहरूलाई देख्ने गरी तिनीहरूको नजिकै अर्को कोठामा गएर बस्छ र चुपचाप चिया खान थाल्दछ । युवकले नसुन्ने गरी शान्तिले यसरी हाँसेको त्यसले के भन्ठान्यो होला भनेर पीर गर्छे भने मीनाले सहज ढङ्गमा हामीभन्दा तल्लो खालको व्यक्तित्व ठान्यो होला भन्छे । त्यसो भने तापनि ऊ हीनताभावले ग्रस्त छैन । उसले नारी आगो हो, त्यही भएर त्यो युवक त्यहाँ बस्नै सकेन भन्दछे, नारीलाई लोग्नेमानिसले कहिल्यै हेप्न नसक्ने र पुरुषभन्दा माथिल्लो तहको ठान्दछे । बिहे भएपछि लोग्नेको अधीनमा रहनुपर्छ भन्ने शान्तिका कुरा उसलाई मान्य छैन । आफ्नो रवाफमा रहे लोग्नेलाई पनि मान गर्न कर लाग्छ भन्ने उसको धारणा छ । हामी त्यसरी हाँसेको त्यस युवकले अब सम्झिरहन्छ, हामीलाई सम्झँदै हामीमध्ये को राम्री भनेर तुलना गर्न थाल्छ भन्दै बिहा भइसके पनि राम्री तैँ छेस्, उसले तँलाई माया गर्न लाग्यो भने के गर्छेस् भनेर मीनाले प्रश्न गरिरहन्छे । उसका कुराले शान्तिका अन्तरमा रहेको अतृप्त इच्छा जागृत हुन्छ । “कुन्नि किन हो, शान्तिले त्यस दिन लगातार यस प्रश्नबाट फुर्सतै पाइन कि उसलाई कसैले कहिल्यै माया गरेको छ र ? यस सिलसिलाको मानसिक कल्पनामा कैयौँ पटक उसको लोग्ने पनि उभियो, तर त्यहाँ लोग्नेबाहेक अरू केही पनि पाइएन । बरु त्यसकै छेउमा आजै चिया खान आएको त्यो युवक पनि उभिदिन्थ्यो” (भिक्षु‚ २०१७‚ पृ.२०) । त्यस युवकले आपूmलाई माया गर्छ होला त ? भन्ने प्रश्न उसका मनमा उब्जिरहन्छ र ऊ आफै लजाउँछे । उसले सकेसम्म त्यस युवकलाई भुल्ने प्रयास गर्छे तर त्यो उसको स्मृतिमा चियाउन आइरहन्छ । “उसलाई सोच्नु नपर्ने कुरा किन आयो ? फेरि सोच्न नखोज्दा झन् त्यो सम्झिन जान्छ, यही त होइन माया ?’ उसले फेरि बल लगाएर बिर्सन खोजी । क्रम भरदिन चली नै रह्यो” (पृ. २०) । यी भनाइहरूबाट उसको मानसिक उद्वेलन बुझ्न सकिन्छ ।
पहिलो भेटमै शान्ति त्यस युवकप्रति अत्यन्त आकर्षित भएकी छ । भोलिपल्ट शान्तिलाई दुई बज्न अबेला भइरहेजस्तो अनुभव हुन्छ र दुई बज्नेबित्तिकै शान्ति पहिलोपटक आफै मीनालाई बोलाउन जान्छे । चियापसलमा पुगेपछि बाहिरको टेबुलमा नजर घुमाउँछे, चिया ल्याउन ढिलो नभए पनि छिटो ल्याउन भन्नका लागि बाहिर जान्छे र फर्कंदा एक पटक कोठाभरि नजर घुमाउँछे, तर युवकलाई पाउँदिन । उसको मनोभाव मीनाले राम्ररी नै बुझेकी छ र उसलाई हेर्न आत्तुरी परेको भनेर जिस्क्याउँछे, ऊ पक्कै आउँछ भनेर सान्त्वना पनि दिन्छे । नभन्दै एकछिनपछि युवक आउँछ र चिया मगाई उनीहरूलाई नहेरझैँ गरेर हेर्न थाल्दछ । शान्ति र मीनाले चाल नपाएजस्तो गरेर अप्रत्यक्ष रूपमा उसलाई हेर्ने अवसर प्रदान गरिरहन्छन् । धेरै दिनसम्म यो क्रम लगातार चलिरहन्छ । शान्ति त्यस युवकप्रति आसक्त हुन थालेकीले उसको व्यवहारमा पनि परिवर्तन देखापर्दछ । यो कुरा “शान्तिको लोग्ने, कुन्नि के पाएर हो, अब शान्तिसित धेरैबेर कुरा गर्न खोज्दथ्यो । ऊ कुरा गर्न पनि गर्थी, बस्न पनि बस्थी, सधैँको झैँ दुवै एउटै कोठामा सुत्न पनि सुत्थे, तर उसको लोग्नेलाई अज्ञातमा नै के लाग्न थाल्यो भने यता केही दिनदेखि उसकी स्वास्नी पहिलेकी झैँ चञ्चला, केटीजस्ती रहन गइन” (पृ. २१–२२) भन्ने भनाइबाट पनि थाहा पाउन सकिन्छ । उनीहरूको दाम्पत्य जीवनमा पहिलेको झैँ उही एकनासे विरसता आउन थाल्दछ । शान्तिमा एकप्रकारको गम्भीरता देखिन थालेको छ र मीनासँग पनि पहिलेको जस्तो धेरै कुरा हुँदैन । युवकले सधैँ त्यसरी हेर्ने गरेकोमा मीना रोष प्रकट गर्दा शान्तिले तँलाई बिहा गर्न खोजेको होला भनेर जिस्क्याउँछे । मीना भने आपूmलाई शान्तिले नराम्री ठानी, प्रतिस्पर्धामा हारेको ठानी भन्ने लागेर रिसले भुतुक्क हुन्छे र त्यही झोँकमा “तैँ बढी राम्री, पोइ छोडेर ऊसितै गए त भइहाल्छ नि ! किन जान्नस् त ?” (पृ. २३) भन्दछे । उसका कुराले शान्तिले व्यक्त गर्न नसकेको, दरो मन गरेर निर्णय गर्न नसकेको कुराले अभिव्यक्ति पाएको छ । त्यस दिन उसको लोग्नेलाई शान्ति कतै टाढा गएकी जस्ती, नरुचाएकी जस्ती, निर्जीव, थकित, शिथिल, निःसत्व निस्सारझैँ लाग्दछ । वास्तवमा शान्ति युवकको प्रेममा एकोहोरिएकी छ । मीनाको त्यही भनाइ उसको स्मृतिमा गुन्जिरहन्छ ।
शान्तिको ऊहापोह र विकलताको अवस्था धेरै दिन रहँदैन । सधैँ झैँ चियापसलमा चिया खाइरहेको बेला युवकलाई खोज्दै उसकी पत्नी आइपुग्छे । उसको आगमनले कथाको घटनाले नौलो मोड लिन्छ । त्यो देखेर मीनालाई हाँसो उठ्छ, शान्ति भने स्तम्भित हुन्छे । युवकले शान्ति र मीनातिर थाहा नहुने गरी नजर लगाउँछ र उसकी पत्नीको आँखा पनि त्यतातिर पर्दछन् । अज्ञात रूपमा नै मीनाको ओठबाट फुस्कनै लागेको हाँसो देखेर युवककी पत्नीलाई आपूmलाई गिज्याएको झैँ लाग्छ । उसले रिसाउँदै आफ्नो पतिसँग ती युवतीहरूका बारेमा सोध्न थाल्छे । त्यसले उनीहरूको मानसिकतामा अनौठो परिस्थितिको सिर्जना गरिदिन्छ । मीना चपलतापूर्वक प्रसन्न हुन थाल्छे, शान्ति आहत हुन्छे, युवक हतबुद्धि भई उकुसमुकुस हुन थाल्छ र युवककी पत्नी अपमानित भएकी र गिज्याएजस्तो अनुभव गर्न थाल्छ । मीना त्यसरी प्रसन्न हुनुबाट शान्तिप्रति उसको प्रतिस्पर्धी भाव झल्किन्छ र परपीडनको लक्षण पनि परिलक्षित हुन्छ । शान्ति आहत हुनुबाट उसमा युवकप्रति प्रबल प्रणयासक्ति रहेको बुझिन्छ । युवक तत्कालीन परिस्थितिमा पत्नी र युवतीहरू दुवैथरीलाई गुमाउन नचाहने र ती दुवैथरीलाई एकैसाथ प्राप्त गर्न पनि नसकिने हुँदा अन्तद्र्वन्द्वमा फसेको छ । युवककी पत्नी ईष्र्या र हीनताबोधले आक्रान्त हुनपुगेकी छ । युवतीहरूप्रति त्यस युवकको आसक्ति भए पनि पत्नीको क्षोभ हटाउन उसले “छिः चुप लाग न ! यी टाइपिस्ट पो त ... । यिनीहरूको खाल नै यस्तै हुन्छ ...।” (पृ. २५) भन्छ । त्यस भनाइले सबैमा क्लेश उत्पन्न गराउँछ र शान्तिका मानसिकतामा बज्रपात नै पर्छ । दिनभरि उसका मानसपटलमा युवकका त्यही कुरा नै आइरहन्छ । “राती सुत्ने बेलामा शान्तिको पतिले आपूmलाई जब आपूmलाई एकाएक एउटा बिलकुलै नयाँ किसिमको आवेग, उद्वेगपूरित आलिङ्गनको दृढप्रगाढतामा पायो, उसले बुझ्नै सकेन कि सधैँ उछिट्टिई नै जस्ती रहने उसकी टाइपिस्टलाई, उसकी चञ्चलालाई, आज के हुन गएछ ? ऊ सम्झने चेष्टा नै गरिरहेको थियो कि अँध्यारोमा उसले ऊसितै टाँसिएकी पत्नीको, अचानक कुन्नि कुन मूलबाट फुटेर आएको, अबाध, लगातारको सुँक्कसुँक्क सुन्यो; पत्नीको मुख उठाउने चेष्टा गर्दा तातो आँसुले उसको हातै भिज्यो” (पृ. २५–२६) । युवकको कटु वचनले शान्तिको कोमल भावनामा आघात परेको छ, त्यसप्रति मोहभङ्ग भएको छ र उसको अन्तव्र्यथा आँसु बनेर पतिसामु पोखिएको छ ।
निष्कर्षतः प्रस्तुत कथा मनोविश्लेषणामक सिद्धान्तका आधारमा पात्रका अन्तर्बाह्य पक्षको उद्‌घाटनमा सफल रहेको छ । नैसर्गिक इच्छा र परिस्थितिको द्वन्द्वमा पिल्सिएका पात्रहरूलाई उभ्याई तिनको मनोवृत्तिलाई अत्यन्त सूक्ष्म ढङ्गले देखाउनु यस कथाको उल्लेखनीय पक्ष हो । अनियन्त्रित मनोवाञ्छाको अधीनमा परेर अनैतिक र अमर्यादित दिशातिर लम्केकी पात्रलाई विशेष परिस्थितिको सिर्जना गरी नैतिक आदर्शको मार्गतर्फ फर्काइएको देखिए पनि त्यसमा मनोवैज्ञानिक आधार लिइएको छ । मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले यो एउटा उत्कृष्ट रचना हो र मनोवैज्ञानिक कथापरम्परामा यसलाई एउटा महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ                                                                                                                                                      
सन्दर्भसामग्री
त्रिपाठी, वासुदेव (२०२८). विचरण. भानु प्रकाशन ।  
भण्डारी, कृष्णप्रसाद (२०५६). फ्रायड र मनोविश्लेषण. साझा प्रकाशन ।
भण्डारी, गोपालप्रसाद (२०५२). भवानी भिक्षुका कथामा मनोविज्ञान (अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध). त्रिभुवन विश्वविद्यालय ।
भिक्षु, भवानी (२०१७). मैयाँसाहेब. नेपाल एकेडेमी ।             
Freud, S. (1989) Creative writers and day-dreaming.  Twentieth century literary criticism, a reader (David Lodge, Ed.; 13thh ed.).  Longman Group UK Limited.
