भवानी भिक्षुको “टाइपिस्ट”
कथामा मनोविश्लेषण
— डा. दुर्गाबहादुर घर्ती
आधुनिक नेपाली कथाको आरम्भसँगसँगैजसो सामाजिक यथार्थवादी र मनोवैज्ञानिक
कथाका दुई धार स्पष्ट रूपमा देखापर्दछन् । गुरुप्रसाद मैनालीको नासो (शारदा, १९९२ जेठ) आधुनिक नेपाली कथायात्राको पहिलो पाइला मात्र नभएर
सामाजिक यथार्थवादी कथापरम्पराको उठानबिन्दु पनि हो । आदर्शतर्फ निकै झुकाउ भए पनि
सामाजिक जीवनको यथार्थ प्रस्तुतिप्रति मैनाली पर्याप्त सचेष्ट छन् । नासोभन्दा झण्डै
छसात महिनापछि विश्वेश्वरप्रसाद कोइरालाको “चन्द्रवदन” (शारदा, १९९२ मार्ग पौष संयुक्ताङ्क) कथा देखापर्दछ । फ्रायडीय सिद्धान्तअनुकूल
मानवीय अन्तर्लोकको उद्घाटन एवं आन्तरिक प्रेरणाले व्यक्तिका चिन्तन, विचार र व्यवहारमा पार्ने प्रभावको प्रस्तुतीकरणमा केन्द्रित
कथा लेखनको परम्परा यहीँबाट सुरु हुन्छ । यो पहिलो नेपाली मनोवैज्ञानिक कथा हो र कोइराला
नेपाली मनोवैज्ञानिक कथापरम्पराका प्रणेता हुन् । यही परम्परामा कोइरालाको उत्तरवर्तीका
रूपमा मानव (शारदा, १९९५ भाद्र
आश्विन संयुक्ताङ्क) कथा लिएर भवानी भिक्षुको आगमन हुन्छ । उनले आफ्नै निजी वैशिष्ट्यका
साथ यस परम्परालाई अघि बढाउने काम गरेका छन् र उनीबाट मनोवैज्ञानिक नेपाली कथाले अझ
बढी विस्तृति र उचाइ प्राप्त गरेको छ । कोइरालाका कथामा झैँ उनका कथामा रतिरागात्मकताको
प्राचुर्य पाइने भए पनि उनको मनोविश्लेषणात्मक प्रयोग बढी सूक्ष्म, गहन र सघन प्रकारको छ । पात्रका मनोवृत्तिको चित्राङ्कनमा कुनै
विशेष सङ्केत वा प्रतीकमा मात्र सीमित नरही विस्तृत विश्लेषण र टिप्पणीसमेत प्रस्तुत
गर्नु उनको कथागत वैशिष्ट्य हो । उनका गुनकेशरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०२४) र
अवान्तर (२०३४) कथासङ्ग्रह प्रकाशित छन् र केही कथाहरू विभिन्न पत्रपत्रिकामा
छरिएर रहेका छन् ।
प्रस्तुत “टाइपिस्ट” कथा मैयाँसाहेब कथासङ्ग्रहमा सङ्गृहीत
छ । वि. सं. २०१५ सालमा रचित (भिक्षु, २०१७‚ पृ. २६) यस कथामा सामाजिक परिवर्तनको दिग्दर्शन गराउँदै त्यही सामाजिक–पारिवारिक
पृष्ठभूमिमा पात्रका अन्तर्मानसिकताको पर्यवलोकन गरिएको छ । यो निम्नवर्गीय नारीको
जागरण र पराजयको अन्तः कथा हो (त्रिपाठी, २०२८‚ पृ. २४) । पात्रका बाह्य व्यवहारमा आन्तरिक प्रेरणाको प्रभाव र बाह्य
वातावरणद्वारा आन्तरिक इच्छाको उद्बोधन यस कथाको मूल पक्ष हो
। कार्यकारण सम्बन्धका आधारमा पात्रका अन्तर्बाह्य पक्षको उद्घाटन गरिएकाले कथामा
प्रयुक्त मनोविश्लेषणात्मक सन्दर्भ बुझ्न सजिलो भएको छ ।
नारीकेन्द्री यस कथाको अग्रभूमिमा शान्ति र मीना देखापर्दछन्
। कथाको शीर्षकले पनि यिनै दुई टाइपिस्ट नारीलाई इङ्गित गरेको छ । शान्ति कथावृत्तको
