Thursday, April 7, 2022

१२. आख्यानशास्त्रको सैद्धान्तिक परिचय




 

आख्यानशास्त्रको सैद्धान्तिक परिचय

डा. दुर्गाबहादुर घर्ती

 

विषयप्रवेश

            मानव जातिले सभ्यताको आदिकालदेखि अनेक प्रकारका कलाको विकास गर्दै आएको छ । कला सिर्जनाका लागि ज्ञान, भावना र कल्पना अनि अनुकरण गर्न सक्ने अद्भुत क्षमता मानवमा जन्मजात प्राप्त छ । मानव सिर्जनाका विभिन्न स्वरूपमध्ये साहित्य भाषाका माध्यमद्वारा अभिव्यक्त हुने कला हो । विषयवस्तु एवं प्रस्तुतिगत शैलीका आधारमा साहित्यका विभिन्न विधाहरू छुट्टिन्छन् । गद्य शैलीमा घटनाको वर्णन गर्ने विधालाई आख्यान भनिन्छ । यसअन्तर्गत कथा र उपन्यास पर्दछन् । कथाको आयामविस्तार छोटो र उपन्यासको आयामविस्तार लामो हुन्छ । त्यसो त कविता, नाटक र निबन्धमा पनि आख्यानतत्त्व त्याज्य छैन तर कवितामा भाव, नाटकमा अनुकरण र निबन्धमा विचारको प्रधानता हुन्छ । कथाकथन अर्थात् घटनावर्णन नै आख्यानको मूल पक्ष हो । कविता र नाटकले साहित्यको समग्र भूगोल ओगटिरहेको अवस्थामा पछिबाट निबन्ध र आख्यानले आफ्नो उपस्थिति जनाउँछन् । अहिले लोकप्रिय विधाका रूपमा आख्यानको बढोत्तरी हुँदै गएको छ र यसको सैद्धान्तिक व्याख्या पनि देखापरिरहेका छन् । तिनै सैद्धान्तिक विमर्शलाई यहाँ चिनाउने प्रयत्न गरिएको छ ।