Wolman, B. B. (1995).  Contemporary theories and systems in psychology (2nd ed.). Freeman Book Company.
Woodworth, R. S. (1965). Contemporary schools of psychology. Methuen 7 Co. Ltd.
        



                                                  





Wednesday, April 15, 2020

४. मनोविश्लेषणात्मक पात्रविश्लेषणको स्वरूप : सन्दर्भमा “लछमनियाको गौना” कथा


मनोविश्लेषणात्मक पात्रविश्लेषणको स्वरूप :
सन्दर्भमा “लछमनियाको गौना” कथा
– डा. दुर्गाबहादुर घर्ती

कथा आख्यान विधाको एउटा उपविधा भएकाले यसमा आख्यान वा कथातत्त्व हुन्छ । आख्यान घटनाहरूको शृङ्खला हो । कथाको घटना क्रियात्मक रूप हो र त्यो कुनै व्यक्तिको क्रियाकलापबाट घटित हुन्छ । आख्यानको घटना सञ्चालित गर्ने व्यक्तिलाई पात्र वा चरित्र भनिन्छ । पात्र व्यक्तिको अनुकृति भएकाले आख्यानका पात्र कति प्रकारका हुन्छन् भन्नु र व्यक्ति कति प्रकारका हुन्छन् भन्नु उस्तै कुरा हो । हरेक मान्छेका आआफ्नै किसिमका इच्छा, आकाङ्क्षा, सङ्कट, अभिरुचि, स्वभाव, आचरण एवं विचार हुन्छन् । त्यसैले व्यक्तिलाई निश्चित ढङ्गमा परिभाषित र विभाजन गर्न कठिन छ । सापेक्षता, सन्दर्भ, विश्वदृष्टि आदि विविध आधारमा एउटै व्यक्ति भिन्न भिन्न कोटिमा विभाजित हुन सक्छ भने कुनै मापदण्ड विशेषका आधारमा धेरै व्यक्तिहरूलाई एउटै कोटिअन्तर्गत राखेर पनि हेर्न सकिन्छ । मानवीय व्यक्तित्वको अध्ययनका दृष्टिले मनोविश्लेषणलाई पनि एउटा प्रमुख आधार मान्न सकिन्छ । सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित एवं उत्तरवर्ती मनोविश्लेषकहरूद्वारा परिमार्जित, परिवर्धित एवं संशोधित यस सिद्धान्तका मानवीय व्यक्तित्वसम्बन्धी स्पष्ट आधारहरू छन् । व्यक्तित्व विकासको पूर्व इतिहास, व्यक्तित्वमा प्रभाव पार्ने अन्तर्बाह्य कारण, व्यक्तिका आचरण र व्यवहार, उसका सामाजिक, कायिक एवं मानसिक स्थिति आदि यस सिद्धान्तका व्यक्तित्व अध्ययनका प्रमुख आधार हुन् । यस आधारमा व्यक्तिलाई मूलतः सामान्य र असामान्य गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । व्यक्तिको सामान्यता र असामान्यता व्यक्तिको व्यवहार, प्रकृति, समायोजन, अभिवृत्ति, व्यक्तित्व, संवेगात्मक परिपक्वता, मानसिक अन्तर्द्बन्द्ब र मानसिक अवस्थाका आधारमा निर्धारण गर्न सकिन्छ । यीमध्ये कुनै एक वा एकभन्दा बढी अभिलक्षणहरू व्यक्तित्व निर्धारणका कारक हुन सक्छन् । यिनै आधारमा यस लेखमा सनत रेग्मीको “लछमनियाको गौना” (२०५१) कथासङ्ग्रहको लछमनियाको गौना कथाको पात्रविश्लेषण गरिएको छ ।
प्रस्तुत कथासङ्ग्रहमा एक दर्जन कथाहरू समेटिएका छन् र “लछमनियाको गौना” यस सङ्ग्रहको पहिलो कथा हो । यस सङ्ग्रहभित्रका एक एक आञ्चलिक कथाहरूले पश्चिम तराईको एक एक जीवनको यथार्थ उद्घाटित गरेका छन् । यी कथाहरूले पाठकलाई नेपालगन्जका बजार, चोक र गल्लीहरू हुँदै रापती नदीको सेरोफेरोमा पर्ने तराईका गाउँ–बस्तीहरूमा पुर्‍याउँछन् र त्यहीँका जनजीवन, बोलीचाली, वेशभूषा, चालचलन र रीतिस्थिति अनि परिवेशलाई सजीव रूपमा परिचित गराउँछन् । कथाहरू सतही, स्थूल र बाह्य चित्रणमा भन्दा गहन, सूक्ष्म र आन्तरिक यथार्थको उद्घाटनतर्फ केन्द्रित छन् । यस सङ्ग्र्र्रहभित्रका कतिपय कथाहरू मान्छेका अन्तर्तहमा रहने गूढतम रहस्यलाई उजागार गर्न सफल छन् । यस दृष्टिले “लछमनियाको गौना” कथा उल्लेखनीय छ ।
प्रस्तुत कथामा लछमनिया, लछमनियाकी आमा, चन्दा भौजी, पण्डिताइन चाची, रतनी, सुगवा, सुरसतिया, बडघर बहू, नारीपात्रका रूपमा र लछमनियाको बाबु बुद्धू तेली, गङ्गापुरवाला युवक, रामपुरवाला युवक, राजवल्लभ पाँडे, प्रधान पुरुषपात्रका रूपमा देखापर्दछन् । यी विभिन्न पात्रहरूमध्ये लछमनियको सर्वाधिक महत्त्वपूर्ण भूमिका रहेको छ । वास्तवमा यो लछमनिया नामकी एउटी नारी पात्रको कथा हो । लछमनिया यस कथामा केन्द्रीय धुरी भएर आएकी छ र उसकै मियोमा सिङ्गो कथा घुमेको छ । मनोविश्लेषणात्मक अध्ययनका दृष्टिले लछमनिया उल्लेखनीय रहेकी छ । लछमनियाको चित्तवृत्ति फ्रायडका सिद्धान्तको सत्यापन हो पनि (बराल‚ ईश्वर ३६५) । छोरीको बिहे गरिदिए पनि छोरीको पतिलाई घरजुवाइँ बनाएर आफ्नै घरमा राखी छोरीलाई आफूसँगै राख्न चाहने बुद्धू तेलीको इच्छालाई पितृरति ग्रन्थिका आधारमा हेर्न सकिन्छ, तर मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले लछमनिया नै महत्त्वपूर्ण देखापर्दछे । त्यसैले प्रस्तुत लेख लछमनियाको मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ ।
१. व्यवहारका आधारमा
व्यवहारका आधारमा पात्रलाई सुसङ्गत र असङ्गत गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । असामान्य पात्रका व्यवहार असङ्गत प्रकारको हुन्छ । उसको व्यवहार परिस्थितिअनुकूल नहुनुका साथै वास्तविकतामा आधारित हुँदैन । सामान्य पात्रको व्यवहार सुसङ्गत प्रकारको हुन्छ । उसको व्यवहार सामाजिक वातावरण, समय र परिस्थितिअनुकूल हुन्छ ।
लछमनियाको व्यवहार अनौठो र विलक्षण प्रकारको देखिन्छ । लछमनिया चार पाँच वर्षकी हुँदा सीमापारीको गङ्गापुरवालासँग विवाह भएको थियो । बुद्धू तेलीका लछमनिया बाहेक अरू सन्तान नभएको र उसकी पत्नी पनि अन्धी भएकाले उसले लछमनियालाई गौना गरेर पठाउन चाहेको छैन । बरु गङ्गापुरवालालाई आफ्नो सम्पत्ति दिएर घरजुवाइँ राख्न चाहेको छ, तर गङ्गापुरवाला पढेलेखेको र आफ्नो इलाकाको हुनेखाने भएकाले घरजुवाइँ बस्न मानिरहेको छैन । लछमनियाको बाबु गौना दिन नमान्ने र गङ्गापुरवाला घरजुवाइँ बस्न नमान्ने परिस्थितिका कारण लछमनियाको भविष्य अनिश्चित भएको छ । अझ गङ्गापुरवालाले गौना दिँदैनन् भने अर्को बिहे गर्छु भनेर धम्की दिएको छ । लछमनिया जवान भइसके पनि गौनाको अनिश्चितताले गर्दा ऊ चिन्ताग्रस्त हुन पुगेकी छ । त्यसै कारणले गर्दा उसका व्यवहारमा विचलन देखापर्दछ ।
चैत मासको बिहानीपख लछमनिया निद्राबाट बिउँझिएको घटनाबाट प्रस्तुत कथाको आरम्भ भएको छ । उसले सपनामा खेतमा घाँस काट्न जाँदा गङ्गापुरवालासँग भेट भएको, ऊ चन्दा भौजीले वर्णन गरेजस्तै रूपको भएको र बुद्धू तेलीको घर सोध्दै आएको, लछमनियाले बुद्धू तेलीको घर देखाइदिएकी, बुद्धू तेलीले उसलाई घरजुवाइँ बस्न कर गरिरहेको र उसले गौना दिन कर गरिरहेको, लछमनिया उनीहरूको कुरा सुन्नमा भन्दा पनि गङ्गापुरवाला युवकलाई लुकेर हेर्दै उसको सौन्दर्यपान गरिरहेको बेलामा आमाको कचकचले उसको निद्रा खुल्दछ । बिउँझिँदा उसलाई नरमाइलो लाग्दछ । बिहानीपखको सपना साँचो हुन्छ भन्छन्, उसले देखेको सपना साँचो होला कि नहोला, साँचो भइदिए कति मजा हुन्थ्यो भन्ने एकोहोरो सोचाइमा ऊ डुब्दछे । सोच्दासोच्दै ऊ कल्पनामा हराउन पुग्छे । गङ्गापुरवालाको कल्पनामा मस्त भएर हिँडिरहेकी लछमनिया गाउँभित्र पस्नासाथ पण्डिताइन चाचीसँग ठोक्किन पुग्दछे । उसको ठक्करले पण्डिताइन चाची सडकमा पछारिन्छे र उसको हातको पानी पण्डिताइनको शरीरभरि पोखिन्छ ।