केन्द्रकका रूपमा रहेकी छ र उसकै मनोवृत्तिको अभिव्यञ्जनामा कथाप्रवाहले गति पाएको
छ । उसका मनोवाञ्छा, आचरण, विचार र व्यवहार नै यस कथाको प्राणतन्तु हो । अन्य पात्रहरू
उसकै सेरोफेरोमा कारणभूत रूपमा आएका छन् ।
शान्ति र मीनाको सङ्क्षिप्त परिचयबाट यस कथाको उठान भएको छ र
प्रारम्भमै शान्तिको टाइपराइटिङ्ग सिक्न चाहने इच्छाको कारण खोजिएको छ । कथामा भनिएको
छ— “शान्तिले टाइपराइटिङ्ग सिक्न लागेको बखत उसको बिहे भइसकेको थियो । केवल उसले चाहिएजति
पैसा खर्च गर्न नपाएर टाइपिङ सिकी । कतै कुनै नोकरी भेट्टाए पचास–साठी रुपियाँ महिनाको
आम्दानी हुन सक्थ्यो र यसो कहिलेकाहीँ चाहिएको चिप्लो सारी र हलुङ्गो नीलो रङको साटनको
ब्लाउज हाल्न पनि हुन्थ्यो, तथा सिनेमा
पनि जान पाइन्थ्यो भनेर ऊ टाइपिङ सिक्न गएकी थिई” (भिक्षु‚ २०१७‚ पृ.१४) ।
यी भनाइबाट उसको अन्तर्मानसिकता बुझ्न सकिन्छ । ऊ सुख सिद्धान्त (प्लेजर प्रिन्सिपल)
बाट परिचालित रहेकी छ र राम्रो लगाउने, आनन्द प्राप्त गर्ने उद्दाम चाहनाले वशीभूत भएकी छ । आनन्द वा
सुखको लालसा मान्छेको आदिमकालदेखिको नैसर्गिक प्रवृत्ति हो । शान्तिमा त्यो तीव्र रहेको
देखिन्छ । सुख सिद्धान्त अचेतन प्रक्रियासँग सम्बन्धित हुन्छ (वूडवर्थ, १९६५‚ पृ. २६५) । अचेतनका प्रेरणाले उद्दीप्त शान्तिका इच्छा पचास–साठी
रुपियाँ मासिक आय भएको लोग्नेबाट पूर्ति हुन सक्तैन । त्यही भएर शान्तिले आफ्नो इच्छापूर्तिको
उपाय आफै खोज्छे र टाइपराइटिङ्ग सिक्न जान्छे ।
शान्ति टाइपराइटिङ्ग सिक्न जान सुरु गरेका बेला उसको लोग्नेका
मनमा केही चिसो पसेको भए पनि उसले शान्तिलाई रोक्न सक्तैन । त्यसका पछाडि विशिष्ट मनोवैज्ञानिक
कारण देखापर्दछन् । पत्नीले टाइपिङ्ग सिकेपछि केही आम्दानी होला, कहिलेकाहीँ आफू पनि पत्नीसँगै नयाँसडक डुलेर किनमेल गर्न अथवा
अरूहरूले झैँ सिँगारिएकी, ठाँटिएकी
पत्नी लिई सिनेमा जान सकिएला भन्ने रहर संवरण गर्न उसले सक्तैन र पत्नीलाई रोक्न चाहने
उसको तात्कालिक पुरुष–उद्वेगले फणा उठाउन पाउँदैन । शान्ति टाइपिङ्ग स्कूल जान थालेपछि
ऊ झन् आकर्षक बन्दै गएकी देखिन्छ । उसका लोग्नेका दृष्टिमा ऊ अब दिनहुँ राम्री हुँदै
आएकी,
सिँगारिइ नै रहने र अझ प्रसन्न, हँसिली, आत्मविश्वस्त
तथा केही अंशमा लोभलाग्दी किसिमसित चञ्चला देखापर्न थालेकी र बिहा हुनै आँटेकी अविवाहित
युवतीजस्ती हुन गएकी छ । “लोग्नेचाहिँले यो पनि अनुभूति पायो कि कदाचित् ऊ पनि कुनै
तरुणी भएकी केटीसित प्रेम गर्न लागेको छ । केटी ऊतिर आकर्षित छ, अलिकति माया गर्न लागेझैँ पनि गर्छे, तर केही अबेला छ अर्थात् उसले एउटा कृत्रिम किसिमले कुनै केटीसित
प्रेमको कोर्टशिप गरेझैँ आनन्द पाउन लागेको थियो । यस्तो अनुभूति उसले आफ्नो जीवनमा