आख्यानको परिचय

            कथा (स्टोरी) र आख्यान वा समाख्यान (न्यारेटिभ) दुवै समान प्रकारका देखापरे पनि तिनमा सूक्ष्म भिन्नता देखार्दछ । संस्कृत काव्यशास्त्रमा आख्यान, आख्यायिका, कथा, उपख्यान जस्ता भेदहरूको र पाश्चात्य साहित्यमा ग्रिसेली चिन्तनपरम्परादेखि नै कथा र कथानकको विस्तृत व्याख्या गरिएको पाइन्छ । ती मूलतः नाट्यसिद्धान्तका सन्दर्भमा आएका छन्, भरतको नाट्यशास्त्र र अरिस्टोटलको पोइटिक्स नै तिनको मूल आधार हो । आख्यानका बारेमा नयाँ ढङ्गमा गहन र सूक्ष्म अध्ययन गर्ने कार्यमा संरचनावादीहरूको योगदान महत्त्वपूर्ण छ । आख्यानको अध्ययन गर्ने सिद्धान्तलाई आख्यानशास्त्र वा समाख्यानशास्त्र भनिन्छ । साहित्यसिद्धान्तमा आख्यानशास्त्र भनेको आख्यानात्मक संरचनाको अध्ययन हो (ब्रिटानिका, मिति नभएको) । मोनिका फ्लुडर्निक (सन् २००६) का अनुसार आख्यानशास्त्र एउटा विधाका रूपमा आख्यानको अध्ययन हो (पृ. ८) । आख्यानशास्त्रको अध्ययनका सन्दर्भमा कथा, कथानक, आख्यान, सङ्कथन जस्ता आधारभूत शब्दहरू बुझ्नु आवश्यक हुन्छ । आख्यानमा एक वा एकभन्दा बढी वास्तविक वा काल्पनिक घटनाहरू एक, दुई वा धेरै समाख्याताहरूद्वारा एक, दुई वा धेरै आख्यायितहरूलाई सम्प्रेषित गरिएको हुन्छ । कथामा घटनाहरूको कालक्रमिक वर्णन हुन्छ । त्यसमा ‘के’ भन्ने प्रश्नको उत्तर हुन्छ, ‘कसरी’ भन्ने प्रश्नको उत्तर खोजिएको हुँदैन (प्रिन्स, सन् २००३, पृ. ५८ र ९३) । यहाँ ई. एम. फस्र्टरको कथा र कथानकबिचको भिन्नतासम्बन्धी विचार पनि स्मरणीय छ । कथा समयशृङ्खलामा व्यवस्थित घटनावर्णन हो र कथानक पनि घटनावर्णन नै हो तर त्यसमा कार्यकारणमा जोड दिइएको हुन्छ (फस्र्टर, सन् १९८५, पृ. ८७) । रुसी रूपवादीहरू कथानकलाई कथाको कालक्रमिक शृङ्खलाको पुनर्विन्यास भन्छन् । संरचनावादीहरूका अनुसार रणनैतिक ढङ्गमा सङ्गठित कथाका घटनाहरूलाई नै परम्परागत रूपमा कथानक भनिएको हो । कथामा घटनाहरू त्यसको सङ्कथनद्वारा कथानकमा रूपान्तरित हुन्छन्, त्यो प्रस्तुतीकरणको ढङ्ग हो (च्याटम्यान, सन् १९७८, पृ. ४३) । कथानक आख्यानको अङ्ग हो । आख्यानमा मान्छेका कथा प्राप्त गर्नका लागि सामग्रीहरूलाई उपयुक्त ढङ्गमा प्रस्तुत गरिएको हुन्छ (बार्थ, सन् १९७७, पृ. ७९) । जेरार्ड जेनेट (सन् १९८०) का अनुसार आख्यान भनेको सामान्यतः मौखिक वा लिखित सङ्कथन हो जसले घटना वा घटनाहरूको शृङ्खलाका बारेमा भन्ने प्रयत्न गर्छ । अहिले आख्यानले वास्तविक होस् या काल्पनिक घटनाहरूको शृङ्खला भन्ने बुझाउँछ र ती सङ्कथनका विषय हुन् (पृ. २५) । च्याटम्यान (सन् १९७८) का अनुसार कथा भनेको विषयवस्तु वा घटनाहरूको शृङ्खला हो र सङ्कथन अभिव्यक्ति हो, माध्यम हो जसद्वारा विषयवस्तु सूचित हुन्छ (पृ. १९) । समग्रमा, घटनाहरूको व्यवस्थित संयोजन नै समाख्यान कला हो भन्न सकिन्छ । आख्यान अहिले साहित्यको एउटा विधाका रूपमा स्थापित भएको छ र त्यसअन्तर्गत कथा (सर्ट स्टोरी) र उपन्यास पर्दछन् ।