लछमनियाले अनौठा अनौठा सपना देख्छे । “लछमनिया रातभरि सपना देख्छे र दिनभरि त्यही सपना सम्झेर रुने–हाँस्ने गर्छे” (रेग्मी ७) । लछमनिया मध्यरातसम्म निदाउन सक्तिन । मन अशान्त भएपछि मान्छे शान्तसँग निदाउन सक्ने कुरै भएन । त्यसैले रात कहिल्यै नसिद्धिनेजस्तो लामो र कष्टकर लाग्ने हुन्छ । कोइलीको कुँजनले उसको व्यथालाई झन् उद्दीप्त गरिदिन्छ । ऊ रात काट्न गीत गुनगुनाउन थाल्छे– “हरे रामा, पन्छी देई दे मोर गवनवा रे हरि” (८) । मध्यरातको नीरवतामा स्वतः निस्केको यस गीतमा उसको विरहव्यथा अभिव्यक्त भएको छ । त्यो मर्मलाई बुद्धू तेलीले पनि बुझेको छ र गौना दिएर पठाइदिने निर्णयमा पुगेको छ, तर बाबुको त्यो विचारलाई लछमनियाले बुझ्न सकेकी छैन । बिहानको सपना साँचो हुन्छ भन्ने धारणाले आशावादी भएकी लछमनिया घाँस खुर्कन दक्षिणतर्फको सिवान नजिकैको अढरीबारीमा जान्छे । गङ्गापुरवाला त्यही बाटो भएर आउँछ कि भन्ने आशामा दक्षिणतर्फबाट गाउँ पस्ने बाटामा बारम्बार हेरिरहन्छे । एक छैँटी घाँस खुर्किसक्दा पनि गङ्गापुरवाला नआएको हुनाले उसको आशा सेलाउँछ र आफ्ना इच्छा खोलेर, सम्झाएर चन्दा भौजीसँग चिठी पठाउने विचार गर्छे । घर फर्कने तरखरमा लागेका बेला उसले सपनामा देखिने गङ्गापुरवालाजस्तै युवकलाई गाउँतिरबाट साइकलमा आइरहेको देख्छे र  अधीर भएर त्यसलाई आफै बोलाउँछे । उसले त्यस युवकलाई आफ्ना सारा कुरा सुनाउँछे । उसको सम्पूर्ण परिस्थिति बुझिसकेपछि ख्यालख्यालमै लछमनियालाई पनि पाउन सकिने र लछमनियाको बाबुको सम्पत्ति पनि हात पार्न सकिने देखेर त्यो युवक झुटो बोलेर लछमनियालाई विश्वस्त पार्दै जान्छ र अन्ततः लछमनिया सारा कुरा भुलेर रामपुरवाला युवकको पछि लाग्दछे । उसको त्यसरी गौना हुन्छ ।
यसप्रकार लछमनियाको व्यवहार असङ्गत प्रकारको देखिन्छ । उसका क्रियाकलाप वास्तविक कुरामा भन्दा भावुकता र अवास्तविक कुरामा आधारित छन् । ऊ सामाजिक वातावरण, समय र परिस्थिति अनुरूप चल्न सकेकी छैन । यस आधारमा ऊ असामान्य पात्रका रूपमा देखापर्दछे ।
२. प्रकृतिका आधारमा
प्रकृति वा स्वभावका आधारमा पात्र सहज र जटिल प्रकारको हुन्छ । सामान्य पात्रको प्रकृति वा स्वभाव प्रासङ्गिक, नियमित, सन्तुलित हुने भएकाले सहज किसिमको हुन्छ । असामान्य पात्र चिन्तन, भाव र क्रियामा प्रासङ्गिकता, नियमितता, एकरूपता, स्थिरता, सङ्गति, सन्तुलन र समन्वय नहुने भएकाले जटिल प्रकारको हुन्छ ।
प्रस्तुत कथामा लछमनियाको चिन्तन, भाव, विचार र क्रियाकलाप सुसङ्गत प्रकारको छैन । उसले जुन किसिमको चिन्ता गरेकी छ, त्यो वास्तविकतामा आधारित छैन । उसले परिस्थितिलाई मनोगत रूपमा लिएकी छ । उसको बाबुले गौना नदिने र गङ्गापुरवालाले अर्को बिहे गर्ने निर्णय गरिसकेका छैनन् । बरु उसका बाबुले गौना दिने निर्णय गरेको र गङ्गापुरवालाले गौना दिन भनेको छ । लछमनिया आफ्नै धारणाको अधीन भएर उद्वीग्न भएकी छ । ऊ अनौठा अनौठा प्रकारको सपना देख्छे, सपनाको कुरा सम्झेर एक्लै रुने र हाँस्ने गर्छे, आफूसँग सानैमा बिहे भएको तर धेरै वर्षसम्म भेट हुन नसकेको पुरुषको सम्झनाले विचित्र किसिमको अनुभूति गर्छे, बाटोमा हिँडेका मान्छेसँग नराम्ररी ठोक्किन पुग्छे, मध्यरातसम्म ननिदाएर विरहका भाका अलाप्छे, चिन्दै नचिनेको मान्छेसँग आफै भ्रममा परेर पोइल जान्छे । उसका यस्ता असङ्गत र विलक्षण किसिमका क्रियाकलापले गर्दा ऊ जटिल प्रकारको देखापर्दछे ।   
३. समायोजनका आधारमा
समायोजनका आधारमा पात्र समायोजित र असमायोजित हुन्छ । सामान्य पात्र सामाजिक वातावरण एवं आन्तरिक आवश्यकताहरूसँग अनुकूल सामञ्जस्य गर्न सक्ने भएकाले ऊ समायोजित हुन्छ भने असामान्य पात्रले त्यसप्रकारले अनुकूल हुन नसक्ने भएकाले ऊ असमायोजित हुन्छ ।
लछमनियाको गौना कथामा लछमनियाले सामाजिक वातावरण एवं आन्तरिक आवश्यकताहरूसँग अनुकूल सामञ्जस्य कायम गर्न सकेको देखिँदैन । उसले आफूले भोग्नुपरेको परिस्थितिको आकलन पनि राम्ररी गर्न सकेकी छैन । उसको गौनाका बारेमा उसका बाबु र गङ्गापुरवालाको वास्तविक विचार के छ भन्ने कुराको उसले बुझ्ने प्रयास नै गरेकी छैन । गङ्गापुरवालासँग गौना हुन सकेन भने भविष्यमा के गर्ने भन्ने बारेमा उसले सोच्नै सकेकी छैन । ऊ त दुःखद परिस्थितिको सम्भावनाबाट त्यसै अत्तालिएकी छ र मनोगत रूपमा नै निर्णय गरेकी छ । त्यसैगरी उसले आफ्नो आन्तरिक आवश्यकतासँग पनि अनुकूल समायोजन गर्न नसकेको देखिन्छ । ऊ रातदिन मनोगत कुरामा चिन्तनरत रहन्छे । उसले गौना र आन्तरिक इच्छाका बारेमा बाहेक अरू कुरातर्फ ध्यान दिनै सकेकी छैन । उदात्तीकरण, विस्थापन, क्षतिपूर्ति आदि विभिन्न प्रकारका मनोरचनाहरूद्वारा अचेतनका इच्छाहरूको निरावेशन वा निराकरण हुन सक्छ, तर लछमनियामा त्यसो हुन सकेको छैन । त्यसैले ऊ असामान्य बन्न पुगेकी छ ।  
४. अभिवृत्तिका आधारमा
अभिवृत्तिका आधारमा पात्र बहिर्मुखी र अन्तर्मुखी हुन्छ । सामान्य पात्र समाज र बाह्य वातावरणलाई बढी महत्त्व दिने र सामाजिक हित, नैतिकता, मर्यादा, अनुशासनतर्फ लाग्ने भएकाले ऊ बहिर्मुखी प्रकारको हुन्छ । आफैलाई बढी महत्त्व दिएर आफ्नै बारेमा मात्र चिन्तनरत रहने अन्तर्मुखी पात्र असामान्य पात्र हो ।
प्रस्तुत कथाकी लछमनिया अन्तर्मुखी प्रकारकी देखापर्दछे । उसले बाह्य परिस्थितिलाई आफ्नै ढङ्गमा लिएकी छ । सामाजिक मर्यादा, प्रचलित नैतिकता र पारिवारिक परिस्थितिका बारेमा उसले सोच्नै सकेकी छैन । उसले केवल आफूलाई महत्त्व दिएकी छ र आफ्नै सुखका बारेमा चिन्तित रहेकी छ । उसका घरमा उसकी आमा आँखा नदेख्ने अन्धी छ, भाइबहिनी कोही पनि छैनन्, बाबुको सहारा अरू कोही पनि छैनन् भन्ने कुरातर्फ उसको ध्यान गएको छैन । ऊ आफ्नो सुखका निम्ति मात्र छटपटिएकी छ । उसलाई अरूको पर्वाह छैन । त्यही भएर उसले “बाबा गौना दिन नमान्ने, ऊचाहिँ यहाँ घरजुवाइँ बस्न नमान्ने । सम्धी–सम्धीका झगडामा मेरो जवानी त्यसै खेर गइरहेछ । हे वागीश्वरी मइया, बाबाको मति फिराइदेऊ । तिम्रा मन्दिरमा प्रसाद चढाउँला, कथा गरौँला” (६) भनेर मनमनै गुन्दछे । उसको विरहका भाका सुनेर उसकी आमाको हृदय पनि आद्र्र हुन्छ र उसले लछमनियालाई भनेकी छ– “हँ रे, लछमनिया, तेरा बाबा बडो निठुर छन्, तेरो गौना गरिदिन्नन् । के गर्ने, तेरो व्याह पनि त उता अङ्ग्रेजी भयो । यहाँको कानून उनीहरूलाई नलाग्ने, उनीहरू यहाँ आउन नमान्ने” (६) । लछमनियाले आफ्नो व्यथा आफ्नी आमालाई पनि भन्दिन । त्यसो त उसले आफ्ना सँगिनीहरू पनि आफ्ना कुरा भन्दिन । आफ्ना कुरा कसैसँग व्यक्त नगर्ने र आफ्नै भाव, विचार र चिन्तनमा निमग्न रहने लछमनिया अन्तर्मुखी पात्र हो ।
५. व्यक्तित्वका आधारमा
व्यक्तित्वका आधारमा पात्र सन्तुलित र असन्तुलित हुन्छ । असामान्य पात्रमा ज्ञानात्मक, क्रियात्मक एवं भावात्मक पक्षहरूमा कुनै सन्तुलत पाइँदैन । इदम्, अहम् र पराहम्‌बिच, हीनता ग्रन्थि र उच्चता ग्रन्थिबिच, नारीपन र पुरुषपनबिच, बहिर्मुखी र अन्तर्मुखी अभिवृत्तिबिच सन्तुलन नहुने भएकाले असामान्य पात्र असन्तुलित हुन्छ । सामान्य पात्रको व्यक्तित्व सन्तुलित हुन्छ ।
लछमनियाको व्यक्तित्व सन्तुलित देखापर्दैन । ऊ मूलतः अचेतनका इच्छाद्वारा परिचालित छे । बिहानैदेखि दिनभरिजसो काम गर्नुबाहेक उसको कुनै ठूलो चिन्तन छैन, चेतना छैन र उसले त्यसप्रकारको संस्कार पनि पाएकी छैन । उसमा इदम्का इच्छाहरूलाई नियन्त्रण गर्न सक्ने पराहम्को विकास हुन सकेको छैन । त्यसैले उसभित्र इदम्का इच्छाहरू स्वच्छन्द रूपमा चलमलाइरहेका छन् र स्वाभाविक निकासका लागि प्रयत्नरत छन् । त्यसैको प्रेरणाले लछमनिया बिथोलिएकी छ र उसको चालचलन, उसको सोचाइ र व्यवहारमा परिवर्तन देखा पर्न थालेको छ । उसको कामेषणाको आगो यसरी दन्केको छ कि उसलाई त्यसको राप असह्य हुन थालेको छ । ऊ अब गङ्गापुरवाला र गौनाबाहेक अरू सोच्नै सक्तिन । आँखा नदेख्ने आमा र बूढो बाबुको आफू मात्र सहारा भएको कुरालाई बुझेर पनि उसले आफ्नो मनलाई धैर्य गराउन सकेकी छैन । महुवा बिन्दाबिन्दै आफ्नो गौना हुन नसकेको परिस्थितिलाई सम्झँदै उसले मनमनै सम्धी सम्धीको झगडामा मेरो जवानी त्यसै खेर गइरहेछ भन्ने सोच्दछे र वागीश्वरी मइयासँग गौना गराइदिन पुकारा पनि गर्दछे । सोचाइ र विचारका आधारमा लछमनिया अचेतनको प्रेरणाले ग्रस्त देखिन्छे । अचेतन सधैँ शैशविक किसिमको, आदिम र पशुप्रवृत्तिको हुने हुनाले अविवेकी र सुखसिद्धान्तबाट शासित हुन्छ (बराल के. सी. २६) । उसका मुखबाट निस्कने गीतहरूमा पनि त्यही प्रकारको छटपटी, आतुरता र पीडा प्रकट भएको पाइन्छ ।
