Wednesday, April 15, 2020

४. मनोविश्लेषणात्मक पात्रविश्लेषणको स्वरूप : सन्दर्भमा “लछमनियाको गौना” कथा


मनोविश्लेषणात्मक पात्रविश्लेषणको स्वरूप :
सन्दर्भमा “लछमनियाको गौना” कथा
– डा. दुर्गाबहादुर घर्ती

कथा आख्यान विधाको एउटा उपविधा भएकाले यसमा आख्यान वा कथातत्त्व हुन्छ । आख्यान घटनाहरूको शृङ्खला हो । कथाको घटना क्रियात्मक रूप हो र त्यो कुनै व्यक्तिको क्रियाकलापबाट घटित हुन्छ । आख्यानको घटना सञ्चालित गर्ने व्यक्तिलाई पात्र वा चरित्र भनिन्छ । पात्र व्यक्तिको अनुकृति भएकाले आख्यानका पात्र कति प्रकारका हुन्छन् भन्नु र व्यक्ति कति प्रकारका हुन्छन् भन्नु उस्तै कुरा हो । हरेक मान्छेका आआफ्नै किसिमका इच्छा, आकाङ्क्षा, सङ्कट, अभिरुचि, स्वभाव, आचरण एवं विचार हुन्छन् । त्यसैले व्यक्तिलाई निश्चित ढङ्गमा परिभाषित र विभाजन गर्न कठिन छ । सापेक्षता, सन्दर्भ, विश्वदृष्टि आदि विविध आधारमा एउटै व्यक्ति भिन्न भिन्न कोटिमा विभाजित हुन सक्छ भने कुनै मापदण्ड विशेषका आधारमा धेरै व्यक्तिहरूलाई एउटै कोटिअन्तर्गत राखेर पनि हेर्न सकिन्छ । मानवीय व्यक्तित्वको अध्ययनका दृष्टिले मनोविश्लेषणलाई पनि एउटा प्रमुख आधार मान्न सकिन्छ । सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित एवं उत्तरवर्ती मनोविश्लेषकहरूद्वारा परिमार्जित, परिवर्धित एवं संशोधित यस सिद्धान्तका मानवीय व्यक्तित्वसम्बन्धी स्पष्ट आधारहरू छन् । व्यक्तित्व विकासको पूर्व इतिहास, व्यक्तित्वमा प्रभाव पार्ने अन्तर्बाह्य कारण, व्यक्तिका आचरण र व्यवहार, उसका सामाजिक, कायिक एवं मानसिक स्थिति आदि यस सिद्धान्तका व्यक्तित्व अध्ययनका प्रमुख आधार हुन् । यस आधारमा व्यक्तिलाई मूलतः सामान्य र असामान्य गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । व्यक्तिको सामान्यता र असामान्यता व्यक्तिको व्यवहार, प्रकृति, समायोजन, अभिवृत्ति, व्यक्तित्व, संवेगात्मक परिपक्वता, मानसिक अन्तर्द्बन्द्ब र मानसिक अवस्थाका आधारमा निर्धारण गर्न सकिन्छ । यीमध्ये कुनै एक वा एकभन्दा बढी अभिलक्षणहरू व्यक्तित्व निर्धारणका कारक हुन सक्छन् । यिनै आधारमा यस लेखमा सनत रेग्मीको “लछमनियाको गौना” (२०५१) कथासङ्ग्रहको लछमनियाको गौना कथाको पात्रविश्लेषण गरिएको छ ।
प्रस्तुत कथासङ्ग्रहमा एक दर्जन कथाहरू समेटिएका छन् र “लछमनियाको गौना” यस सङ्ग्रहको पहिलो कथा हो । यस सङ्ग्रहभित्रका एक एक आञ्चलिक कथाहरूले पश्चिम तराईको एक एक जीवनको यथार्थ उद्घाटित गरेका छन् । यी कथाहरूले पाठकलाई नेपालगन्जका बजार, चोक र गल्लीहरू हुँदै रापती नदीको सेरोफेरोमा पर्ने तराईका गाउँ–बस्तीहरूमा पुर्‍याउँछन् र त्यहीँका जनजीवन, बोलीचाली, वेशभूषा, चालचलन र रीतिस्थिति अनि परिवेशलाई सजीव रूपमा परिचित गराउँछन् । कथाहरू सतही, स्थूल र बाह्य चित्रणमा भन्दा गहन, सूक्ष्म र आन्तरिक यथार्थको उद्घाटनतर्फ केन्द्रित छन् । यस सङ्ग्र्र्रहभित्रका कतिपय कथाहरू मान्छेका अन्तर्तहमा रहने गूढतम रहस्यलाई उजागार गर्न सफल छन् । यस दृष्टिले “लछमनियाको गौना” कथा उल्लेखनीय छ ।
प्रस्तुत कथामा लछमनिया, लछमनियाकी आमा, चन्दा भौजी, पण्डिताइन चाची, रतनी, सुगवा, सुरसतिया, बडघर बहू, नारीपात्रका रूपमा र लछमनियाको बाबु बुद्धू तेली, गङ्गापुरवाला युवक, रामपुरवाला युवक, राजवल्लभ पाँडे, प्रधान पुरुषपात्रका रूपमा देखापर्दछन् । यी विभिन्न पात्रहरूमध्ये लछमनियको सर्वाधिक महत्त्वपूर्ण भूमिका रहेको छ । वास्तवमा यो लछमनिया नामकी एउटी नारी पात्रको कथा हो । लछमनिया यस कथामा केन्द्रीय धुरी भएर आएकी छ र उसकै मियोमा सिङ्गो कथा घुमेको छ । मनोविश्लेषणात्मक अध्ययनका दृष्टिले लछमनिया उल्लेखनीय रहेकी छ । लछमनियाको चित्तवृत्ति फ्रायडका सिद्धान्तको सत्यापन हो पनि (बराल‚ ईश्वर ३६५) । छोरीको बिहे गरिदिए पनि छोरीको पतिलाई घरजुवाइँ बनाएर आफ्नै घरमा राखी छोरीलाई आफूसँगै राख्न चाहने बुद्धू तेलीको इच्छालाई पितृरति ग्रन्थिका आधारमा हेर्न सकिन्छ, तर मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले लछमनिया नै महत्त्वपूर्ण देखापर्दछे । त्यसैले प्रस्तुत लेख लछमनियाको मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ ।
१. व्यवहारका आधारमा