आख्यानको तत्त्व

            आख्यान आफैमा पूर्ण हुन्छ, त्यसलाई विभिन्न तत्त्वहरूले पूर्णता प्रदान गर्छन् । आख्यानका तत्त्वहरूलाई संरचक घटक पनि भनिन्छ । च्याटम्यानले आख्यानका तत्त्वहरूलाई कथा र सङ्कथन गरी मुख्य दुई भागमा विभाजन गरेका छन् । कथातत्त्व आख्यानात्मक अभिव्यक्तिको विषयवस्तु हो र सङ्कथनतत्त्व आख्यानात्मक अभिव्यक्ति हो । कथातत्त्वअन्तर्गत घटना र अवस्थिति पर्दछन् । घटनामा कार्य र संयोग तथा अवस्थितिमा पात्र र परिवेश समाविष्ट हुन्छन् । ती विषयवस्तुका रूप हुन् । कथामा लेखकको सांस्कृतिक संहिताद्वारा छनोट गरिएका वस्तु र घटना आदिको चित्रण विषयवस्तुको सार हो । त्यसैगरी सङ्कथतत्त्वअन्तर्गत आख्यानात्मक सङ्कथन वा आख्यान सम्प्रेषणको संरचना अभिव्यक्तिको रूप हो र माध्यमविशेषबाट प्रकटीकरण अभिव्यक्तिको सार हो । रूपवादी एवं संरचनावादीहरू सारमा भन्दा रूपलाई महत्त्व दिन्छन् । आख्यानका संरचक घटकहरूमध्ये घटना, पात्र र परिवेश सङ्केतित हुन् र आख्यानात्मक अभिव्यक्तिका रूपमा रहेको भाषा सङ्केतक हो (च्याटम्यान, सन् १९७८, पृ.२५—२६) । पछि च्याटम्यानले कथानक, पात्र, परिवेश, कथन, दृष्टिबिन्दु, सारवस्तु र विचारलाई आख्यानको प्रमुख तत्त्वका रूपमा लिएर तिनको विस्तृत व्याख्या गरेका छन् । उनका अनुसार कथानक, पात्र, परिवेश र सारवस्तु आख्यानका आधारभूत तत्त्व हुन् । ती कथाका तत्त्व हुन् । कथन र कथयिता अर्थात् भाषा र दृष्टिबिन्दु सङ्कथनका तत्त्व हुन् (च्याटम्यान, सन् १९९३, पृ. ३ र ६०७) । सङ्कथनतत्त्वका भाषा र दृष्टिबिन्दु आख्यानको सूक्ष्म घटक हुन् भने कथातत्त्वका कथानक, पात्र, परिवेश र सारवस्तु स्थूल घटक हुन् ।

आख्यानको तह 

            आख्यानमा धेरै प्रकारका घटनाहरूको संयोजन गरिएको हुन्छ । घटनाको वर्णन वा कथाकथन आख्यानको मुख्य विशेषता हो । नाटक अनुकरणात्मक र आख्यान वर्णनात्मक हुन्छ । ग्रिसेली भाषामा अनुकरणलाई ‘मिमेसिस’ र कथाकथनलाई ‘डिजिसिस’ भनिन्छ । आख्यानमा प्रस्तुत गरिएको कथाकथनको अंश, विशेषगरी आख्यानद्वारा वर्णन गरिएको कथाकथनलाई ‘डिजिटिक’ भनिन्छ (प्रिन्स, सन् २००३, पृ. २०) । जेरार्ड जेनेटले कथाकथनलाई मूल, प्रथम वा ‘डिजिटिक’ र अन्तर्निहित, द्वितीयक वा ‘मेटाडिजिटिक’ गरी दुई प्रकारमा विभाजन गरेका छन् । मूल कथाकथनमा आख्यानका मुख्य मुख्य वृत्तान्त प्रस्तुत हुन्छन् । त्यसमा समाख्याता पात्रका रूपमा देखापर्ने अर्थात् प्रथम पुरुष दृष्टिबिन्दु र पात्रका रूपमा देखा नपर्ने अर्थात् तृतीय पुरुष दृष्टिबिन्दु गरी दुई प्रकारको हुन्छ । अन्तर्निहित कथाकथन मूल कथाकथनसँग सम्बन्धित हुन्छ । मूल र अन्तर्निहितका बिच कार्यकारणको सम्बन्ध हुन्छ । द्वितीयक कथाकथनले प्रथमको व्याख्या गर्ने, त्यसलाई पूरा गर्ने, विस्तार गर्ने र जोड्ने काम गर्दछ (जेनेट, सन् १९८०, पृ. २२८—२३४) । मिकी बलका अनुसार आख्यानात्मक पाठ प्राथमिक र अन्तर्निहित हुन्छन् । प्राथमिक समाख्याताको पाठ र अन्तर्निहित पात्रको पाठ हुन् (बल, सन् २०१७, पृ. ५१) । गौण वा अन्तर्निहित कथाकथन मूलभन्दा भिन्दै संरचना हो तर मूलको विरोधी होइन, त्यसको सहयोगी अंश हो ।