यसभन्दा अघि कहिल्यै पाएको थिएन” (पृ. १४–१५ । यी प्रसङ्गहरूबाट परम्परागत यान्त्रिक दाम्पत्य सम्बन्ध
र आर्थिक दुर्बलताका कारण उनीहरूले राम्ररी दाम्पत्य जीवनको आनन्दभोग गर्न नपाएको स्पष्ट
हुन्छ । शान्तिले नीरस गार्हस्थ्य परिधिबाट उन्मुक्ति खोजेकी छ र सामाजिक परिवेशको
संसर्ग पाउन थालेपछि उसका कुण्ठित इच्छाहरू सक्रिय हुन थालेका छन् । त्यही भएर उसमा
स्पष्ट परिवर्तनको सङ्केत देखापर्दछ । घरमा भन्दा घरबाहिरको संसारमा उसले अचेतनस्तरमै
सन्तुष्टि प्राप्त गरेको उसका क्रियाकलाप एवं शारीरिक सौन्दर्यमा आएको परिवर्तनबाट
बुझ्न सकिन्छ । उसको कायिक तथा मानसिक परिवर्तनबाट उसको लोग्ने पनि अभिभूत भएको छ ।
टाइपराइटिङ्ग सिकेपछि शान्तिले एउटा सचिवालयको विभागमा जागिर
पाउँछे । सुरुका दुई–तीन महिनासम्म कार्यालयीय प्रक्रियाका कारण तलब नपाएकी र बिहान
चाँडचाँडै दस बजे खाना खाएर जागिरमा जानुपर्ने हुँदा ऊ घरकी बुहारीभन्दा पनि छोरीबेटी
जस्ती हुन पुगेकाले घरमा असन्तुष्टिको वातावरण उत्पन्न भए पनि तीन महिनाको एकमुष्ट
तलब एक सय असी रुपियाँ सासूको अगाडि लोग्नेका हातमा राखिदिएपछि घरको नरमाइलोपनको असर
तत्कालै विलुप्त हुन्छ । तलब पाएपछि राम्रा सारी ब्लाउज किन्ने र सिनेमा हेर्न जाने
शान्तिको इच्छा अनि अरूझैँ आफू पनि पत्नीसँगै नयाँसडक डुलेर किनमेल गर्ने र सिँगारिएकी, ठाँटिएकी पत्नी लिएर सिनेमा हेर्न जाने उसका लोग्नेका इच्छाले
एकैसाथ सन्तुष्टि प्राप्त गरेको देखिन्छ । शान्ति तलब पाएको भोलिपल्ट लोग्नेका साथ
बजार जान्छे, एउटा सारी र दुई–तीन पीस
ब्लाउजको कपडा किन्छे । “पसलेको चालीस–पचास रुपियाँको बिल तिर्न जब बेपर्बाहीसाथ उसको
लोग्नेले रुपियाँ झिकी काउन्टरमा फाल्यो, त्यस बखत उसमा पनि एउटा गौरवको अनुभूति भएको कुरा शान्तिले थाहा
नपाई रहिन । अझ लोग्नेतर्फबाट ऊ झन् आत्मविश्वस्त भएकी थिई” (पृ. १५) । यसबाट ती दुवैको
कुण्ठित अहम्भावले सन्तुष्टि प्राप्त गरेको स्पष्ट हुन्छ । कपडापसलमै लाडे भएर शान्तिले
सिनेमा हेर्न जान लोग्नेसँग ढिपी गर्छे र उनीहरूले बाल्कोनीमा पहिलोपटक सँगै बसेर सिनेमा
हेर्छन् । शान्तिले आफ्नो चाहनाको परिपूर्तिका लागि जसरी आपूmलाई सक्रिय तुल्याएकी छ र सफलता पनि प्राप्त गरेकी छ, त्यसबाट उसको इच्छाशक्तिको प्रबलता बुझ्न सकिन्छ । नवफ्रायडवादी
ओट्टो रेङ्कले इच्छाशक्तिलाई व्यक्तित्वविकासको आधार मानेका छन् र इच्छाशक्तिलाई तीन
प्रकारमा वर्गीकरण गरेका छन्— प्रतिकूल इच्छाशक्ति, प्रतिस्पर्धात्मक इच्छाशक्ति र सकारात्मक इच्छाशक्ति (वोल्म्यान, १९९५‚ पृ. ३२०–३२१) । शान्तिमा अरूजस्तै बन्न चाहने प्रतिस्पर्धात्मक इच्छाशक्ति
रहेको छ ।
शान्तिले मासिक साठी रुपियाँ तलबमध्ये खाजा खान र आफूखुशी खर्च