चैतको याम त्यसै पनि उराठ लाग्दो हुन्छ, मनभरि प्रणयजन्य रिक्तताभास र अभावबोध पालेर बाँच्नेहरूका लागि झन् दिक्क लाग्दो हुन सक्छ । थरीथरीका भावनाहरू जन्मिरहने, मन त्यसैत्यसै उडिरहने गर्नु पनि यस यामका उपादान हुन् । लछमनिया पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेकी छ । रातिको सपना र गङ्गापुरवालाका सम्बन्धमा विभिन्न तर्कनाहरू गर्दै स्नानादि कर्म सकेपछि किनारमा उभिएर लछमनिया नदीतर्फ हेर्दै गर्दा उसमा ऊ आफूलाई भित्रभित्रै खहरे भएझैँ हुने, सर्वाङ्ग सिरिङ्गसिरिङ्ग हुन थाल्ने र हातगोडा बटारिने, जीउ तन्किने, अनि थरथर काम्ने लक्षण देखिन्छ । स्पष्टै छ– उसमा राग (लिबिडो) अत्यन्त प्रबल भएर आएको छ र ज्वालामुखी फुटाउन खोज्ने लाभाहरू भित्रभित्रै तीव्र गतिमा सलबलाउँदा ऊ आफैँमा थर्कन्छे, कम्पित हुन्छे । अचेतनका दमित इच्छाहरू स्वाभाविक रूपमा पूरा हुन नसकेपछि तिनले सन्तुष्टिका भिन्न बाटाहरू खोज्छन् । त्यस्ता इच्छाहरू अप्रत्यक्ष रूपमा मान्छेका अनौठा गतिविधि र दैहिक प्रतिक्रियाका रूपमा देखा पर्छन् । यस्तो प्रक्रियालाई लक्षण भनिन्छ र लक्षण पूरा हुन नसकेका इच्छाहरूको स्थानापन्न हो (फ्रायड‚ एन इन्ट्रोडक्सन” २७१) । यो प्रक्रिया अचेतन स्तरमै हुने हुँदा व्यक्तिले बुझ्न सक्दैन । लछमनियाले पनि बुझ्न सकेकी छैन । त्यसैले उसले ‘बरम राकस’ ले समातेको हो कि भन्ठान्छे ।
राकस अर्थात् राक्षस मान्छेले परापूर्वकालदेखि नै बुझ्दै आएको बिम्ब हो । यसलाई विद्रूप, अन्धकार र विनाशको प्रतितिधित्व गर्ने आद्यप्ररूप (आर्किटाइप) मानिन्छ (फ्री ४२९) । युङ्गका अनुसार आद्यप्ररूप ‘वंशानुगत आकृति’ हो जुन एक पिँढीबाट अर्को पिँढीमा आफैँ सर्दै आएको हुन्छ (गुइरिन तथा अन्य १७८) । मान्छेका अचेतनमा आदिम स्मृतिहरू रहेका हुन्छन् र त्यस्ता स्मृतिहरू एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने हुनाले सदा जीवित रहन्छन् । पूर्वजहरूको अनुभव, स्मृति र बिम्बहरू सञ्चित रहने हुनाले यस प्रकारको मनको तहलाई सामूहिक अचेतन भनिन्छ (युङ्ग २१५) । यस्ता आद्यप्ररूप वा आद्यबिम्ब (प्राइमोर्डियल इमेज) हरू वंशानुगत रूपमा प्राप्त स्मृतिचिह्नबाट अचेतनमै बुझिन्छन् । लछमनियाले राकसको अस्तित्वलाई स्वतः बुझेकी छ । अनि त्यो राकस रसिया छ र गाउँका तरुनी छोरीबुहारीहरूलाई खोजीखोजी समाउँछ भन्ने मिथक पनि सम्झेकी छ । आद्यप्ररूप अचेतन स्वरूपको हुन्छ, मिथकको माध्यमबाट व्यक्त भएर चेतन मनसँग जोडिन पुग्दछ (गुइरिन तथा अन्य १७९) । अचेतनले मात्र बुझ्ने राकसको अमूर्त आकृति मिथकमा व्यक्त भएपछि लछमनियाको चेतन विचारमा त्यसले स्पष्ट आकार लिन खोज्छ । उसले मोटोमोटो भयानक राकसले आफ्ना बलिष्ठ बाहुमा च्यापेको कल्पना गर्दै भयमिश्रित आनन्दको अनुभव गर्छे । लछमनिया विपरीतलिङ्गी आलम्बनको तृष्णाले अत्यन्त आक्रान्त रहेकी र राकसको मिथकले उद्दीप्त भएकी तर समाधानको केही उपाय नहुँदा पुरुष अर्थात् राकसको बलिष्ठ बाहुले आफूलाई च्यापेको भयमिश्रित आनन्ददायक कल्पना गरेर रससिक्त हुँदै “ऊ ...मा जल भरेर घरतर्फ हिँड्छे” (रेग्मी ४) । कल्पना इच्छापूर्तिको माध्यम हो । वास्तविकता रूपमा पूरा हुन नसकेका इच्छाहरूले कल्पनाका माध्यमबाट सन्तुष्टि लिन्छन् ।
अचेतनका प्रेरणाहरूद्वारा अत्यन्त प्रभावित लछमनिया रातिमा सपना पनि त्यस्तै प्रकारको देख्ने गर्छे । “कहिले ऊ साँपैसाँप देख्छे, कहिले साँपले लखेटेको, कहिले नदीका ढिकमा ककरीका बोटहरूमा ककरी फुलेको देख्छे त कहिले ककरी टिपेर खाइरहेको । कहिले पीपलको रूखमा बस्ने बरम राकसले आफूलाई खेदेको देख्छे त कहिले अँठ्याएको । सपनामा त्यो गङ्गापुरवाला कहिले सुन्दर देखिन्छ त कहिलेकहिले दाह्रैदाह्रा भएको भयानक जीवका रूपमा” (७) । झट्ट हेर्दा यी सपनाहरू अनौठा र हास्यास्पद देखिन्छन् तर फ्रायडका स्वप्न–निर्वचन सिद्धान्तका आधारमा प्रतीकहरूलाई फुकाउँदै जाने हो भने ती सबै स्पष्ट र सार्थका देखा पर्दछन् । सर्प र ककरी पुरुष जननेन्द्रियका प्रतीक हुन् भने राकस र गङ्गापुरवाला पुरुष आकृति । सर्प र राकसले लखेटेको सपनामा मैथुनिक प्रयत्नको अर्थ निहित छ । पोथीलाई खेदीखेदी जितेर समागम गर्ने पाशविक प्रवृत्तिलाई सर्पले र शक्ति प्रयोगद्वारा स्त्रीमाथि अधिकार स्थापित गर्ने आदिम आसुरी प्रवृत्तिलाई राकसले प्रतितिनिधित्व गरेका छन् । स्वप्नविश्लेषणबाट लछमनियाको यौनेच्छा प्राकृतिक रूपमा पूर्ति हुन नसकेपछि त्यसले विकृत रूप धारण गरेको बुझिन्छ । उसको स्वप्नमा राकस जस्तो भयानक र बलिष्ठ पुरुषबाट यौनतृप्ति ईप्सित छ । ककरी टिपेर खाने क्रियामा यौन समागमको अर्थ स्वतः ज्ञापित छ । गङ्गापुरवालालाई सुन्दर देख्नु उसको अचेतनले खोजेको पुरुषको आकृति हो भने दाह्रैदाह्रा भएको भयानक जीवका रूपमा देख्नु उसका इच्छाहरूलाई, उसका परिस्थितिलाई वास्ता नगरिदिने पुरुषप्रतिको घृणाभाव हो । ककरीको फूलले स्त्री जननेन्द्रिय अझ विशेषगरी अक्षतयोनिलाई बुझाउँछ (फ्रायड‚ एन इन्ट्रोडक्सन” १४२–५२) । यी विभिन्न अथ्र्याइहरूबाट लछमनियाको यौनजीवन स्पष्ट हुन्छ ।
सपना अकारण र निरर्थक हुँदैन । लछमनियाको सपना पनि अकारण र निरर्थक छैन । फ्रायडका अनुसार प्रत्येक सपनाले इच्छापूर्तिको प्रतिनिधित्व गर्दछ (जोन्स २३०) । मान्छेका असीमित इच्छाहरू सहज रूपमा पूर्ति हुन सक्तैनन् । यथार्थमा पूर्ति हुन नसकेका इच्छाहरू स्वप्नका माध्यमबाट प्रकट हुन्छन् । इच्छापूर्ति स्वप्नको मुख्य विशेषता हो (फ्रायड‚ एन इन्ट्रोडक्सन” ११९) । बुद्धू तेली बुढेसकालको एक मात्र सहाराका रूपमा रहेकी छोरीलाई गौना दिएर पठाउनुभन्दा घरजुवाइँ राख्न चाहन्छ, तर आफ्नो इलाकामा हुनेखाने र पढेलेखेको गङ्गापुरवालाचाहिँ घरजुवाइँ बस्न मान्दैन । बाबु गौना दिन नमान्ने, गङ्गापुरवाला घरजुवाइँ बस्न नमान्ने, यही द्वन्द्वको चेपमा लछमनिया परेकी छ । यौवनको चाहनाले अत्यन्त छटपटिएकी लछमनियाको व्यथा न उसको बाबुले बुझिदिन्छ न गङ्गापुरवालाले । वास्तविक रूपमा उसको चाहना पूरा हुन नसकेपछि स्वप्नका माध्यमबाट उसको इच्छापूर्ति भएको छ । गङ्गापुरवाला गौना माग्न आएको र लछमनियाको बाबुले गौना दिन मन्जुर गरेको सपना देख्नु इच्छापूर्ति नै हो । उसका अचेतनका इच्छाहरूले स्वप्नका माध्यमबाट अभिव्यक्ति पाउने हुँदा सपना सुखकर र रमाइलो लाग्ने गरे पनि ब्यूँझदा भने ऊ त्यही अत्यासलाग्दो नीरस यथार्थबाहेक अरू केही पाउँदिन । त्यसैले उसलाई निद्रा खुल्दा नरमाइलो र थकथकी लाग्छ । फ्रायड सपनाले दमित इच्छाको प्रतिनिधित्व गर्छ भन्ने कुरामा विश्वास गर्छन् भने अल्फ्रेड एडलर सपनालाई भविष्यमा घटित हुने क्रियाको अग्रछाया मान्दछन् । कार्ल गुस्ताभ युङ्ग ती दुवै व्याख्यालाई स्वीकार गरे पनि वस्तुतः उनको झुकाउ एडलरको व्याख्यातर्फ छ र उनी सपनालाई भविष्यसूचक पूर्वाभास मान्दछन् (वोल्म्यान ३०४) । लछमनियाले सपनामा देखेको युवक गङ्गापुरवाला थिएन तर सपनामा देखेको जस्तो स्वरूप भएको युवकसँग उसको अनपेक्षित रूपमा गौना भएको छ र सपना साँचो भएको छ ।