व्यवहारका आधारमा पात्रलाई सुसङ्गत र असङ्गत गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । असामान्य पात्रका व्यवहार असङ्गत प्रकारको हुन्छ । उसको व्यवहार परिस्थितिअनुकूल नहुनुका साथै वास्तविकतामा आधारित हुँदैन । सामान्य पात्रको व्यवहार सुसङ्गत प्रकारको हुन्छ । उसको व्यवहार सामाजिक वातावरण, समय र परिस्थितिअनुकूल हुन्छ ।
लछमनियाको व्यवहार अनौठो र विलक्षण प्रकारको देखिन्छ । लछमनिया चार पाँच वर्षकी हुँदा सीमापारीको गङ्गापुरवालासँग विवाह भएको थियो । बुद्धू तेलीका लछमनिया बाहेक अरू सन्तान नभएको र उसकी पत्नी पनि अन्धी भएकाले उसले लछमनियालाई गौना गरेर पठाउन चाहेको छैन । बरु गङ्गापुरवालालाई आफ्नो सम्पत्ति दिएर घरजुवाइँ राख्न चाहेको छ, तर गङ्गापुरवाला पढेलेखेको र आफ्नो इलाकाको हुनेखाने भएकाले घरजुवाइँ बस्न मानिरहेको छैन । लछमनियाको बाबु गौना दिन नमान्ने र गङ्गापुरवाला घरजुवाइँ बस्न नमान्ने परिस्थितिका कारण लछमनियाको भविष्य अनिश्चित भएको छ । अझ गङ्गापुरवालाले गौना दिँदैनन् भने अर्को बिहे गर्छु भनेर धम्की दिएको छ । लछमनिया जवान भइसके पनि गौनाको अनिश्चितताले गर्दा ऊ चिन्ताग्रस्त हुन पुगेकी छ । त्यसै कारणले गर्दा उसका व्यवहारमा विचलन देखापर्दछ ।
चैत मासको बिहानीपख लछमनिया निद्राबाट बिउँझिएको घटनाबाट प्रस्तुत कथाको आरम्भ भएको छ । उसले सपनामा खेतमा घाँस काट्न जाँदा गङ्गापुरवालासँग भेट भएको, ऊ चन्दा भौजीले वर्णन गरेजस्तै रूपको भएको र बुद्धू तेलीको घर सोध्दै आएको, लछमनियाले बुद्धू तेलीको घर देखाइदिएकी, बुद्धू तेलीले उसलाई घरजुवाइँ बस्न कर गरिरहेको र उसले गौना दिन कर गरिरहेको, लछमनिया उनीहरूको कुरा सुन्नमा भन्दा पनि गङ्गापुरवाला युवकलाई लुकेर हेर्दै उसको सौन्दर्यपान गरिरहेको बेलामा आमाको कचकचले उसको निद्रा खुल्दछ । बिउँझिँदा उसलाई नरमाइलो लाग्दछ । बिहानीपखको सपना साँचो हुन्छ भन्छन्, उसले देखेको सपना साँचो होला कि नहोला, साँचो भइदिए कति मजा हुन्थ्यो भन्ने एकोहोरो सोचाइमा ऊ डुब्दछे । सोच्दासोच्दै ऊ कल्पनामा हराउन पुग्छे । गङ्गापुरवालाको कल्पनामा मस्त भएर हिँडिरहेकी लछमनिया गाउँभित्र पस्नासाथ पण्डिताइन चाचीसँग ठोक्किन पुग्दछे । उसको ठक्करले पण्डिताइन चाची सडकमा पछारिन्छे र उसको हातको पानी पण्डिताइनको शरीरभरि पोखिन्छ ।
लछमनियाले अनौठा अनौठा सपना देख्छे । “लछमनिया रातभरि सपना देख्छे र दिनभरि त्यही सपना सम्झेर रुने–हाँस्ने गर्छे” (रेग्मी ७) । लछमनिया मध्यरातसम्म निदाउन सक्तिन । मन अशान्त भएपछि मान्छे शान्तसँग निदाउन सक्ने कुरै भएन । त्यसैले रात कहिल्यै नसिद्धिनेजस्तो लामो र कष्टकर लाग्ने हुन्छ । कोइलीको कुँजनले उसको व्यथालाई झन् उद्दीप्त गरिदिन्छ । ऊ रात काट्न गीत गुनगुनाउन थाल्छे– “हरे रामा, पन्छी देई दे मोर गवनवा रे हरि” (८) । मध्यरातको नीरवतामा स्वतः निस्केको यस गीतमा उसको विरहव्यथा अभिव्यक्त भएको छ । त्यो मर्मलाई बुद्धू तेलीले पनि बुझेको छ र गौना दिएर पठाइदिने निर्णयमा पुगेको छ, तर बाबुको त्यो विचारलाई लछमनियाले बुझ्न सकेकी छैन । बिहानको सपना साँचो हुन्छ भन्ने धारणाले आशावादी भएकी लछमनिया घाँस खुर्कन दक्षिणतर्फको सिवान नजिकैको अढरीबारीमा जान्छे । गङ्गापुरवाला त्यही बाटो भएर आउँछ कि भन्ने आशामा दक्षिणतर्फबाट गाउँ पस्ने बाटामा बारम्बार हेरिरहन्छे । एक छैँटी घाँस खुर्किसक्दा पनि गङ्गापुरवाला नआएको हुनाले उसको आशा सेलाउँछ र आफ्ना इच्छा खोलेर, सम्झाएर चन्दा भौजीसँग चिठी पठाउने विचार गर्छे । घर फर्कने तरखरमा लागेका बेला उसले सपनामा देखिने गङ्गापुरवालाजस्तै युवकलाई गाउँतिरबाट साइकलमा आइरहेको देख्छे र  अधीर भएर त्यसलाई आफै बोलाउँछे । उसले त्यस युवकलाई आफ्ना सारा कुरा सुनाउँछे । उसको सम्पूर्ण परिस्थिति बुझिसकेपछि ख्यालख्यालमै लछमनियालाई पनि पाउन सकिने र लछमनियाको बाबुको सम्पत्ति पनि हात पार्न सकिने देखेर त्यो युवक झुटो बोलेर लछमनियालाई विश्वस्त पार्दै जान्छ र अन्ततः लछमनिया सारा कुरा भुलेर रामपुरवाला युवकको पछि लाग्दछे । उसको त्यसरी गौना हुन्छ ।
यसप्रकार लछमनियाको व्यवहार असङ्गत प्रकारको देखिन्छ । उसका क्रियाकलाप वास्तविक कुरामा भन्दा भावुकता र अवास्तविक कुरामा आधारित छन् । ऊ सामाजिक वातावरण, समय र परिस्थिति अनुरूप चल्न सकेकी छैन । यस आधारमा ऊ असामान्य पात्रका रूपमा देखापर्दछे ।
२. प्रकृतिका आधारमा