गर्नका लागि केही रकम राखी चालीस रुपियाँ घरमा बुझाउँछे र त्यही रकमका कारणले घरमा
उसको व्यक्तित्वले विशेष स्थान पाएको छ । “यसैले त्यस घरमा शान्तिको अवस्थिति पत्नी
र बुहारीको मात्रै नरही चालीस रुपियाँको प्रमुख अनिवार्यताको पनि हुन गएको थियो, र त्यो त्यस घरमा बस्ने एउटी केटी टाइपिस्टले झैँ लगाउनु, घुम्नु, बस्नु, खानु, जानु, आउनु, र
कमाउनुको बेग्लै किसिमको व्यक्तित्वमा मान्य तथा निश्चित हुन गएकी थिई” (भिक्षु‚ २०१७‚ पृ. १६) । शान्तिको अहिलेको
बेपर्बाहीपन उसको लोग्नेलाई कहिलेकाहीँ अन्तर्हृदयमा बिझ्ने र शान्ति आफ्नी अनुवर्तिनी
पत्नीभन्दा कोही अर्कै युवतीजस्तो लाग्ने भए पनि घरव्यवहारका लागि पत्नीप्रदत्त आयको
विशेष महत्त्व भएकाले ऊ त्यतातिर त्यति
आग्रहशील हुन सक्तैन र उसको मानसिक उद्विग्नता चाँडै नै सेलाउँछ । निश्चय नै उसमा पनि
युवकोचित स्वाभाविक इच्छाहरू नभएका होइनन्, तर उसका आय र परिस्थितिले ती पूरा हुन पाएका छैनन् । आफ्नी पत्नीलाई
एउटी अर्कै टाइपिस्ट केटीका रूपमा आत्मसात् गरी उसले त्यस अभावको क्षतिपूर्ति गर्दछ
र उसका कुण्ठित इच्छाले सन्तुष्टि प्राप्त
गर्दछन् । “विशेषतः आफ्ना अनेकौँ कठिनाइहरूभित्र ऊ एक किसिमको हलुङ्गोपनाको उपलब्धि
गथ्र्यो र शान्तिसँग उसको हृदयको आघात–सङ्घात पत्नीजस्तोको प्रतिको नभई एउटी टाइपिस्ट
केटीको प्रति भएको जस्तो हुन्थ्यो जसको प्रेमाघातको गाँठो उसलाई फुकाउनु, सुल्झाउनु थियो; र यसरी माथिल्लो मनस्तरमा ऊ उल्लसित नै हुन्थ्यो” (पृ. १६) ।
जागिर खान थालेको केही दिनपछि त्यहीँ नजिकै भएको अर्को विभागमा
काम गरिरहेकी टाइपिस्ट मीनासँग शान्तिको मित्रता कायम हुन्छ । दिउँसो दुई–तीन बजेतिर
मीना उसलाई चिया खान बोलाउन आउँछे र होटेलको एउटा बेग्लै कोठामा चिया खाँदै उनीहरू
अन्तरङ्ग कुरा गर्न थाल्दछन् । “मीना नवयुवती कुमारी र चञ्चला पनि थिई । कुरा ऊ नै
सुरु गर्थी । मोजका कुरा भएर दुवै पूर्ण मनोयोगसित आनन्द लिन परस्पर भाग लिन्थे” (पृ. १६) । एकान्तमा मोजका
कुरा गरेर आनन्द लिनु अचेतनमा निहित यौनेच्छाको प्रेरणा हो । मीना अविवाहित युवती भएकाले
उसका कामेषणाले तृप्तिको अनुभूति गर्नै पाएको छैन भने सुख सिद्धान्तबाट परिचालित शान्तिका
इदम्को इच्छाले विभिन्न कठिनाइले जकडिएको लोग्नेबाट सन्तृप्ति पाउन सकेको छैन । त्यसैले
उनीहरू आपसमा रतिरागसम्बन्धी कुरा गरेर सन्तुष्टि लिन्छन् । आफ्नै अतृप्त चाहनाको प्रकटीकरण
गरे पनि वस्तुतः मीना शान्तिको यौन बुभुक्षालाई उद्दीप्त पार्ने प्रेरकका रूपमा देखापर्दछे
। उसले शान्तिका अन्तरवृत्तिहरूलाई जागृत तुल्याउने काम गरेकी छ (भण्डारी, २०५२‚ पृ. २१९) । “लौ, कल्पना गर कि तिम्रो बिहा भएको छैन । केटाकेटी भएकै छैनन्, लोग्ने एकातिर छँदैछ, केको बिहा, होइन
?