रातिको सपना लछमनियाको स्मृतिबाट हट्न सक्तैन । उसको बाबु गङ्गापुरवालालाई गौना दिन मन्जुर भएको सपनाले ऊ झन् बिथोलिन्छे । बिहानीपखको सपना साँचो हुन्छ भन्छन्, उसले देखेको सपना साँचो होला कि नहोला, साँचो भइदिए कति मजा हुन्थ्यो भन्ने एकोहोरो सोचाइमा ऊ डुब्दछे । सोच्दासोच्दै ऊ कल्पनामा हराउन पुग्छे– “गौना गराएर गङ्गापुरवाला उसलाई डोलीमा लिएर गाउँका सिवानका सडकसम्म लान्छ । त्यसपछि टाँगामा चढेर उनीहरू सहर पुग्छन् । सहरपछि नेपाली राज्यका सिमानापारि जान्छन् । गाडीमा ऊ गङ्गापुरवालासँग ढेपिएर बस्छे । गङ्गापुरवाला ऊतिर हेरेर मुसुक्क हाँस्छ” (रेग्मी ४) । वास्तवमा यो उसको स्वैरकल्पना (फेन्टासी) हो, दिवास्वप्न हो । दिवास्वप्न पनि इच्छापूर्ति नै हो (फ्रायड, “क्रियटिभ” ७१४) । दिवास्वप्नमा हराएर हिँडिरहेकी लछमनिया बाटामा हिँडेका मान्छेलाई पनि देख्दिन र पण्डिताइन चाचीसँग ठक्कर खान पुग्छे ।
लछमनिया सधैँ जाने पूर्वतिरको सीवान छोडेर बिहानपख देखेको सपना साँचो होला र गङ्गापुरवालासँग प्रत्यक्ष भेट होला भन्ने आशामा गाउँको दक्षिण सीवान नजिकैको अढरीबारीका आलीमा घाँस खुर्कन जान्छे । पतिको घर दक्षिणतर्फ पर्ने हुनाले र आउने बाटो पनि त्यतै पर्ने हुनाले ऊ स्वतः त्यसतर्फ खिचिएकी छ, उसको रागले त्यतै डो¥याएको छ । राग प्रेरणाहरूको ऊर्जा हो (वुडवर्थ २६७) । गङ्गापुरवाला आइहाल्छ कि भनेर दक्षिणतर्फबाट गाउँ पस्ने बाटामा बारम्बार हेरिरहेकी लछमनियाले एक छैँटी घाँस खुर्किसक्दा पनि नआएको हुनाले उसको मिथ्या आशा सेलाउँछ र उसको चेतना जागृत भएपछि उसलाई “म बहुलाउन त थालिन ?” (रेग्मी ९) भन्ने लाग्छ । सपना पनि साँचो हुँदैन र गङ्गापुरवाला पनि आउँदैन भन्ने निष्कर्षमा पुगिसकेपछि ऊ गङ्गापुरवालालाई आमाबाबु, घरको परिस्थिति र आफ्नो इच्छा सबै खोलेर, सम्झाएर चिठी पठाउने विचार गर्छे । ऊ घर फर्कने तरखरमा लागेको बेला उसले एउटा युवकलाई गाउँतिरबाट साइकलमा आइरहेको देख्छे । सपनामा देखिने आकृतिसँग मिल्दोजुल्दो भएकाले ऊ अचेतनका इच्छाहरूको प्रेरणावश त्यस युवकतर्फ स्वतः नै आकर्षित हुन्छे । अनि त्यो युवक गङ्गापुरवाला नै हो र ऊ आफ्नो बाबुसँग कुरा गरेर फर्केको भन्ने मिथ्या विश्वास पनि लछमनियालाई लाग्दछ । त्यो युवक लछमनियालाई नचिनेझैँ गरेर अघि बढेपछि उसको अचेनका इच्छालाई मिलनको त्यो अवसर गुम्न आँटेको सह्य हुँदैन र ऊ अधीर भएर अनायास बोलाउन पुग्छे । एकान्त स्थलमा जवान युवतीले त्यसरी सम्बोधन गर्दा त्यो युवक पनि आकर्षित नभइरहन सक्तैन । लछमनियाको अचेतनले त्यस युवकलाई गुमाउन नचाहने र चेतनलाई त्यस्तो कार्य स्वीकार्य नहुने हुँदा चेतनलाई विश्वस्त पार्न अचेतनका प्रेरणावश उसबाट यस्ता प्रश्नहरू निस्कन्छन् कि उत्तर पनि त्यसैमा निहित हुन्छन् । जवाफ दिनेले हो वा होइन भनिदिए पुग्छ । त्यस युवकले पनि ठट्टैमा लछमनियाले खोजेजस्तै सकारात्मक उत्तर दिन्छ । लछमनियालाई त्यो युवक गङ्गापुरवाला नै हो भन्ने विश्वास भएपछि आफ्ना सारा वृत्तान्त सुनाउन थाल्छे । लछमनियाको सम्पूर्ण परिस्थिति बुझिसकेपछि ख्यालख्यालमै लछमनियालाई पनि पाउन सकिने र लछमनियाको बाबुको सम्पत्ति पनि हात पार्न सकिने देखेर ऊ झुटो बोलेर लछमनियालाई विश्वस्त पार्दै जान्छ, लछमनियाको बाबु गौना दिन मन्जुर नभएकाले अर्को विवाह गर्ने धम्की दिन्छ । इदम्का इच्छाले वशीभूत भएर गङ्गापुरवालालाई पाउने लालसामा तर्क र बुद्धि गुमाइसकेकी लछमनियाले उसको धुत्र्याइँ बुझ्न सक्तिन र ऊ सारा कुरा भुलेर रामपुरवालाको पछि लाग्दछे ।
यसप्रकार लछमनिया अचेतनका प्रेराणाद्वारा पूर्ण रूपमा परिचालित देखिन्छे । उसका इदम्को प्रेरणा कुनै वैकल्पिक उपाय अर्थात् मनोरचनाहरूद्वारा निरावेशित हुन सकेका छैनन् । उसमा कुनै नैतिक चेतना र कर्तव्यबोध पनि जागृत भएको पाइँदैन । त्यसैले उसमा इदम्का तुलनामा अहम् र पराहम् दुर्बल देखापर्दछ । अन्तर्मुखी र अचेतनका प्रेरणाद्वारा वशीभूत लछमनियाको व्यक्तित्व असन्तुलित छ ।
६. संवेगात्मक परिपक्वताका आधारमा
संवेगात्मक परिपक्वताका आधारमा पात्र परिपक्व र अपरिपक्व हुन्छ । सामान्य पात्रमा संवेगात्मक परिपक्वता पाइन्छ ।  विभिन्न प्रकारका संवेगहरूमाथि उसको पूर्ण नियन्त्रण रहेको हुन्छ र उसले उपयुक्त कारणबिना भय, प्रेम, ईर्ष्या, क्रोध इत्यादि संवेगहरूको प्रदर्शन गर्दैन । असामान्य पात्रमा संवेगात्मक परिपक्वता नहुने भएकाले उसले संवेगहरूमाथि नियन्त्रण कायम राख्न सक्तैन ।
लछमनियामा संवेगात्मक परिपक्वता पाइँदैन । गङ्गापुरवालासँग गौना हुन्छ कि हुँदैन भन्ने निश्चित भइसकेको छैन । राम्ररी कुरै नबुझी ऊ मनोगत रूपमा विचलित भएकी छ । ऊ रातिमा निदाउन सक्तिन, आमा बाबुको मर्मस्पर्श गर्ने खालको विरहव्यथा भरिएको राग अलाप्छे र दिनभर गौना हुन्छ कि हुँदैन भनेर चिन्तन गरिरहन्छे । ऊ त्यसरी आत्तिहाल्नुपर्ने वास्तविक परिस्थिति आएकै छैन । बरु उसको बाबुले गौना दिएर पठाउने निर्णय गरेको छ । त्यसैगरी धेरै वर्षअघि सानै छँदा एकपटक मात्र देखेको व्यक्तिलाई उसले अर्काले सुनाएको आधारमा त्यसको स्वरूपको कल्पना गर्छे, सपनामा देख्छे र प्रेम गर्छे । सपनामा देखेको पुरुष आकृतिलाई नै गङ्गापुरवाला ठानी वास्तविकतातर्फ आँखा चिम्लेर उसले आफूलाई समर्पित गर्दछे । उसले संवेगहरूमाथि नियन्त्रण कायम गर्न सकेकी छैन । ऊ सोचविचार नै नगरी आफूले चाहेको भन्दा अर्कै व्यक्तिसँग हिँडेकी छ । त्यसैले ऊ संवेगात्मक परिपक्वताका दृष्टिले अपरिपक्व पात्र हो ।
७. मानसिक अन्तर्द्बन्द्बका आधारमा
मानसिक अन्तर्द्बन्द्बका आधारमा पात्र अन्तर्द्बन्द्बरहित र अन्तर्द्बन्द्बग्रस्त हुन्छ । सामान्य पात्र अन्तर्द्बन्द्बरहित हुन्छ । ऊ समायोजित, सन्तुलित, संवेगात्मक परिपक्वताका दृष्टिले परिपक्व हुने हुँदा उसमा मानसिक अन्तर्द्बन्द्बको स्थिति रहँदैन । असमान्य पात्रमा विपरीत इच्छा, भाव, विचार र धारणाको द्वन्द्व हुने भएको हुँदा ऊ अन्तर्द्बन्द्बग्रस्त हुन्छ ।
लछमनिया किशोरावस्था पार गरेर उन्मादिलो यौवनमा प्रवेश गरिसकेकी छ । अवस्था अनुसारका स्वाभाविक, प्राकृतिक र जैविक किसिमका इच्छाहरू पनि उसभित्र विकसित भइसकेका छन् । बढ्दो उमेर सँगसँगै उसभित्र रहेका इच्छाहरू झन्झन् बलियो बनेर आउन थालेका छन् । ऊ तिनै इच्छाहरूद्वारा एकनास डसिएर, सताइएर छटपटिएकी छ । ऊ पतिबाट पाउने सुखलाई उदरतृप्ति जत्तिकै सहज ढङ्गले सोच्दछे । उसमा नैतिकता र अनैनिकता अर्थात् इदम् र पराहम्, जीवन–मूल प्रवृत्ति र मृत्यु–मूल प्रवृत्तिका बिच अन्तर्द्बन्द्ब नदेखिए पनि गौना हुन्छ कि हुँदैन भन्ने अन्तर्द्बन्द्बले ग्रस्त भएकी छ । अचेतनका दुर्दमनीय प्रेरणाद्वारा परिचालित भएकाले गङ्गापुरवालासँग गौना होस् भन्ने चाहन्छे तर चेतन विवेकले गौना हुने स्थिति नदेखेकाले ऊ गौना हुने र नहुने अनिश्चितताको भुमरीमा फँसेकी छ । त्यही भएर ऊ “के ऊ गौना गराउन आउला ?” (४) भन्ने आशंका गर्छे । अचेतनका इच्छाका कारण उसले सपनामा गङ्गापुरवाला गौना माग्न आएको देख्छे । बिउँछेपछि चेतन सक्रिय हुनाले उसलाई परिस्थितिको ज्ञान हुन्छ र उसलाई नरमाइलो लाग्छ । उसले देखेको सपना साँचो होला कि नहोला, गौना होला कि नहोला भन्ने अन्तर्द्बन्द्वका कारण ऊ कहिले बाटामा हिँडेका मान्छेसँग नराम्ररी ठोक्किन पुग्छे, कहिले आफू बहुलाएँ कि भन्ने लाग्छ । अझ कुनै कुनै बेला त सर्वाङ्ग सिरिङ्गसिरिङ्ग हुने, हातगोडा बटारिने, जीउ तन्किने र थरथर काम्ने जस्ता लक्षण पनि उसमा देखिन थालेका छन् । यो प्रबल इच्छा र इच्छापूर्ति हुन नसक्ने दुश्चिन्ताको परिणाम हो । रामपुरवाला युवकले अढरीबारीबाटै आफूसँग तत्काल हिँड्न प्रेरित गरेपछि “उसको प्रस्ताव सुनेर लछमनिया द्विविधामा पर्छे । ऊ के गर्ने के नगर्ने निर्णय गर्न सक्तिन” (१३) । एकपटक उसले आफ्नो बाबु, बाबुको भावना सम्झन्छेर उसलाई मर्यादाबोध हुन्छ । इदम्को प्रेरणाले उसलाई त्यस युवकसँग हिँड्न प्रेरित गर्ने र पराहम्ले रोक्ने हुँदा ऊ अन्तर्द्बन्द्बमा फस्दछे । रामपुरवाला प्रेरकद्वारा उद्दीप्त अचेतन सामु उसको पराहम् टिक्न सक्तैन । अचेतनका प्रेरणाद्वारा निर्देशित लछमनिया सारा कुरा भुलेर रामपुरवालाको पछि लाग्दछे ।