प्रकृति वा स्वभावका आधारमा पात्र सहज र जटिल प्रकारको हुन्छ । सामान्य पात्रको प्रकृति वा स्वभाव प्रासङ्गिक, नियमित, सन्तुलित हुने भएकाले सहज किसिमको हुन्छ । असामान्य पात्र चिन्तन, भाव र क्रियामा प्रासङ्गिकता, नियमितता, एकरूपता, स्थिरता, सङ्गति, सन्तुलन र समन्वय नहुने भएकाले जटिल प्रकारको हुन्छ ।
प्रस्तुत कथामा लछमनियाको चिन्तन, भाव, विचार र क्रियाकलाप सुसङ्गत प्रकारको छैन । उसले जुन किसिमको चिन्ता गरेकी छ, त्यो वास्तविकतामा आधारित छैन । उसले परिस्थितिलाई मनोगत रूपमा लिएकी छ । उसको बाबुले गौना नदिने र गङ्गापुरवालाले अर्को बिहे गर्ने निर्णय गरिसकेका छैनन् । बरु उसका बाबुले गौना दिने निर्णय गरेको र गङ्गापुरवालाले गौना दिन भनेको छ । लछमनिया आफ्नै धारणाको अधीन भएर उद्वीग्न भएकी छ । ऊ अनौठा अनौठा प्रकारको सपना देख्छे, सपनाको कुरा सम्झेर एक्लै रुने र हाँस्ने गर्छे, आफूसँग सानैमा बिहे भएको तर धेरै वर्षसम्म भेट हुन नसकेको पुरुषको सम्झनाले विचित्र किसिमको अनुभूति गर्छे, बाटोमा हिँडेका मान्छेसँग नराम्ररी ठोक्किन पुग्छे, मध्यरातसम्म ननिदाएर विरहका भाका अलाप्छे, चिन्दै नचिनेको मान्छेसँग आफै भ्रममा परेर पोइल जान्छे । उसका यस्ता असङ्गत र विलक्षण किसिमका क्रियाकलापले गर्दा ऊ जटिल प्रकारको देखापर्दछे ।   
३. समायोजनका आधारमा
समायोजनका आधारमा पात्र समायोजित र असमायोजित हुन्छ । सामान्य पात्र सामाजिक वातावरण एवं आन्तरिक आवश्यकताहरूसँग अनुकूल सामञ्जस्य गर्न सक्ने भएकाले ऊ समायोजित हुन्छ भने असामान्य पात्रले त्यसप्रकारले अनुकूल हुन नसक्ने भएकाले ऊ असमायोजित हुन्छ ।
लछमनियाको गौना कथामा लछमनियाले सामाजिक वातावरण एवं आन्तरिक आवश्यकताहरूसँग अनुकूल सामञ्जस्य कायम गर्न सकेको देखिँदैन । उसले आफूले भोग्नुपरेको परिस्थितिको आकलन पनि राम्ररी गर्न सकेकी छैन । उसको गौनाका बारेमा उसका बाबु र गङ्गापुरवालाको वास्तविक विचार के छ भन्ने कुराको उसले बुझ्ने प्रयास नै गरेकी छैन । गङ्गापुरवालासँग गौना हुन सकेन भने भविष्यमा के गर्ने भन्ने बारेमा उसले सोच्नै सकेकी छैन । ऊ त दुःखद परिस्थितिको सम्भावनाबाट त्यसै अत्तालिएकी छ र मनोगत रूपमा नै निर्णय गरेकी छ । त्यसैगरी उसले आफ्नो आन्तरिक आवश्यकतासँग पनि अनुकूल समायोजन गर्न नसकेको देखिन्छ । ऊ रातदिन मनोगत कुरामा चिन्तनरत रहन्छे । उसले गौना र आन्तरिक इच्छाका बारेमा बाहेक अरू कुरातर्फ ध्यान दिनै सकेकी छैन । उदात्तीकरण, विस्थापन, क्षतिपूर्ति आदि विभिन्न प्रकारका मनोरचनाहरूद्वारा अचेतनका इच्छाहरूको निरावेशन वा निराकरण हुन सक्छ, तर लछमनियामा त्यसो हुन सकेको छैन । त्यसैले ऊ असामान्य बन्न पुगेकी छ ।  
४. अभिवृत्तिका आधारमा
अभिवृत्तिका आधारमा पात्र बहिर्मुखी र अन्तर्मुखी हुन्छ । सामान्य पात्र समाज र बाह्य वातावरणलाई बढी महत्त्व दिने र सामाजिक हित, नैतिकता, मर्यादा, अनुशासनतर्फ लाग्ने भएकाले ऊ बहिर्मुखी प्रकारको हुन्छ । आफैलाई बढी महत्त्व दिएर आफ्नै बारेमा मात्र चिन्तनरत रहने अन्तर्मुखी पात्र असामान्य पात्र हो ।
प्रस्तुत कथाकी लछमनिया अन्तर्मुखी प्रकारकी देखापर्दछे । उसले बाह्य परिस्थितिलाई आफ्नै ढङ्गमा लिएकी छ । सामाजिक मर्यादा, प्रचलित नैतिकता र पारिवारिक परिस्थितिका बारेमा उसले सोच्नै सकेकी छैन । उसले केवल आफूलाई महत्त्व दिएकी छ र आफ्नै सुखका बारेमा चिन्तित रहेकी छ । उसका घरमा उसकी आमा आँखा नदेख्ने अन्धी छ, भाइबहिनी कोही पनि छैनन्, बाबुको सहारा अरू कोही पनि छैनन् भन्ने कुरातर्फ उसको ध्यान गएको छैन । ऊ आफ्नो सुखका निम्ति मात्र छटपटिएकी छ । उसलाई अरूको पर्वाह छैन । त्यही भएर उसले “बाबा गौना दिन नमान्ने, ऊचाहिँ यहाँ घरजुवाइँ बस्न नमान्ने । सम्धी–सम्धीका झगडामा मेरो जवानी त्यसै खेर गइरहेछ । हे वागीश्वरी मइया, बाबाको मति फिराइदेऊ । तिम्रा मन्दिरमा प्रसाद चढाउँला, कथा गरौँला” (६) भनेर मनमनै गुन्दछे । उसको विरहका भाका सुनेर उसकी आमाको हृदय पनि आद्र्र हुन्छ र उसले लछमनियालाई भनेकी छ– “हँ रे, लछमनिया, तेरा बाबा बडो निठुर छन्, तेरो गौना गरिदिन्नन् । के गर्ने, तेरो व्याह पनि त उता अङ्ग्रेजी भयो । यहाँको कानून उनीहरूलाई नलाग्ने, उनीहरू यहाँ आउन नमान्ने” (६) । लछमनियाले आफ्नो व्यथा आफ्नी आमालाई पनि भन्दिन । त्यसो त उसले आफ्ना सँगिनीहरू पनि आफ्ना कुरा भन्दिन । आफ्ना कुरा कसैसँग व्यक्त नगर्ने र आफ्नै भाव, विचार र चिन्तनमा निमग्न रहने लछमनिया अन्तर्मुखी पात्र हो ।