आफैँ कमाउने आफैँ खाने, हगि ! अँ, अब
भन कि कसैले तिमीलाई माया गर्न थालेको छ, अझ त्यो धनी पनि छ, उसले तिमीलाई सिनेमा जान निम्त्यायो भने तिमी के गछ्र्यौ ? भन त ...!” (भिक्षु‚
२०१७‚ पृ. १६–१७) भन्दै उसले शान्तिका
आन्तरिक इच्छालाई झकझकाइरहन्छे, शान्तिले
जान्नँ भन्दिन्छु भन्दा तिमी नगए उसले दुःख मान्छ, ऊ बोल्नै छाडिदिन्छ, कतै भेट भए निन्याउरो मुख लगाएर चुपचाप यसो तिमीतिर हेरी मुख
फर्काएर जान्छ अनि तिमीलाई दुःख लाग्दैन ? भन्छे । शान्तिले आपूmलाई केही दुःख नलाग्ने बताएपछि उसले दुःख नलागी छोड्छ र ? तिमी उसकी प्रेमिका, यतिका दिनसम्मन् उसलाई हेर्न, ऊसित कुरा गर्न पाए मनमा कस्तोकस्तो सुख लाग्ने, हेर्न नपाए मुटु नै दुखेजस्तो हुने, केके हराएको, के गुमाएको जस्तो भइरहने हुन्छ, अनि ऊ निन्याउरो मुख लगाएर, तिमीलाई मुटु नै नराख्ने केटी भन्ठानी भित्रभित्रै रोयो, चुपचाप कल्प्यो भने कस्तो हुन्छ त ? भन्दछे । उसका यी कुरा सुनेर शान्तिलाई कस्तोकस्तो लाग्छ र एकछिन
ऊ चुप लागेर सम्झन्छे— “साँच्चीकै यस्तो भए उसलाई सहिनसक्नु हुन्छ कि ? तर यस्तो त अझसम्म कहिल्यै भएको छैन ! हुन्छ होला त ?” (पृ. १७) । यस भनाइबाट उसले अझसम्म प्रेमानुभूति प्राप्त गर्न नसकेको
स्पष्ट हुन्छ । त्यही भएर मीनाले उसलाई आइमाई भएर पनि माया गर्नु र माया गरिन पनि कहिल्यै
नपाएकी भनेर टिप्पणी गर्छे । घरमा लोग्ने छँदाछँदै शान्तिले अतृप्तिबोध गर्नुको कारण
यी प्रसङ्गहरूबाट बुझ्न सकिन्छ । “यस्तै कुरा तिनीहरूमा चल्दथे र अफिसमा टाइपिङ टेबुलमा
बसी,
काम भए गर्दै नभए त्यसै ती दुवै भर्खरै भएका कुराहरू मनमनै अनेकौँ
रूपमा लम्ब्याउन थाल्दथे र आफ्ना काल्पनिक सुखदुःखमा रमाउन लाग्थे” (पृ. १८) । यथार्थमा प्राप्त
गर्न नसकिएको कुरा कल्पनाका माध्यमद्वारा पूर्ति गर्ने यो एक प्रकारको मनोरचना हो
(भण्डारी,
२०५६‚ पृ. ९३) । यसलाई कल्पनातरङ्ग वा स्वैरकल्पना भनिन्छ । स्वैरकल्पनाको
प्रेरक शक्ति अतृप्त इच्छा हो र हरेक स्वैरकल्पना इच्छाको परिपूर्ति नै हो (फ्रायड, १९८९‚ पृ. ३८) ।
शान्ति र मीनाको व्यक्तित्व परस्पर भिन्न प्रकारको देखिन्छ ।
शान्तिमा नारीपन र मीनामा पुरुषपनको प्रबलता रहेको छ । उनीहरूबीचको घनिष्ठताका कारण
त्यो पनि हो । एक दिन शान्ति र मीना चियापसलको कोठामा चिया खाइरहेका बेला एउटा युवक
त्यहीँ बस्न आउँछ र कोठामा दुईजना केटी मात्र देखेर तुरुन्तै फर्किहाल्छ । शान्ति र
मीना त्यस युवकले सुन्ने गरी अट्टहास गरेर हाँस्छन् । युवक ती केटीहरूलाई देख्ने गरी
तिनीहरूको नजिकै अर्को कोठामा गएर बस्छ र चुपचाप चिया खान थाल्दछ । युवकले नसुन्ने