८. मानसिक अवस्थाका आधारमा
मानसिक अवस्थाका आधारमा पात्र अविकृत र विकृत हुन्छ । सामान्य पात्र कुनै पनि मानसिक तथा चारित्रिक विकृति नहुने भएकाले ऊ अविकृत हुन्छ । असामान्य पात्रमा मनःस्नायुविकृति, मनोविकृति, लैङ्गिक विकृति, मानसिक दुर्बलता, मद्यपान तथा लागू पदार्थको कुलत, जुवाडेपन, मनोदैहिक विकृति, आपराधिक व्यवहार, समाजविरोधी क्रियाकलाप, स्थिर व्यामोह, विषाद, मनोग्रस्ति–बाध्यता, उन्माद, कृशकाय, अपूर्ण व्यक्तित्व, मन्द र खण्डित मानसिकताजस्ता विकृति हुन्छ । त्यसैले ऊ विकृत पात्र हो ।
लछमनियामा मानसिक विकृतिको लक्षण देखापर्दछ । रातिको सपना र गङ्गापुरवालाका सम्बन्धमा विभिन्न तर्कनाहरू गर्दै स्नानादि कर्म सकेपछि किनारमा उभिएर लछमनिया नदीतर्फ हेर्छे । चैत महिनामा स्रोत सुकेर साँघुरिएको नदीलाई यौवनको पूर्ण बढोत्तरीमा पनि आफ्नो मन र शरीर साँघुरिनु परेजस्तै ठान्छे । “तर नदीमा आषाढ साउनमा हर्हराएर आएको बाढीझैँ केके हो उसको अभ्यन्तरमा हर्हराएर उर्लने गर्छ । लछमनियालाई हिजोआज यस्तो भएको बेला सर्वाङ्ग सिरिङ्गसिरिङ्ग हुन थाल्छ । हातगोडा बटारिन्छन्, जीउ तन्किन्छ, अनि ऊ थरथर काम्न थाल्छे” (३) । आफ्नो गौना हुँदैन कि भन्ने दुश्चिन्ताका कारण ऊ अन्तर्द्बन्द्बग्रस्त बन्न पुगेकी छ । मानसिक द्वन्द्व शारीरिक लक्षणका रूपमा देखापर्ने यो हिस्टेरियाको लक्षण हो । यसलाई रूपान्तरण हिस्टेरिया भनिन्छ (भाटिया ७८) । फ्रायडले यस्तो मानसिक समस्याको कारण दमित कामवासना अर्थात् यौनसम्बन्धी अन्तर्द्बन्द्बलाई मानेका छन् (भण्डारी, “मनको” ४२) । रूपान्तरण त्यस्तो मनोरचना हो जसमा दमित अन्तर्द्बन्द्बको अभिव्यक्ति विभिन्न शारीरिक रोगहरूको लक्षणका रूपमा हुन्छ (भण्डारी, “फ्रायड” ८९) । हिस्टेरियाको रोगीहरूमा रूपान्तरणको मुख्य हात हुन्छ । त्यसैले यसलाई रूपान्तरण हिस्टेरिया पनि भनिन्छ (सिन्हा तथा मिश्र १३४) । लछमनियामा भएको पनि त्यो लक्षण देखापरेको छ । गाउँघरमा यसलाई भूतप्रेत लागेको वा देवीदेउता, आत्मा चढेको भन्ने विश्वास गर्छन् । लछमनिया आफ्नो त्यस्तो अवस्थालाई उसले ‘बरम राकस’ ले समातेको हो भन्ठान्छे । यस आधारमा ऊ मानसिक विकृति भएको पात्रका रूपमा देखापर्दछ ।
निष्कर्षतः लछमनिया असामान्य पात्र हो । उसले भोग्नुपरेको अन्तर्बाह्य समस्यालाई मनोविश्लेषणात्मक सिद्धान्तका आधारमा उद्घाटित गरिएको छ । त्यसले कथालाई आकर्षक, प्रभावकारी एवं विश्वसनीय तुल्याएको छ । पात्रको अन्तर्बाह्य पक्षको उद्घाटनमा प्रस्तुत कथा सफल रहेको छ । मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले यो अब्बल दर्जाको कथा हो । नेपाली मनोविश्लेषणात्मक कथा परम्परामा यसलाई महत्त्वपूर्ण प्राप्ति मान्न सकिन्छ ।
सन्दर्भसामग्री
फ्रायड‚ सिग्मण्ड. ए जनरल इन्ट्रोडक्सन टु साइकोएनालेसिस, हिन्दी अनुवाद फ्रायड : मनोविश्लेषण. देवेन्द्र कुमारद्बारा अनूदित, राजपाल एन्ड सन्ज‚ १९९६ ।

बराल‚ ईश्वर. छरिएका समीक्षा. शरदचन्द्र शर्मा भट्टराईद्बारा सम्मादित साझा प्रकाशन‚ २०५६ ।
भण्डारी, कृष्णप्रसाद. फ्रायड र मनोविश्लेषण. साझा प्रकाशन‚ २०५६ ।
——  मनको रोग. साझा प्रकाशन‚ २०६३ ।
भाटिया, मनजीत सिंह. मनोरोग. तेस्रो संस्क., नेशनल बुक ट्रस्ट‚ २००९ ।
रेग्मी, सनत. लछमनियाको गौना. साझा प्रकाशन‚ २०५१ ।
सिन्हा, राज राजेश्वरी प्रसाद तथा बी. के. मिश्र. असामान्य मनोविज्ञान. दोस्रो संस्क., भारती भवन‚ १९८७ । 
Baral, K. C. Sigmund Freud: A Study of His Theory of Art and Literature. Sterling Publishers Pvt. Ltd., 1995.
Freud, Sigmund. "Creative Writers and Daydreaming." Creatical Theory Since Plato, edited by Hazard Adams, Harcourt, 1992, pp. 712-716.
Frye, Northrop. "The Archytypal Criticism." Twentieth Century Literary Criticism, A Reader, edited by David Lodge, Longmann, 1989, pp. 98-102.
Guerin, Wolfrid, et al. A Hand Book of critical Approaches to Literature. 4th ed, Oxford University Press, 1999.
Jones, Ernest. A Life and Works of Sigmund Frued. Basic Books Inc. Publishers, 1961.
Jung, Carl Gustav. Modern Man in Search of a Soul. Routledge, 1933.
Wolman, Benjamin B. Contemporary Theories and Systems of Psychology. Freeman Book Co.
Woodworth, Robert S. Contemporary Schools of Psychology. Methuen and Co. Ltd., 1965.


Thursday, April 9, 2020

२. विजय मल्लका कवितामा अभिघात


विजय मल्लका कवितामा अभिघात
                               डा. दुर्गाबहादुर घर्ती

जीवन बाँच्ने क्रममा कहिल्यै नदुखेको मन, नभिजेको परेली र नचस्केको छाती सायद कसैको हुँदैन । जीवनको गतिमा घाउ र ठेस लागिरहन्छ, पीडानुभूति भइरहन्छ । गतिशील भइरहनु, निरन्तर बगिरहनु नै जीवन हो, नदीजस्तै कहिले छाल खेल्दै, कहिले छाँगाहरूमा पछारिँदै र कहिले पहराहरूमा बजारिँदै । वेदनारहित जीवन मान्छेका लागि अप्राप्य छ, पीडा र जीवनको यात्रा धुकधुकी छउन्जेल सँगसँगै चलिरहन्छ । मान्छेको जन्मसँगै पीडा पनि साथ लागेर आउँछ र मान्छेको अन्त्य पनि पीडासँगै हुन्छ । जन्मको घटना नै जीवनको पहिलो वेदनादायी स्थिति हो, आमाको न्यानो कोखसँग वियोग र अपरिचित एवं असहज वातावरणमा उछिट्टिनुको पीडा त्यतिखेरै एकसाथ भोग्नुपर्छ  । प्रथम क्रन्दनद्वारा नै मान्छेले यस धरतीमा आफ्नो उपस्थितिको सङ्केत दिन्छ । मृत्यु मान्छेका लागि सबैभन्दा त्रासद एवं दुःखद घटना हो । ãणभङ्गुर जीवनप्रति अतिशय मोह र मृत्यृप्रति त्रास मान्छेमा सृष्टिकालदेखि नै विद्यमान छ । त्यस प्रकारको संज्ञान मान्छेले जन्मजात पाएको छ आनुवंशिक धरोहरका रूपमा । जन्म र मृत्युको दोसाँधमा अल्झेको जीवनयात्रामा वेदनामय अनुभूतिको सिलसिला चलिरहन्छ । धेरैजसो पीडादायी अनुभूति समयक्रममा पुरिँदै जान्छन् र कुनै चाहिँ कहिल्यै निको नहुने भएर उकुच पल्टिन्छ, पछिपछिसम्म बल्झिरहने, झस्काइरहने घाउ बनेर स्मृतिमा बाँचिरहन्छ । वस्तुतः त्यही नै अभिघात हो ।
अभिघात भनेको चोट हो । शारीरिक घाउ वा चोट बुझाउने ग्रिसेली “ट्रमा” वा “ट्रउमा” शब्दको पर्यायवाचीका रूपमा नेपालीमा अभिघात शब्द प्रचलित रहेको छ । विगतका पीडादायी घटनाको स्मृतिसँग सम्बन्धित भएकाले यो मूलतः मनोविज्ञानको विषय हो । मनोविज्ञानमा यसको अर्थ मानसिक आघात, चोट वा कटु अनुभव भन्ने हुन्छ । यसलाई मनोविश्लेषणमा प्रवेश गराउने काम सिग्मन्ड फ्रायड र जोसेफ ब्रायरले गरेका हुन् । मनोविश्लेषणसम्म आइपुग्नका लागि फ्रायडले ब्रायरको गतिलो साथ पाएका हुन् । उनीहरूका अनुसार डर, दुश्चिन्ता, लज्जा वा दैहिक पीडा जस्ता कुनै पनि अनुभूति अर्थात् दुःखद भावले अभिघातका रूपमा कार्य गर्न सक्छन् (लक्हस्र्ट, २००६, पृ. ४९८) । फ्रायडले अभिघातको अध्ययनलाई निरन्तरता दिएका छन् । उनका अनुसार त्यस्तो अनुभवलाई अभिघातज अर्थात् चोटले पैदा हुने भनिन्छ जसको उद्दीपनले मनमा स्थायी विक्षोभ पैदा हुन्छ (फ्रायड, १९९६, पृ. २५४) । अभिघात अचेतनको कार्य हो । यो अचेतनमा दमित रहेको हुन्छ तर वेदनादायी पूर्वघटनासँग सम्बन्धित व्यक्ति, वस्तु, स्थान आदि देखापर्दा व्यक्तिमा तुरुन्त त्यससँग सम्बन्धित पूर्ववेदना पुनः एक्कासि प्रकट हुन्छ र भयभीत हुन थाल्दछ (भण्डारी, २०६३, पृ. ७४) । “अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ” भन्ने उखान यसमा चरितार्थ हुन्छ । त्यसैले उल्रिच बेअर अभिघातलाई नसुल्झेको अनुभूति (वोल्फ्रीज, २००२, पृ. १२६) भन्न रुचाउँछन् । अभिघात भूतकालसँग सम्बद्ध भए पनि यसले वर्तमानमा तर्साइरहन्छ, झस्काइरहन्छ । वर्तमानमा यसको अस्तित्व अवास्तविक भए पनि यसको मानसिक प्रभाव वास्तविकको भन्दा बढी हुन्छ । त्यसैले यसलाई भूतप्रेत भन्न सकिन्छ (वोल्फ्रीज, २००२, पृ. १३३) । प्राकृतिक प्रकोप, युद्ध, आक्रमण, दङ्गा, हत्या–हिंसा, आतङ्क, बलात्कार, प्रियजनसँगको वियोग, आङ्गिक ãति आदि अभिघातका कारण हुन् । विजय मल्लका कवितामा यसप्रकारको अभिघातीय अनुभूतिको अभिव्यञ्जनाले निकै ठाउँ पाएका छन् ।