५. व्यक्तित्वका आधारमा
व्यक्तित्वका आधारमा पात्र सन्तुलित र असन्तुलित हुन्छ । असामान्य पात्रमा ज्ञानात्मक, क्रियात्मक एवं भावात्मक पक्षहरूमा कुनै सन्तुलत पाइँदैन । इदम्, अहम् र पराहम्‌बिच, हीनता ग्रन्थि र उच्चता ग्रन्थिबिच, नारीपन र पुरुषपनबिच, बहिर्मुखी र अन्तर्मुखी अभिवृत्तिबिच सन्तुलन नहुने भएकाले असामान्य पात्र असन्तुलित हुन्छ । सामान्य पात्रको व्यक्तित्व सन्तुलित हुन्छ ।
लछमनियाको व्यक्तित्व सन्तुलित देखापर्दैन । ऊ मूलतः अचेतनका इच्छाद्वारा परिचालित छे । बिहानैदेखि दिनभरिजसो काम गर्नुबाहेक उसको कुनै ठूलो चिन्तन छैन, चेतना छैन र उसले त्यसप्रकारको संस्कार पनि पाएकी छैन । उसमा इदम्का इच्छाहरूलाई नियन्त्रण गर्न सक्ने पराहम्को विकास हुन सकेको छैन । त्यसैले उसभित्र इदम्का इच्छाहरू स्वच्छन्द रूपमा चलमलाइरहेका छन् र स्वाभाविक निकासका लागि प्रयत्नरत छन् । त्यसैको प्रेरणाले लछमनिया बिथोलिएकी छ र उसको चालचलन, उसको सोचाइ र व्यवहारमा परिवर्तन देखा पर्न थालेको छ । उसको कामेषणाको आगो यसरी दन्केको छ कि उसलाई त्यसको राप असह्य हुन थालेको छ । ऊ अब गङ्गापुरवाला र गौनाबाहेक अरू सोच्नै सक्तिन । आँखा नदेख्ने आमा र बूढो बाबुको आफू मात्र सहारा भएको कुरालाई बुझेर पनि उसले आफ्नो मनलाई धैर्य गराउन सकेकी छैन । महुवा बिन्दाबिन्दै आफ्नो गौना हुन नसकेको परिस्थितिलाई सम्झँदै उसले मनमनै सम्धी सम्धीको झगडामा मेरो जवानी त्यसै खेर गइरहेछ भन्ने सोच्दछे र वागीश्वरी मइयासँग गौना गराइदिन पुकारा पनि गर्दछे । सोचाइ र विचारका आधारमा लछमनिया अचेतनको प्रेरणाले ग्रस्त देखिन्छे । अचेतन सधैँ शैशविक किसिमको, आदिम र पशुप्रवृत्तिको हुने हुनाले अविवेकी र सुखसिद्धान्तबाट शासित हुन्छ (बराल के. सी. २६) । उसका मुखबाट निस्कने गीतहरूमा पनि त्यही प्रकारको छटपटी, आतुरता र पीडा प्रकट भएको पाइन्छ ।
चैतको याम त्यसै पनि उराठ लाग्दो हुन्छ, मनभरि प्रणयजन्य रिक्तताभास र अभावबोध पालेर बाँच्नेहरूका लागि झन् दिक्क लाग्दो हुन सक्छ । थरीथरीका भावनाहरू जन्मिरहने, मन त्यसैत्यसै उडिरहने गर्नु पनि यस यामका उपादान हुन् । लछमनिया पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेकी छ । रातिको सपना र गङ्गापुरवालाका सम्बन्धमा विभिन्न तर्कनाहरू गर्दै स्नानादि कर्म सकेपछि किनारमा उभिएर लछमनिया नदीतर्फ हेर्दै गर्दा उसमा ऊ आफूलाई भित्रभित्रै खहरे भएझैँ हुने, सर्वाङ्ग सिरिङ्गसिरिङ्ग हुन थाल्ने र हातगोडा बटारिने, जीउ तन्किने, अनि थरथर काम्ने लक्षण देखिन्छ । स्पष्टै छ– उसमा राग (लिबिडो) अत्यन्त प्रबल भएर आएको छ र ज्वालामुखी फुटाउन खोज्ने लाभाहरू भित्रभित्रै तीव्र गतिमा सलबलाउँदा ऊ आफैँमा थर्कन्छे, कम्पित हुन्छे । अचेतनका दमित इच्छाहरू स्वाभाविक रूपमा पूरा हुन नसकेपछि तिनले सन्तुष्टिका भिन्न बाटाहरू खोज्छन् । त्यस्ता इच्छाहरू अप्रत्यक्ष रूपमा मान्छेका अनौठा गतिविधि र दैहिक प्रतिक्रियाका रूपमा देखा पर्छन् । यस्तो प्रक्रियालाई लक्षण भनिन्छ र लक्षण पूरा हुन नसकेका इच्छाहरूको स्थानापन्न हो (फ्रायड‚ एन इन्ट्रोडक्सन” २७१) । यो प्रक्रिया अचेतन स्तरमै हुने हुँदा व्यक्तिले बुझ्न सक्दैन । लछमनियाले पनि बुझ्न सकेकी छैन । त्यसैले उसले ‘बरम राकस’ ले समातेको हो कि भन्ठान्छे ।
राकस अर्थात् राक्षस मान्छेले परापूर्वकालदेखि नै बुझ्दै आएको बिम्ब हो । यसलाई विद्रूप, अन्धकार र विनाशको प्रतितिधित्व गर्ने आद्यप्ररूप (आर्किटाइप) मानिन्छ (फ्री ४२९) । युङ्गका अनुसार आद्यप्ररूप ‘वंशानुगत आकृति’ हो जुन एक पिँढीबाट अर्को पिँढीमा आफैँ सर्दै आएको हुन्छ (गुइरिन तथा अन्य १७८) । मान्छेका अचेतनमा आदिम स्मृतिहरू रहेका हुन्छन् र त्यस्ता स्मृतिहरू एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने हुनाले सदा जीवित रहन्छन् । पूर्वजहरूको अनुभव, स्मृति र बिम्बहरू सञ्चित रहने हुनाले यस प्रकारको मनको तहलाई सामूहिक अचेतन भनिन्छ (युङ्ग २१५) । यस्ता आद्यप्ररूप वा आद्यबिम्ब (प्राइमोर्डियल इमेज) हरू वंशानुगत रूपमा प्राप्त स्मृतिचिह्नबाट अचेतनमै बुझिन्छन् । लछमनियाले राकसको अस्तित्वलाई स्वतः बुझेकी छ । अनि त्यो राकस रसिया छ र गाउँका तरुनी छोरीबुहारीहरूलाई खोजीखोजी समाउँछ भन्ने मिथक पनि सम्झेकी छ । आद्यप्ररूप अचेतन स्वरूपको हुन्छ, मिथकको माध्यमबाट व्यक्त भएर चेतन मनसँग जोडिन पुग्दछ (गुइरिन तथा अन्य १७९) । अचेतनले मात्र बुझ्ने राकसको अमूर्त आकृति मिथकमा व्यक्त भएपछि लछमनियाको चेतन विचारमा त्यसले स्पष्ट आकार लिन खोज्छ । उसले मोटोमोटो भयानक राकसले आफ्ना बलिष्ठ बाहुमा च्यापेको कल्पना गर्दै भयमिश्रित आनन्दको अनुभव गर्छे । लछमनिया विपरीतलिङ्गी आलम्बनको तृष्णाले अत्यन्त आक्रान्त रहेकी र राकसको मिथकले उद्दीप्त भएकी तर समाधानको केही उपाय नहुँदा पुरुष अर्थात् राकसको बलिष्ठ बाहुले आफूलाई च्यापेको भयमिश्रित आनन्ददायक कल्पना गरेर रससिक्त हुँदै “ऊ ...मा जल भरेर घरतर्फ हिँड्छे” (रेग्मी ४) । कल्पना इच्छापूर्तिको माध्यम हो । वास्तविकता रूपमा पूरा हुन नसकेका इच्छाहरूले कल्पनाका माध्यमबाट सन्तुष्टि लिन्छन् ।
अचेतनका प्रेरणाहरूद्वारा अत्यन्त प्रभावित लछमनिया रातिमा सपना पनि त्यस्तै प्रकारको देख्ने गर्छे । “कहिले ऊ साँपैसाँप देख्छे, कहिले साँपले लखेटेको, कहिले नदीका ढिकमा ककरीका बोटहरूमा ककरी फुलेको देख्छे त कहिले ककरी टिपेर खाइरहेको । कहिले पीपलको रूखमा बस्ने बरम राकसले आफूलाई खेदेको देख्छे त कहिले अँठ्याएको । सपनामा त्यो गङ्गापुरवाला कहिले सुन्दर देखिन्छ त कहिलेकहिले दाह्रैदाह्रा भएको भयानक जीवका रूपमा” (७) । झट्ट हेर्दा यी सपनाहरू अनौठा र हास्यास्पद देखिन्छन् तर फ्रायडका स्वप्न–निर्वचन सिद्धान्तका आधारमा प्रतीकहरूलाई फुकाउँदै जाने हो भने ती सबै स्पष्ट र सार्थका देखा पर्दछन् । सर्प र ककरी पुरुष जननेन्द्रियका प्रतीक हुन् भने राकस र गङ्गापुरवाला पुरुष आकृति । सर्प र राकसले लखेटेको सपनामा मैथुनिक प्रयत्नको अर्थ निहित छ । पोथीलाई खेदीखेदी जितेर समागम गर्ने पाशविक प्रवृत्तिलाई सर्पले र शक्ति प्रयोगद्वारा स्त्रीमाथि अधिकार स्थापित गर्ने आदिम आसुरी प्रवृत्तिलाई राकसले प्रतितिनिधित्व गरेका छन् । स्वप्नविश्लेषणबाट लछमनियाको यौनेच्छा प्राकृतिक रूपमा पूर्ति हुन नसकेपछि त्यसले विकृत रूप धारण गरेको बुझिन्छ । उसको स्वप्नमा राकस जस्तो भयानक र बलिष्ठ पुरुषबाट यौनतृप्ति ईप्सित छ । ककरी टिपेर खाने क्रियामा यौन समागमको अर्थ स्वतः ज्ञापित छ । गङ्गापुरवालालाई सुन्दर देख्नु उसको अचेतनले खोजेको पुरुषको आकृति हो भने दाह्रैदाह्रा भएको भयानक जीवका रूपमा देख्नु उसका इच्छाहरूलाई, उसका परिस्थितिलाई वास्ता नगरिदिने पुरुषप्रतिको घृणाभाव हो । ककरीको फूलले स्त्री जननेन्द्रिय अझ विशेषगरी अक्षतयोनिलाई बुझाउँछ (फ्रायड‚ एन इन्ट्रोडक्सन” १४२–५२) । यी विभिन्न अथ्र्याइहरूबाट लछमनियाको यौनजीवन स्पष्ट हुन्छ ।
सपना अकारण र निरर्थक हुँदैन । लछमनियाको सपना पनि अकारण र निरर्थक छैन । फ्रायडका अनुसार प्रत्येक सपनाले इच्छापूर्तिको प्रतिनिधित्व गर्दछ (जोन्स २३०) । मान्छेका असीमित इच्छाहरू सहज रूपमा पूर्ति हुन सक्तैनन् । यथार्थमा पूर्ति हुन नसकेका इच्छाहरू स्वप्नका माध्यमबाट प्रकट हुन्छन् । इच्छापूर्ति स्वप्नको मुख्य विशेषता हो (फ्रायड‚ एन इन्ट्रोडक्सन” ११९) । बुद्धू तेली बुढेसकालको एक मात्र सहाराका रूपमा रहेकी छोरीलाई गौना दिएर पठाउनुभन्दा घरजुवाइँ राख्न चाहन्छ, तर आफ्नो इलाकामा हुनेखाने र पढेलेखेको गङ्गापुरवालाचाहिँ घरजुवाइँ बस्न मान्दैन । बाबु गौना दिन नमान्ने, गङ्गापुरवाला घरजुवाइँ बस्न नमान्ने, यही द्वन्द्वको चेपमा लछमनिया परेकी छ । यौवनको चाहनाले अत्यन्त छटपटिएकी लछमनियाको व्यथा न उसको बाबुले बुझिदिन्छ न गङ्गापुरवालाले । वास्तविक रूपमा उसको चाहना पूरा हुन नसकेपछि स्वप्नका माध्यमबाट उसको इच्छापूर्ति भएको छ । गङ्गापुरवाला गौना माग्न आएको र लछमनियाको बाबुले गौना दिन मन्जुर गरेको सपना देख्नु इच्छापूर्ति नै हो । उसका अचेतनका इच्छाहरूले स्वप्नका माध्यमबाट अभिव्यक्ति पाउने हुँदा सपना सुखकर र रमाइलो लाग्ने गरे पनि ब्यूँझदा भने ऊ त्यही अत्यासलाग्दो नीरस यथार्थबाहेक अरू केही पाउँदिन । त्यसैले उसलाई निद्रा खुल्दा नरमाइलो र थकथकी लाग्छ । फ्रायड सपनाले दमित इच्छाको प्रतिनिधित्व गर्छ भन्ने कुरामा विश्वास गर्छन् भने अल्फ्रेड एडलर सपनालाई भविष्यमा घटित हुने क्रियाको अग्रछाया मान्दछन् । कार्ल गुस्ताभ युङ्ग ती दुवै व्याख्यालाई स्वीकार गरे पनि वस्तुतः उनको झुकाउ एडलरको व्याख्यातर्फ छ र उनी सपनालाई भविष्यसूचक पूर्वाभास मान्दछन् (वोल्म्यान ३०४) । लछमनियाले सपनामा देखेको युवक गङ्गापुरवाला थिएन तर सपनामा देखेको जस्तो स्वरूप भएको युवकसँग उसको अनपेक्षित रूपमा गौना भएको छ र सपना साँचो भएको छ ।