गरी शान्तिले यसरी हाँसेको त्यसले के भन्ठान्यो होला भनेर पीर गर्छे भने मीनाले सहज
ढङ्गमा हामीभन्दा तल्लो खालको व्यक्तित्व ठान्यो होला भन्छे । त्यसो भने तापनि ऊ हीनताभावले
ग्रस्त छैन । उसले नारी आगो हो, त्यही
भएर त्यो युवक त्यहाँ बस्नै सकेन भन्दछे, नारीलाई लोग्नेमानिसले कहिल्यै हेप्न नसक्ने र पुरुषभन्दा माथिल्लो
तहको ठान्दछे । बिहे भएपछि लोग्नेको अधीनमा रहनुपर्छ भन्ने शान्तिका कुरा उसलाई मान्य
छैन । आफ्नो रवाफमा रहे लोग्नेलाई पनि मान गर्न कर लाग्छ भन्ने उसको धारणा छ । हामी
त्यसरी हाँसेको त्यस युवकले अब सम्झिरहन्छ, हामीलाई सम्झँदै हामीमध्ये को राम्री भनेर तुलना गर्न थाल्छ
भन्दै बिहा भइसके पनि राम्री तैँ छेस्, उसले तँलाई माया गर्न लाग्यो भने के गर्छेस् भनेर मीनाले प्रश्न
गरिरहन्छे । उसका कुराले शान्तिका अन्तरमा रहेको अतृप्त इच्छा जागृत हुन्छ । “कुन्नि
किन हो,
शान्तिले त्यस दिन लगातार यस प्रश्नबाट फुर्सतै पाइन कि उसलाई
कसैले कहिल्यै माया गरेको छ र ? यस
सिलसिलाको मानसिक कल्पनामा कैयौँ पटक उसको लोग्ने पनि उभियो, तर त्यहाँ लोग्नेबाहेक अरू केही पनि पाइएन । बरु त्यसकै छेउमा
आजै चिया खान आएको त्यो युवक पनि उभिदिन्थ्यो” (भिक्षु‚ २०१७‚ पृ.२०) ।
त्यस युवकले आपूmलाई माया
गर्छ होला त ? भन्ने प्रश्न उसका मनमा
उब्जिरहन्छ र ऊ आफै लजाउँछे । उसले सकेसम्म त्यस युवकलाई भुल्ने प्रयास गर्छे तर त्यो
उसको स्मृतिमा चियाउन आइरहन्छ । “उसलाई सोच्नु नपर्ने कुरा किन आयो ? फेरि सोच्न नखोज्दा झन् त्यो सम्झिन जान्छ, यही त होइन माया ?’ उसले फेरि बल लगाएर बिर्सन खोजी । क्रम भरदिन चली नै रह्यो”
(पृ. २०) । यी भनाइहरूबाट उसको मानसिक उद्वेलन बुझ्न सकिन्छ ।
पहिलो भेटमै शान्ति त्यस युवकप्रति अत्यन्त आकर्षित भएकी छ ।
भोलिपल्ट शान्तिलाई दुई बज्न अबेला भइरहेजस्तो अनुभव हुन्छ र दुई बज्नेबित्तिकै शान्ति
पहिलोपटक आफै मीनालाई बोलाउन जान्छे । चियापसलमा पुगेपछि बाहिरको टेबुलमा नजर घुमाउँछे, चिया ल्याउन ढिलो नभए पनि छिटो ल्याउन भन्नका लागि बाहिर जान्छे
र फर्कंदा एक पटक कोठाभरि नजर घुमाउँछे, तर युवकलाई पाउँदिन । उसको मनोभाव मीनाले राम्ररी नै बुझेकी
छ र उसलाई हेर्न आत्तुरी परेको भनेर जिस्क्याउँछे, ऊ पक्कै आउँछ भनेर सान्त्वना पनि दिन्छे । नभन्दै एकछिनपछि युवक
आउँछ र चिया मगाई उनीहरूलाई नहेरझैँ गरेर हेर्न थाल्दछ । शान्ति र मीनाले चाल नपाएजस्तो
गरेर अप्रत्यक्ष रूपमा उसलाई हेर्ने अवसर प्रदान गरिरहन्छन् । धेरै दिनसम्म यो क्रम
लगातार चलिरहन्छ । शान्ति त्यस युवकप्रति आसक्त हुन थालेकीले उसको व्यवहारमा पनि परिवर्तन