विश्वयुद्धले जन्माएको अझ विशेषगरी द्वितीय विश्वयुद्धले जन्माएको अभिघात विजय मल्लका कवितामा पाइने सर्वाधिक उल्लेखनीय पã हो । जुनसुकै लडाइँ पनि प्रभुता र आत्मरक्षाको इच्छाले निर्देशित हुन्छ । त्यसको मुख्य कारक हो जीवनेच्छा र मृत्युको भय । शक्तिसम्पन्न बन्न चाहनु मान्छेको नैसर्गिक प्रवृत्ति हो । बाँच्नकै लागि मान्छे शक्तिशाली बन्न र अरूबाट अपराजित हुन चाहन्छ । त्यस प्रकारको उग्र कामनाले निम्तिन्छ युद्धको परिस्थिति । प्रथम र द्वितीय विश्वयुद्धको मूल कारण पनि त्यही नै हो । तर त्यसको परिणति भने सुखद रहेन । बीसौँ शताब्दीको पूर्वार्धमा बीस वर्षको अन्तरालमा भएका दुई विश्वयुद्ध मानव इतिहासकै सबभन्दा कहालीलाग्दा नरसंहारकारी घटना हुन् । प्रथम विश्वयुद्धमा झन्डै एक लाख मान्छेको ज्यान गएको र डेढ करोडभन्दा बढी व्यक्ति घाइते भएको अनुमान गरिएको छ । द्वितीय विश्वयुद्धमा कति जनधनको ãति भयो भन्ने वास्तविक रूपमा यकिन हुन नसकेको भए पनि यसमा डेढ करोडभन्दा बढी सैनिक र एक करोडभन्दा बढी सर्वसाधारणको मृत्यु भएको अनि लगभग एक करोडभन्दा बढी सैनिक घाइते भएको अनुमान छ । त्यसबेलाको हताहत, रक्तपात र विध्वंशबाट पर्न गएको मानसिक आघातको लेखाजोखा नै छैन ।
नेपालीहरू चाहेर वा नचाहेरै ती दुई महासमरमा सहभागी हुनु परेको कुरा इतिहासले बताउँछ । प्रथम विश्वयुद्धमा रिक्रुट बाहेक साढे सोह्र हजार जति नेपाली सैनिक ब्रिटिश सरकारको सहयोगका लागि पठाइएको र द्वितीय विश्वयुद्धमा नेलालले सहयोगार्थ पठाएको हजारौँ तालिम प्राप्त सैनिक बाहेक ब्रिटिश फौजमा रहेको गोरखाली फौजमा एक लाखभन्दा बढी नेपाली रिक्रुट भर्ती गरिएको जानकारी पाइन्छ (शर्मा, २००८, पृ. ३६३) । दोस्रो महायुद्धमा नेपाली सेनाहरू विशेषगरी पूर्वतर्फ बर्मा, सिङ्गापुर, आसाम र पश्चिमतिर मिश्र, सुडान, सिरिया, इराक, इरान आदिमा लडेका थिए । तिनीहरूमध्ये कति हताहत भए, कति असक्त घाइते भए र कति हराए भन्ने तथ्याङ्क पाइँदैन । विश्वयुद्धले संसार जलिरहेको समयमा बेलायत, फ्रान्स, अमेरिका आदिको गठबन्धन विरुद्ध उत्रेको जर्मनी, इटली र जापान गठबन्धनको सेना पूर्वी एसियामाथि कब्जा जमाउँदै भारतको पूर्वी प्रान्तसम्म आइपुगेको थियो । अमेरिकाको दुईपटकको अणुबम प्रयोगले जापानको हिरोसिमा र नागासाकी सहर ध्वस्त पारेपछि संसार झस्कियो र विश्वयुद्धमा विराम लाग्यो । त्यतिबेला नेपालीहरू कति त्रसित र आतङ्कित भए होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसैको विश्वजनीन अभिघातीय अनुभूति विजय मल्लका कवितामा बारम्बार चियाइरहन्छ ।
दोस्रो विश्वयुद्धको अन्त्य भए पनि युद्धको सन्त्रास र आशङ्काको अन्त्य भने भएन । द्वितीय विश्वयुद्धपछि अमेरिका र रुस नयाँ शक्तिकेन्द्रका रूपमा उदाए र विश्व फेरि दुई विरोधी गुटमा विभाजित हुन पुग्यो । युद्धले थिलथिलिएको युरोपमाथि आफ्नो प्रभुत्व र प्रभाव जमाउने अनि अर्को गुटलाई निषेध गर्न खोज्ने प्रतिस्पर्धाले अमेरिका र रुस बिच शीतयुद्धको प्रारम्भ भयो । युद्धका लागि सैन्य तयारी, आणविक हतियारको परीã, सामूहिक सुरक्षाका नाममा क्षेत्रीय सङ्गठनहरूको निर्माण, सैनिक उत्तेजनाको भाषामा एकले अर्कालाई ध्वस्त पार्ने धम्की, छिटपुट युद्धका घटना आदि शीतयुद्धकालीन गतिविधिले फेरि अर्को विश्वयुद्ध हुन सक्ने र त्यो अकल्पनीय हुने सम्भावना तीव्र बन्दै गयो । तिनै गतिविधिले आमविनाशको व्यापक दुश्चिन्ता उत्पन्न ग¥यो (ट्रेच्टेनबर्ग, २००४, पृ. ४) । विश्वयुद्धले पारेको घाउमा शीतयुद्धले खाटा बस्न दिएन, बरु ज्यादा दर्दनाक बनाइरह्यो, चहर्‍याउने पारिरह्यो । विश्व परिस्थितिसँग परिचित, सचेत एवं संवेदनशील कवि आसन्न मृत्युको सम्भावना बोकेर पलपल बाँचेका मान्छेहरूमा लासको दुर्गन्ध अनुभव गर्छन्, घोर विरक्ति र उग्र उराठको अनुभव गर्छन् । अनि उनलाई अनुराग, सौन्दर्य, माधुर्य सबै बित्था लाग्छन्, गीतका फाँकी अलाप्न बेकार लाग्छ । कविकै शब्दमा :
मानिसमा लाशको जब दुर्गन्ध आउँछ,
फजूलमा गीत को गाउँछ (“फजूलमा गीत को गाउँछ ?” : ८६) ।
एकअर्कालाई ध्वस्त पार्ने शक्तिराष्ट्रहरूको गर्जन र तर्जनले विश्व समुदायलाई कतिखेर जीवनको अस्तित्व नामेट हुने हो, साँझ सुतेपछि भोलि बिहानको सूर्य देख्न पाइने हो कि होइन, आज देखेको सहर भोलिसम्म खण्डहर र लासको थुुप्रोमा परिणत भइसक्ने हो कि भन्ने जगजगीले नित्य झस्काइरह्यो । त्यस्तो अवस्थामा कोही पनि चैनसँग निदाउन सक्ने कुरै भएन । त्यही भएर राति निदाएको बेलामा ऐँठन परिरहने, झस्किरहने र आत्तिएर, तर्सिएर बिउँझिरहने अवस्था भइरहन्छ । कवि भन्छन् :
सुनसानमा—
मानो करुण चीत्कार सुने झैँ
रातको गाढा अन्धकारमा,
छटपटाएर ब्यूँझन्छु—
आफै आत्तिएर, तर्सिएर ! (“सूनसानमा” : १२) ।
यो युद्धको सन्त्रास र मृत्युको भयले उत्पन्न गरेको अभिघातीय मनस्तापको परिणति नै हो । यो वैयक्तिक अनुभूति मात्र नभएर सर्वदेशीय हो, सबैको मन मस्तिष्कमा डसिरहने साझा व्यथा हो । त्यसरी निद्रित अवस्थामा झस्केर बिउँझिए पनि आफू जिउँदै छु भन्ने विश्वास नै गर्न नसक्नु त्यति बेलाको यथार्थ भोगाइ हो । सधैँ डराएर, आतङ्कित बनेर जिउनु परेको जब पीडाबोध हुन्छ, आफ्नै मन कतै कहालिएर सुँकसुँकाइरहेको हुन्छ, अनि मात्र कविलाई आफू मरेको रहेनछु भन्ने लाग्छ । कविकै भनाइमा :
एउटा लामो निश्वासले बिउँझायो मलाई
एउटा रुन्चे आवाजले चिथ¥यो मलाई,
अनि चाल पाएँ
बाँचेको छु झैँ लाग्यो आफूलाई (“एक रातमा” : ४) ।
जति जति तृतीय विश्वयुद्धको भयावह स्थितिको सम्भावना चर्किंदै जान्छ, त्यति त्यति आमविनाश र रक्तपातको दुश्चिन्ता पनि तीव्र हुँदै जान्छ । हिजोका नरसंहारकारी विश्वयुद्धहरूको पीडादायी स्मृतिले त्यसप्रकारको सन्त्रास जन्माउँछ । वर्तमानको हातहतियारको विकास र आणविक शक्तिको होडबाजीले त्यसप्रकारको त्रास झनै तीव्र तुल्याएको छ । त्यही भएर “यस धरतीको पानीमा” कवितामा यस बीसौँ शताब्दीको नदीहरूमा पानी होइन, रगत बगेको कल्पना गरिएको छ ।
पृथ्वीका सारा नदीहरूमा—
गङ्गा, भोल्गा, ह्वाँग–हो
मिसिसिपि, अभ्याजाँ, नाइल;
जताततै बदलिन्छ पानी,
अकस्मात् रक्तमा ! (यस धरतीको पानीमा : २) ।
युद्धको नियम कि मार्ने कि मर्ने नै हो । यसले जसरी पनि मानव जातिको संहार नै हुन्छ । शक्ति राष्ट्रहरू युद्धको तयारीमा जुटिरकै छन् । आणविक हतियारको परीक्षण भइरहेका छन् । विश्वमा एकल हैकम चलाउनका लागि अरूलाई परास्त गर्नुपर्छ । त्यसका लागि युद्ध आवश्यक पर्छ । त्यसैले कुनै पनि बेला लडाइँ हुन सक्छ । त्यही आशङ्का तलका हरफहरूले व्यक्त गरेका छन् :
गुलाफको फूलमा अहिले,
किन बारुदको गन्ध आउँछ ?
अङ्कमालमा मुटु किन,
बोल्दछ बमको आवाज झैँ ?
किन हरेक झाँग झाँगबाट
चितुवा लुके झैँ शङ्का चियाउछ ?