रातिको सपना लछमनियाको स्मृतिबाट हट्न सक्तैन । उसको बाबु गङ्गापुरवालालाई गौना दिन मन्जुर भएको सपनाले ऊ झन् बिथोलिन्छे । बिहानीपखको सपना साँचो हुन्छ भन्छन्, उसले देखेको सपना साँचो होला कि नहोला, साँचो भइदिए कति मजा हुन्थ्यो भन्ने एकोहोरो सोचाइमा ऊ डुब्दछे । सोच्दासोच्दै ऊ कल्पनामा हराउन पुग्छे– “गौना गराएर गङ्गापुरवाला उसलाई डोलीमा लिएर गाउँका सिवानका सडकसम्म लान्छ । त्यसपछि टाँगामा चढेर उनीहरू सहर पुग्छन् । सहरपछि नेपाली राज्यका सिमानापारि जान्छन् । गाडीमा ऊ गङ्गापुरवालासँग ढेपिएर बस्छे । गङ्गापुरवाला ऊतिर हेरेर मुसुक्क हाँस्छ” (रेग्मी ४) । वास्तवमा यो उसको स्वैरकल्पना (फेन्टासी) हो, दिवास्वप्न हो । दिवास्वप्न पनि इच्छापूर्ति नै हो (फ्रायड, “क्रियटिभ” ७१४) । दिवास्वप्नमा हराएर हिँडिरहेकी लछमनिया बाटामा हिँडेका मान्छेलाई पनि देख्दिन र पण्डिताइन चाचीसँग ठक्कर खान पुग्छे ।
लछमनिया सधैँ जाने पूर्वतिरको सीवान छोडेर बिहानपख देखेको सपना साँचो होला र गङ्गापुरवालासँग प्रत्यक्ष भेट होला भन्ने आशामा गाउँको दक्षिण सीवान नजिकैको अढरीबारीका आलीमा घाँस खुर्कन जान्छे । पतिको घर दक्षिणतर्फ पर्ने हुनाले र आउने बाटो पनि त्यतै पर्ने हुनाले ऊ स्वतः त्यसतर्फ खिचिएकी छ, उसको रागले त्यतै डो¥याएको छ । राग प्रेरणाहरूको ऊर्जा हो (वुडवर्थ २६७) । गङ्गापुरवाला आइहाल्छ कि भनेर दक्षिणतर्फबाट गाउँ पस्ने बाटामा बारम्बार हेरिरहेकी लछमनियाले एक छैँटी घाँस खुर्किसक्दा पनि नआएको हुनाले उसको मिथ्या आशा सेलाउँछ र उसको चेतना जागृत भएपछि उसलाई “म बहुलाउन त थालिन ?” (रेग्मी ९) भन्ने लाग्छ । सपना पनि साँचो हुँदैन र गङ्गापुरवाला पनि आउँदैन भन्ने निष्कर्षमा पुगिसकेपछि ऊ गङ्गापुरवालालाई आमाबाबु, घरको परिस्थिति र आफ्नो इच्छा सबै खोलेर, सम्झाएर चिठी पठाउने विचार गर्छे । ऊ घर फर्कने तरखरमा लागेको बेला उसले एउटा युवकलाई गाउँतिरबाट साइकलमा आइरहेको देख्छे । सपनामा देखिने आकृतिसँग मिल्दोजुल्दो भएकाले ऊ अचेतनका इच्छाहरूको प्रेरणावश त्यस युवकतर्फ स्वतः नै आकर्षित हुन्छे । अनि त्यो युवक गङ्गापुरवाला नै हो र ऊ आफ्नो बाबुसँग कुरा गरेर फर्केको भन्ने मिथ्या विश्वास पनि लछमनियालाई लाग्दछ । त्यो युवक लछमनियालाई नचिनेझैँ गरेर अघि बढेपछि उसको अचेनका इच्छालाई मिलनको त्यो अवसर गुम्न आँटेको सह्य हुँदैन र ऊ अधीर भएर अनायास बोलाउन पुग्छे । एकान्त स्थलमा जवान युवतीले त्यसरी सम्बोधन गर्दा त्यो युवक पनि आकर्षित नभइरहन सक्तैन । लछमनियाको अचेतनले त्यस युवकलाई गुमाउन नचाहने र चेतनलाई त्यस्तो कार्य स्वीकार्य नहुने हुँदा चेतनलाई विश्वस्त पार्न अचेतनका प्रेरणावश उसबाट यस्ता प्रश्नहरू निस्कन्छन् कि उत्तर पनि त्यसैमा निहित हुन्छन् । जवाफ दिनेले हो वा होइन भनिदिए पुग्छ । त्यस युवकले पनि ठट्टैमा लछमनियाले खोजेजस्तै सकारात्मक उत्तर दिन्छ । लछमनियालाई त्यो युवक गङ्गापुरवाला नै हो भन्ने विश्वास भएपछि आफ्ना सारा वृत्तान्त सुनाउन थाल्छे । लछमनियाको सम्पूर्ण परिस्थिति बुझिसकेपछि ख्यालख्यालमै लछमनियालाई पनि पाउन सकिने र लछमनियाको बाबुको सम्पत्ति पनि हात पार्न सकिने देखेर ऊ झुटो बोलेर लछमनियालाई विश्वस्त पार्दै जान्छ, लछमनियाको बाबु गौना दिन मन्जुर नभएकाले अर्को विवाह गर्ने धम्की दिन्छ । इदम्का इच्छाले वशीभूत भएर गङ्गापुरवालालाई पाउने लालसामा तर्क र बुद्धि गुमाइसकेकी लछमनियाले उसको धुत्र्याइँ बुझ्न सक्तिन र ऊ सारा कुरा भुलेर रामपुरवालाको पछि लाग्दछे ।
यसप्रकार लछमनिया अचेतनका प्रेराणाद्वारा पूर्ण रूपमा परिचालित देखिन्छे । उसका इदम्को प्रेरणा कुनै वैकल्पिक उपाय अर्थात् मनोरचनाहरूद्वारा निरावेशित हुन सकेका छैनन् । उसमा कुनै नैतिक चेतना र कर्तव्यबोध पनि जागृत भएको पाइँदैन । त्यसैले उसमा इदम्का तुलनामा अहम् र पराहम् दुर्बल देखापर्दछ । अन्तर्मुखी र अचेतनका प्रेरणाद्वारा वशीभूत लछमनियाको व्यक्तित्व असन्तुलित छ ।