देखापर्दछ । यो कुरा “शान्तिको लोग्ने, कुन्नि के पाएर हो, अब शान्तिसित धेरैबेर कुरा गर्न खोज्दथ्यो । ऊ कुरा गर्न पनि
गर्थी,
बस्न पनि बस्थी, सधैँको झैँ दुवै एउटै कोठामा सुत्न पनि सुत्थे, तर उसको लोग्नेलाई अज्ञातमा नै के लाग्न थाल्यो भने यता केही
दिनदेखि उसकी स्वास्नी पहिलेकी झैँ चञ्चला, केटीजस्ती रहन गइन” (पृ. २१–२२) भन्ने भनाइबाट
पनि थाहा पाउन सकिन्छ । उनीहरूको दाम्पत्य जीवनमा पहिलेको झैँ उही एकनासे विरसता आउन
थाल्दछ । शान्तिमा एकप्रकारको गम्भीरता देखिन थालेको छ र मीनासँग पनि पहिलेको जस्तो
धेरै कुरा हुँदैन । युवकले सधैँ त्यसरी हेर्ने गरेकोमा मीना रोष प्रकट गर्दा शान्तिले
तँलाई बिहा गर्न खोजेको होला भनेर जिस्क्याउँछे । मीना भने आपूmलाई शान्तिले नराम्री ठानी, प्रतिस्पर्धामा हारेको ठानी भन्ने लागेर रिसले भुतुक्क हुन्छे
र त्यही झोँकमा “तैँ बढी राम्री, पोइ
छोडेर ऊसितै गए त भइहाल्छ नि ! किन जान्नस् त ?” (पृ. २३) भन्दछे । उसका कुराले शान्तिले व्यक्त गर्न नसकेको, दरो मन गरेर निर्णय गर्न नसकेको कुराले अभिव्यक्ति पाएको छ ।
त्यस दिन उसको लोग्नेलाई शान्ति कतै टाढा गएकी जस्ती, नरुचाएकी जस्ती, निर्जीव, थकित, शिथिल, निःसत्व
निस्सारझैँ लाग्दछ । वास्तवमा शान्ति युवकको प्रेममा एकोहोरिएकी छ । मीनाको त्यही भनाइ
उसको स्मृतिमा गुन्जिरहन्छ ।
शान्तिको ऊहापोह र विकलताको अवस्था धेरै दिन रहँदैन । सधैँ झैँ
चियापसलमा चिया खाइरहेको बेला युवकलाई खोज्दै उसकी पत्नी आइपुग्छे । उसको आगमनले कथाको
घटनाले नौलो मोड लिन्छ । त्यो देखेर मीनालाई हाँसो उठ्छ, शान्ति भने स्तम्भित हुन्छे । युवकले शान्ति र मीनातिर थाहा
नहुने गरी नजर लगाउँछ र उसकी पत्नीको आँखा पनि त्यतातिर पर्दछन् । अज्ञात रूपमा नै
मीनाको ओठबाट फुस्कनै लागेको हाँसो देखेर युवककी पत्नीलाई आपूmलाई गिज्याएको झैँ लाग्छ । उसले रिसाउँदै आफ्नो पतिसँग ती युवतीहरूका
बारेमा सोध्न थाल्छे । त्यसले उनीहरूको मानसिकतामा अनौठो परिस्थितिको सिर्जना गरिदिन्छ
। मीना चपलतापूर्वक प्रसन्न हुन थाल्छे, शान्ति आहत हुन्छे, युवक हतबुद्धि भई उकुसमुकुस हुन थाल्छ र युवककी पत्नी अपमानित
भएकी र गिज्याएजस्तो अनुभव गर्न थाल्छ । मीना त्यसरी प्रसन्न हुनुबाट शान्तिप्रति उसको
प्रतिस्पर्धी भाव झल्किन्छ र परपीडनको लक्षण पनि परिलक्षित हुन्छ । शान्ति आहत हुनुबाट
उसमा युवकप्रति प्रबल प्रणयासक्ति रहेको बुझिन्छ । युवक तत्कालीन परिस्थितिमा पत्नी
र युवतीहरू दुवैथरीलाई गुमाउन नचाहने र ती दुवैथरीलाई एकैसाथ प्राप्त गर्न पनि नसकिने
हुँदा अन्तद्र्वन्द्वमा फसेको छ । युवककी पत्नी ईष्र्या र हीनताबोधले आक्रान्त हुनपुगेकी
छ । युवतीहरूप्रति त्यस युवकको आसक्ति भए पनि पत्नीको क्षोभ हटाउन उसले “छिः चुप लाग
न ! यी टाइपिस्ट पो त ... । यिनीहरूको खाल नै यस्तै हुन्छ ...।” (पृ. २५) भन्छ । त्यस भनाइले
सबैमा क्लेश उत्पन्न गराउँछ र शान्तिका मानसिकतामा बज्रपात नै पर्छ । दिनभरि उसका मानसपटलमा
युवकका त्यही कुरा नै आइरहन्छ । “राती सुत्ने बेलामा शान्तिको पतिले आपूmलाई जब आपूmलाई एकाएक एउटा बिलकुलै नयाँ किसिमको आवेग, उद्वेगपूरित आलिङ्गनको दृढप्रगाढतामा पायो, उसले बुझ्नै सकेन कि सधैँ उछिट्टिई नै जस्ती रहने उसकी टाइपिस्टलाई, उसकी चञ्चलालाई, आज के हुन गएछ ? ऊ सम्झने चेष्टा नै गरिरहेको थियो कि अँध्यारोमा उसले ऊसितै
टाँसिएकी पत्नीको, अचानक कुन्नि
कुन मूलबाट फुटेर आएको, अबाध, लगातारको सुँक्कसुँक्क सुन्यो; पत्नीको मुख उठाउने चेष्टा गर्दा तातो आँसुले उसको हातै भिज्यो”
(पृ. २५–२६) । युवकको कटु वचनले शान्तिको कोमल भावनामा आघात परेको
छ,
त्यसप्रति मोहभङ्ग भएको छ र उसको अन्तव्र्यथा आँसु बनेर पतिसामु
पोखिएको छ ।
निष्कर्षतः
प्रस्तुत कथा मनोविश्लेषणामक सिद्धान्तका आधारमा पात्रका अन्तर्बाह्य पक्षको उद्घाटनमा
सफल रहेको छ । नैसर्गिक इच्छा र परिस्थितिको द्वन्द्वमा पिल्सिएका पात्रहरूलाई उभ्याई
तिनको मनोवृत्तिलाई अत्यन्त सूक्ष्म ढङ्गले देखाउनु यस कथाको उल्लेखनीय पक्ष हो । अनियन्त्रित
मनोवाञ्छाको अधीनमा परेर अनैतिक र अमर्यादित दिशातिर लम्केकी पात्रलाई विशेष परिस्थितिको
सिर्जना गरी नैतिक आदर्शको मार्गतर्फ फर्काइएको देखिए पनि त्यसमा मनोवैज्ञानिक आधार
लिइएको छ । मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले यो एउटा उत्कृष्ट रचना हो र मनोवैज्ञानिक
कथापरम्परामा यसलाई एउटा महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।
सन्दर्भसामग्री
त्रिपाठी, वासुदेव
(२०२८). विचरण.
भानु प्रकाशन ।
भण्डारी, कृष्णप्रसाद
(२०५६). फ्रायड र मनोविश्लेषण. साझा प्रकाशन ।
भण्डारी, गोपालप्रसाद
(२०५२).
भवानी भिक्षुका कथामा मनोविज्ञान (अप्रकाशित विद्यावारिधि
शोधप्रबन्ध). त्रिभुवन विश्वविद्यालय ।
भिक्षु, भवानी
(२०१७).
मैयाँसाहेब. नेपाल एकेडेमी ।
Freud, S. (1989)
Creative writers and day-dreaming. Twentieth
century literary criticism, a reader (David Lodge, Ed.; 13thh
ed.). Longman Group UK Limited.
Wolman, B. B. (1995). Contemporary
theories and systems in psychology (2nd ed.). Freeman Book Company.
Woodworth, R. S. (1965). Contemporary schools of psychology. Methuen
7 Co. Ltd.

0 comments:
Post a Comment