हरेक ãण किन त्रास ओसारिएर
यस धरतीमा लहराउँछ ? (यस धरतीको पानीमा : २—३) ।
छोरीलाई मानचित्र पढाउँदा” कविता हिजोको युद्धको अभिघात र देशका सीमारेखाहरू मेटिएर विश्व एउटै देश बनेको र युद्धको समाप्ति भएको भोलिको आशा बोकेको कविता हो । अहिले विश्व विभिन्न देशहरूका नाममा विभाजित भएको छ । विश्व मानचित्रमा तिनीहरूलाई छुट्याउनका लागि राता धर्साहरूको प्रयोग गरिएका छन् । ती राता धर्साहरू मानचित्रमा देखाउनका लागि मात्र कोरिएका होइनन्, तिनको आफ्नै कहालीलाग्दो इतिहास छ, युद्धको इतिहास छ । हरेक राष्ट्रको जन्मका पछाडि लडाइँको भूमिका रहेको छ । त्यसमा अनगिन्ती मान्छेको रगत बगेको छ ।
रातो रगतले कोरिएको साँध छ ।
खेतमा डील लाए झैँ,
हेर, हरेक राष्ट्रका फाँटमा ! (छोरीलाई मानचित्र पढाउँदा : ७) ।
छोरीलाई मानचित्र पढाउँदा” कवितामा भविष्यमा देश छुट्याउने रातो सीमारेखा खोजेर पनि नपाइने दिन आउने आशा व्यक्त गरिए पनि वर्तमानमा त्यस्तो परिस्थिति देखापर्दैन । ठुलो राष्ट्रबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बन्ने, कमजोर राष्ट्रलाई शक्तिशाली राष्ट्रले आफ्नो कब्जामा पार्न खोज्ने विकसित भइरहेको छ । द्वितीय विश्वयुद्धपछि अमेरिका र रुस बिच चलेको सिङ्गो विश्वलाई आफ्नो प्रभावमा पार्ने होडबाजी झन् डरलाग्दो छ । अन्य देशको प्राकृतिक स्रोत हत्याउनका लागि पनि शक्ति राष्ट्रका बिच हानाथाप चल्ने र अरू देशले विभिन्न क्षेत्रीय सङ्गठनहरूका नाममा तिनीहरूलाई सघाउने हुँदा विश्वयुद्धको खतरा जहिले पनि त्यत्तिकै देखापरिरहन्छ । त्यसमा नेपाल जस्तो देशको केही लाग्दैन । शक्ति राष्ट्रहरू बिच युद्ध मच्चियो भने नेपाल पनि बाँकी रहँदैन । त्यही भएर कवि व्यङ्ग्य गर्छन् :
बम खसाल, ए बम खसाल !
परिश्रमले सिँचेको !
पहाड पर्वत चिर्चेको
ढुङ्गा फोडेको—
हर्ष र आश उम्रेको
यस युग युगको प्राचीन नगरमा
बम खसाल !  , बम खसाल ! ( बम खसाल, ए बम खसाल ! : २२) ।
युद्ध जेका नाममा भए पनि आखिर युद्ध नै हो । त्यसको भोगाइ दु:खद नै हुन्छ । नेपालीहरूले कहिले तिब्बतसँग, कहिले अङ्ग्रेजसँग र कहिले विश्वयुद्धमा सहभागी भएर युद्ध लडेका छन् । तिब्बत र अङ्ग्रेजसँगको युद्धमा निश्चय नै नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न थियो, तर प्रथम र द्वितीय विश्वयुद्धमा राणाशासकले अङ्ग्रेजलाई रिझाउनका लागि नेपाली सेना पठाएका थिए । उनीहरूलाई वीर गोरखालीको उपमा दिएर युद्धमा होमिन हौस्याइएको थियो । तिनीहरूप्रति व्यङ्ग्य गर्दै कवि भन्छन् :
               कहिलेकाहीँ
               युद्ध पनि चाहिएको छ ।
               रोटीको खातिर मर्ने वीरहरू—
               देशभक्त पनि चाहिएको छ
               र तिमी भन्छौ—
               मरे स्वर्ग पाइन्छ
               जिते वसुन्धरा ।’ (बाक्लो कोट : १०३—१०४) ।                  
देशभक्ति, वीरता र बलिदानका नाममा नेपालीहरूलाई युद्धका लागि उक्साइयो, प्रेरित गर्ने काम भयो । त्यसरी युद्धको अग्निकुण्डमा होम्नेहरूप्रति कवि आक्रोश पोख्छन् :
राष्ट्रिय वीरताको अस्तित्व जोगाउन,
जीवनमा बलिदानको आदर्श सिकाउन,
सेवाभावको जगत्मा प्राण बचाउन,
सम्पत्ति, दाजुभाइ, माता पिता, शिशुको मुस्कान,
लाखन् नरनारीको प्यार, ममता, आराम,
दृढ भएर, फुक्का बनेर, हाँसी हाँसी—
युद्धको सिर्जना गर्दै अग्निकुण्डका लप्कामा
के तिमीले होमिदिएनौ, भस्म गरिदिएनौ ? (, आत्मा किन्ने मानिस : ५३) ।
त्यो दिन कहिले आउला !?” कविताले विश्वयुद्धका बेला भएको नरसंहार र जनमानसमा व्याप्त नैराश्यलाई देखाउन खोजेको छ । विश्वका शक्तिराष्ट्रहरू युद्धमा होमिएका छन्, जताततै मानवीय विनाश भइरहेका छन् । मान्छे मार्नु नै प्रमुख लक्ष्य बनेको छ । त्यसैले विश्व स्मसानमय बन्न पुगेको छ । बाँच्नेहरूका लागि त्यस त्रासदीले निराश र सन्त्रस्त तुल्याएको छ :
               निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ?
               यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ?
               चारैतिर मसान छ, चीत्कार कोलाहल,
               नैराश्य हुरी आएर आशादीप निभ्दछ पलपल ! (त्यो दिन कहिले आउला !? : ५०) ।
अभिघातको आफ्नै इतिहास हुन्छ र त्यो कहालीलाग्दो हुन्छ । त्यही इतिहास मानसपटलमा फर्की फर्की आउने र तर्साउने हुन्छ । त्यसलाई सम्झाउने खालका घटना, पात्र वा परिवेश देख्दा पनि अभिघातीय असर पर्छ । विजय मल्लका कवितामा मूलतः युद्धको विभीषिकासँग सम्बन्धित अभिघात पाइन्छ । विश्वको इतिहास र प्राचीन महाकाव्यहरू नरसंहार र युद्धकथाले भरिएका छन् । विश्वयुद्धले सन्त्रस्त कविका लागि पहिलेका युद्ध र तिनीहरूसँग सम्बद्ध पात्र पनि अभिघातीय लाग्छन् ।
               इन्द्र, अर्जुन, सिकन्दर,
               चन्द्रगुप्त, सीजर, दारयुस, नेपोलियन,
               अझ कति नाम छन्,
               इतिहासका पानामा अलमलिएका !
                           पृथ्वीनारायण, जङ्गबहादुर
                           यी बहादुर हुन् !
                           पूजा यिनका हुन्छन्,
                           रक्त अबिरले,
                           नरमुण्ड लावाले ।             (गणना : ७८—७९) ।                                                      
भूकम्पको अभिघात नेपालीहरूले भोग्नुपरेको अर्को ठुलो पीडा हो । वि. सं. १९९० सालमा गएको भूकम्पले धेरै जनधनको क्षति मात्र गरेन, त्यसले बाँच्नेहरूका अभिघात पनि दिएर गयो । त्यसको अनुभूतिले अझै पनि तर्साइरहन्छ ।
ठूलो भूकम्प गयो कहिल्यै,
त्यसका शेष लावाहरू निस्केर
धरतीको छातीमा फैलिएर बसे—
त्यस्तै बस्यो त्यो अनुहारमा
गाढा सन्तापका र सन्तापका रेखाहरू (एउटी अधबैँसेलाई देखेर : १०) ।
अभिघातसँग दुश्चिन्ता पनि जोडिएर आउँछ । विजय मल्लका कवितामा व्यक्त अभिघात मृत्युको चिन्तासँग सम्बन्धित छ । मानवीय जीवनमा मृत्यु नै सबैभन्दा ठुलो डर हो । युद्धको विभीषिका र भूकम्प जस्ता घटनाले मृ्त्युलाई नै आमन्त्रण गर्दछन् । कविले ठाउँ ठाउँमा मृत्युको चिन्ता प्रकट गरेका छन् । उदाहरणका रूपमा कविताका केही फाँकी तल प्रस्तुत गरिएको छ ।
म धरतीबाट टाढा छु,
जीवनीको गर्मीबाट दूर,
सूनसान र निर्जनतामा
एकान्त र एकलासमा । (कालो पर्दा तानेर : १५) ।
×××        ×××     ×××
एउटा गुलाफ ओइलाएर
ढल्दछ त्यहीँ सम्मुख ।
मृत्यु खित्काएर हाँस्दछ
अट्टहासमा गिजाएर (उर्वशी : १७) ।
×××        ×××     ×××
मेरा ओठमा तिमी छोऊ,
के मुर्दा गीतको लाश छैन त्यहाँ ? (मलाई नसोध : ४०) ।
×××        ×××     ×××
मृत्युले नमार्दै जित्दछ
मनुष्यलाई कुनै युद्धमा ! (यो मेरो उत्तरदायित्व : ४६) ।
×××        ×××     ×××
चारैतिर मसान छ, चीत्कार कोलाहल,
नैराश्य हुरी आएर आशादीप निभ्दछ पलपल ! (त्यो दिन कहिले आउला !? : ५९) ।
विजय मल्ल मनका कविभन्दा बुद्धिका कवि बढी हुन् । उनका कवितामा भावनाको खहरे सुसेलिँदैन, कल्पनाको गजपथ अनन्त क्षितिज टेकिँदैन र तिर्सनाको काकाकुल कल्पिँदैन । अवश्य नै उनका कतिपय कविता रागात्मक विषय स्पर्श गर्न खोज्छन्, तर ती पनि भावगन्धी मात्र छन् । भावज्वारको उत्ताल तरङ्गमा लहरिनुभन्दा बरु उनका कविता बढी विचार बोल्छन्, मानवीय अस्तित्वको सङ्कटप्रति चिन्ता बोल्छन् । सामाजिक, राजनीतिक एवं ऐतिहासिक चेत, युगबोध तथा अस्तित्ववादी जीवनदर्शन मल्लका कविता उभिने मूल भित्ति हुन् र तिनकै आडमा मानवीय जिजीविषा, मृत्युप्रतिको सन्त्रास एवं अभिघात अभिव्यञ्जित भएका छन् । 
प्रमुख सन्दर्भ सामग्री
फ्रायड, सिग्मन्ड (१९९६). अ जनरल इन्ट्रोडक्सन टु साइकोएनालिसिस. देवेन्द्र कुमार (हिन्दी अनु.), फ्रायड : मनोविश्लेषण. राजपाल एन्ड सन्ज ।
भण्डारी, कृष्णप्रसाद (२०६३). मनको रोग. साझा प्रकाशन ।
मल्ल, विजय (२०३६). विजय मल्लका कविता. (तेस्रो संस्क.). साझा प्रकाशन ।
शर्मा, बालचन्द्र (२००८). नेपालको ऐतिहासिक रूप–रेखा, कृष्णकुमारी ।
Luckhurst, Roger (2006). Mixing memory and desire: Psychoanalysis, dsychology, and trauma theory. In  Paticia Waugh (ed.), Literary theory and criticism: An oxford guide (pp. 497-507). Oxford University Press.
Trachtenberg, Alan (2004). Intellectual background. In Danial Hoffman (ed.), Harvard guide to contemporary American writing (pp. 1-50). Oxford University Press.
Wolfreys, Julian (2002). Trauma, testimony, criticism: Witnessing, memory and responsibility. In Julian Wolfreys (ed.), Introducing criticism at the 21st century (pp. 126-148). Rawat Publications.



तपाईंको संदेश : क्रिया - प्रतिक्रिया