६. संवेगात्मक परिपक्वताका आधारमा
संवेगात्मक परिपक्वताका आधारमा पात्र परिपक्व र अपरिपक्व हुन्छ । सामान्य पात्रमा संवेगात्मक परिपक्वता पाइन्छ ।  विभिन्न प्रकारका संवेगहरूमाथि उसको पूर्ण नियन्त्रण रहेको हुन्छ र उसले उपयुक्त कारणबिना भय, प्रेम, ईर्ष्या, क्रोध इत्यादि संवेगहरूको प्रदर्शन गर्दैन । असामान्य पात्रमा संवेगात्मक परिपक्वता नहुने भएकाले उसले संवेगहरूमाथि नियन्त्रण कायम राख्न सक्तैन ।
लछमनियामा संवेगात्मक परिपक्वता पाइँदैन । गङ्गापुरवालासँग गौना हुन्छ कि हुँदैन भन्ने निश्चित भइसकेको छैन । राम्ररी कुरै नबुझी ऊ मनोगत रूपमा विचलित भएकी छ । ऊ रातिमा निदाउन सक्तिन, आमा बाबुको मर्मस्पर्श गर्ने खालको विरहव्यथा भरिएको राग अलाप्छे र दिनभर गौना हुन्छ कि हुँदैन भनेर चिन्तन गरिरहन्छे । ऊ त्यसरी आत्तिहाल्नुपर्ने वास्तविक परिस्थिति आएकै छैन । बरु उसको बाबुले गौना दिएर पठाउने निर्णय गरेको छ । त्यसैगरी धेरै वर्षअघि सानै छँदा एकपटक मात्र देखेको व्यक्तिलाई उसले अर्काले सुनाएको आधारमा त्यसको स्वरूपको कल्पना गर्छे, सपनामा देख्छे र प्रेम गर्छे । सपनामा देखेको पुरुष आकृतिलाई नै गङ्गापुरवाला ठानी वास्तविकतातर्फ आँखा चिम्लेर उसले आफूलाई समर्पित गर्दछे । उसले संवेगहरूमाथि नियन्त्रण कायम गर्न सकेकी छैन । ऊ सोचविचार नै नगरी आफूले चाहेको भन्दा अर्कै व्यक्तिसँग हिँडेकी छ । त्यसैले ऊ संवेगात्मक परिपक्वताका दृष्टिले अपरिपक्व पात्र हो ।
७. मानसिक अन्तर्द्बन्द्बका आधारमा
मानसिक अन्तर्द्बन्द्बका आधारमा पात्र अन्तर्द्बन्द्बरहित र अन्तर्द्बन्द्बग्रस्त हुन्छ । सामान्य पात्र अन्तर्द्बन्द्बरहित हुन्छ । ऊ समायोजित, सन्तुलित, संवेगात्मक परिपक्वताका दृष्टिले परिपक्व हुने हुँदा उसमा मानसिक अन्तर्द्बन्द्बको स्थिति रहँदैन । असमान्य पात्रमा विपरीत इच्छा, भाव, विचार र धारणाको द्वन्द्व हुने भएको हुँदा ऊ अन्तर्द्बन्द्बग्रस्त हुन्छ ।
लछमनिया किशोरावस्था पार गरेर उन्मादिलो यौवनमा प्रवेश गरिसकेकी छ । अवस्था अनुसारका स्वाभाविक, प्राकृतिक र जैविक किसिमका इच्छाहरू पनि उसभित्र विकसित भइसकेका छन् । बढ्दो उमेर सँगसँगै उसभित्र रहेका इच्छाहरू झन्झन् बलियो बनेर आउन थालेका छन् । ऊ तिनै इच्छाहरूद्वारा एकनास डसिएर, सताइएर छटपटिएकी छ । ऊ पतिबाट पाउने सुखलाई उदरतृप्ति जत्तिकै सहज ढङ्गले सोच्दछे । उसमा नैतिकता र अनैनिकता अर्थात् इदम् र पराहम्, जीवन–मूल प्रवृत्ति र मृत्यु–मूल प्रवृत्तिका बिच अन्तर्द्बन्द्ब नदेखिए पनि गौना हुन्छ कि हुँदैन भन्ने अन्तर्द्बन्द्बले ग्रस्त भएकी छ । अचेतनका दुर्दमनीय प्रेरणाद्वारा परिचालित भएकाले गङ्गापुरवालासँग गौना होस् भन्ने चाहन्छे तर चेतन विवेकले गौना हुने स्थिति नदेखेकाले ऊ गौना हुने र नहुने अनिश्चितताको भुमरीमा फँसेकी छ । त्यही भएर ऊ “के ऊ गौना गराउन आउला ?” (४) भन्ने आशंका गर्छे । अचेतनका इच्छाका कारण उसले सपनामा गङ्गापुरवाला गौना माग्न आएको देख्छे । बिउँछेपछि चेतन सक्रिय हुनाले उसलाई परिस्थितिको ज्ञान हुन्छ र उसलाई नरमाइलो लाग्छ । उसले देखेको सपना साँचो होला कि नहोला, गौना होला कि नहोला भन्ने अन्तर्द्बन्द्वका कारण ऊ कहिले बाटामा हिँडेका मान्छेसँग नराम्ररी ठोक्किन पुग्छे, कहिले आफू बहुलाएँ कि भन्ने लाग्छ । अझ कुनै कुनै बेला त सर्वाङ्ग सिरिङ्गसिरिङ्ग हुने, हातगोडा बटारिने, जीउ तन्किने र थरथर काम्ने जस्ता लक्षण पनि उसमा देखिन थालेका छन् । यो प्रबल इच्छा र इच्छापूर्ति हुन नसक्ने दुश्चिन्ताको परिणाम हो । रामपुरवाला युवकले अढरीबारीबाटै आफूसँग तत्काल हिँड्न प्रेरित गरेपछि “उसको प्रस्ताव सुनेर लछमनिया द्विविधामा पर्छे । ऊ के गर्ने के नगर्ने निर्णय गर्न सक्तिन” (१३) । एकपटक उसले आफ्नो बाबु, बाबुको भावना सम्झन्छेर उसलाई मर्यादाबोध हुन्छ । इदम्को प्रेरणाले उसलाई त्यस युवकसँग हिँड्न प्रेरित गर्ने र पराहम्ले रोक्ने हुँदा ऊ अन्तर्द्बन्द्बमा फस्दछे । रामपुरवाला प्रेरकद्वारा उद्दीप्त अचेतन सामु उसको पराहम् टिक्न सक्तैन । अचेतनका प्रेरणाद्वारा निर्देशित लछमनिया सारा कुरा भुलेर रामपुरवालाको पछि लाग्दछे ।
८. मानसिक अवस्थाका आधारमा
मानसिक अवस्थाका आधारमा पात्र अविकृत र विकृत हुन्छ । सामान्य पात्र कुनै पनि मानसिक तथा चारित्रिक विकृति नहुने भएकाले ऊ अविकृत हुन्छ । असामान्य पात्रमा मनःस्नायुविकृति, मनोविकृति, लैङ्गिक विकृति, मानसिक दुर्बलता, मद्यपान तथा लागू पदार्थको कुलत, जुवाडेपन, मनोदैहिक विकृति, आपराधिक व्यवहार, समाजविरोधी क्रियाकलाप, स्थिर व्यामोह, विषाद, मनोग्रस्ति–बाध्यता, उन्माद, कृशकाय, अपूर्ण व्यक्तित्व, मन्द र खण्डित मानसिकताजस्ता विकृति हुन्छ । त्यसैले ऊ विकृत पात्र हो ।
लछमनियामा मानसिक विकृतिको लक्षण देखापर्दछ । रातिको सपना र गङ्गापुरवालाका सम्बन्धमा विभिन्न तर्कनाहरू गर्दै स्नानादि कर्म सकेपछि किनारमा उभिएर लछमनिया नदीतर्फ हेर्छे । चैत महिनामा स्रोत सुकेर साँघुरिएको नदीलाई यौवनको पूर्ण बढोत्तरीमा पनि आफ्नो मन र शरीर साँघुरिनु परेजस्तै ठान्छे । “तर नदीमा आषाढ साउनमा हर्हराएर आएको बाढीझैँ केके हो उसको अभ्यन्तरमा हर्हराएर उर्लने गर्छ । लछमनियालाई हिजोआज यस्तो भएको बेला सर्वाङ्ग सिरिङ्गसिरिङ्ग हुन थाल्छ । हातगोडा बटारिन्छन्, जीउ तन्किन्छ, अनि ऊ थरथर काम्न थाल्छे” (३) । आफ्नो गौना हुँदैन कि भन्ने दुश्चिन्ताका कारण ऊ अन्तर्द्बन्द्बग्रस्त बन्न पुगेकी छ । मानसिक द्वन्द्व शारीरिक लक्षणका रूपमा देखापर्ने यो हिस्टेरियाको लक्षण हो । यसलाई रूपान्तरण हिस्टेरिया भनिन्छ (भाटिया ७८) । फ्रायडले यस्तो मानसिक समस्याको कारण दमित कामवासना अर्थात् यौनसम्बन्धी अन्तर्द्बन्द्बलाई मानेका छन् (भण्डारी, “मनको” ४२) । रूपान्तरण त्यस्तो मनोरचना हो जसमा दमित अन्तर्द्बन्द्बको अभिव्यक्ति विभिन्न शारीरिक रोगहरूको लक्षणका रूपमा हुन्छ (भण्डारी, “फ्रायड” ८९) । हिस्टेरियाको रोगीहरूमा रूपान्तरणको मुख्य हात हुन्छ । त्यसैले यसलाई रूपान्तरण हिस्टेरिया पनि भनिन्छ (सिन्हा तथा मिश्र १३४) । लछमनियामा भएको पनि त्यो लक्षण देखापरेको छ । गाउँघरमा यसलाई भूतप्रेत लागेको वा देवीदेउता, आत्मा चढेको भन्ने विश्वास गर्छन् । लछमनिया आफ्नो त्यस्तो अवस्थालाई उसले ‘बरम राकस’ ले समातेको हो भन्ठान्छे । यस आधारमा ऊ मानसिक विकृति भएको पात्रका रूपमा देखापर्दछ ।
निष्कर्षतः लछमनिया असामान्य पात्र हो । उसले भोग्नुपरेको अन्तर्बाह्य समस्यालाई मनोविश्लेषणात्मक सिद्धान्तका आधारमा उद्घाटित गरिएको छ । त्यसले कथालाई आकर्षक, प्रभावकारी एवं विश्वसनीय तुल्याएको छ । पात्रको अन्तर्बाह्य पक्षको उद्घाटनमा प्रस्तुत कथा सफल रहेको छ । मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले यो अब्बल दर्जाको कथा हो । नेपाली मनोविश्लेषणात्मक कथा परम्परामा यसलाई महत्त्वपूर्ण प्राप्ति मान्न सकिन्छ ।
सन्दर्भसामग्री
फ्रायड‚ सिग्मण्ड. ए जनरल इन्ट्रोडक्सन टु साइकोएनालेसिस, हिन्दी अनुवाद फ्रायड : मनोविश्लेषण. देवेन्द्र कुमारद्बारा अनूदित, राजपाल एन्ड सन्ज‚ १९९६ ।

बराल‚ ईश्वर. छरिएका समीक्षा. शरदचन्द्र शर्मा भट्टराईद्बारा सम्मादित साझा प्रकाशन‚ २०५६ ।
भण्डारी, कृष्णप्रसाद. फ्रायड र मनोविश्लेषण. साझा प्रकाशन‚ २०५६ ।
——  मनको रोग. साझा प्रकाशन‚ २०६३ ।
भाटिया, मनजीत सिंह. मनोरोग. तेस्रो संस्क., नेशनल बुक ट्रस्ट‚ २००९ ।
रेग्मी, सनत. लछमनियाको गौना. साझा प्रकाशन‚ २०५१ ।
सिन्हा, राज राजेश्वरी प्रसाद तथा बी. के. मिश्र. असामान्य मनोविज्ञान. दोस्रो संस्क., भारती भवन‚ १९८७ । 
Baral, K. C. Sigmund Freud: A Study of His Theory of Art and Literature. Sterling Publishers Pvt. Ltd., 1995.
Freud, Sigmund. "Creative Writers and Daydreaming." Creatical Theory Since Plato, edited by Hazard Adams, Harcourt, 1992, pp. 712-716.
Frye, Northrop. "The Archytypal Criticism." Twentieth Century Literary Criticism, A Reader, edited by David Lodge, Longmann, 1989, pp. 98-102.
Guerin, Wolfrid, et al. A Hand Book of critical Approaches to Literature. 4th ed, Oxford University Press, 1999.
Jones, Ernest. A Life and Works of Sigmund Frued. Basic Books Inc. Publishers, 1961.
Jung, Carl Gustav. Modern Man in Search of a Soul. Routledge, 1933.
Wolman, Benjamin B. Contemporary Theories and Systems of Psychology. Freeman Book Co.
Woodworth, Robert S. Contemporary Schools of Psychology. Methuen and Co. Ltd., 1965.


0 comments:

Post a Comment

तपाईंको संदेश : क्रिया - प्रतिक्रिया