आख्यानको सम्प्रेषण

            आख्यान सञ्चार हो र साहित्यमा भाषाका माध्यमद्वारा आख्यान सम्प्रेषित हुन्छ । आख्याभित्र विनिमयको कार्य प्रधान हुन्छ, आख्यान सञ्चार गर्ने वस्तुका रूपमा रहेको हुन्छ (बार्थ, सन् २००६, पृ. ८१) । यसमा प्रेषक र प्रापक गरी दुई पक्ष हुन्छन् । लेखक प्रेषक र श्रोता वा पाठक प्रापक हुन्छ । लेखक र पाठकबिच आख्यानको आदानप्रदान नै आख्यानात्मक सम्प्रेषण हो । यस प्रक्रियामा वास्तविक लेखक, अन्तर्निहित लेखक, समाख्याता, आख्यायित, अन्तर्निहित पाठक र वास्तविक पाठकको सहभागिता हुन्छ । वास्तविक लेखक र वास्तविक श्रोता वा पाठकद्वारा कथाको सञ्चार हुने भए पनि तिनले त्यो अन्तर्निहित लेखक र अन्तर्निहित पाठकका माध्यमबाट गर्छन् । अन्तर्निहित लेखक र अन्तर्निहित पाठक मात्र कार्यका अन्तर्यामी हुन्छन् र तिनले पाठका रूपमा गर्ने आख्यानात्मक विनिमयको निर्माण गर्छन् (च्याटम्यान, सन् १९७८, पृ. २८) । वास्तविक लेखक भनेको आख्यान लेख्ने व्यक्ति हो, त्यो वास्तविक निर्माता हो । तर आख्यानको श्रवण वा पठनका क्रममा हाम्रा सामु वास्तविक लेखक हुँदैन । आख्यानमा हामीलाई यावत् कुरा कुनै काल्पनिक व्यक्ति वा अभिकर्ताले प्रस्तुत गर्दछ जसलाई हामी पाठबाट अनुमान गर्न सक्तछौँ । हामी आख्यानको पठनका क्रममा सारा कथाको निर्माणको श्रेय त्यही काल्पनिक व्यक्ति वा अभिकर्तालाई दिन्छौँ । त्यसैले त्यो पाठकद्वारा गरिएको वास्तविक लेखकको पुनर्सिर्जन हो । त्यसलाई अन्तर्निहित लेखक भनिन्छ । अन्तर्निहित लेखक भन्ने पदावली सर्वप्रथम वयन सी. बूथ (सन् १९६१) ले गरेका हुन् । अन्तर्निहित लेखकले घटना र पात्र मात्र नभएर समाख्याताको पनि चयन गर्दछ । त्यसकारण अन्तर्निहित लेखक समाख्याता होइन । समाख्यातालाई अन्तर्निहित लेखकले बनाउँछ । समाख्याता कथाप्रेषक वा कथावाचक मात्र हो, जबकि सारा कुराको योजना अन्तर्निहित लेखकको हुन्छ । समाख्याताले अन्तर्निहित लेखकको मनोभाव सम्प्रेषण गर्दछ । अन्तर्निहित लेखक आफू बोल्दैन, पाठकलाई सोझै सन्देश भन्ने काम गर्दैन (च्याटम्यान, सन् १९९३, पृ. २४०—२४२) । अन्तर्निहित लेखक प्रत्यक्ष रूपमाा देखिने जैविक लेखक नभए पनि त्यसले आख्यानात्मक पाठको वैचारिक एवं नैतिक अवस्थाको बहस र विश्लेषण गर्दछ । त्यो पाठको अर्थको स्रोत नभएर अर्थको खोजीको परिणति हो (बल, सन् २०१७, पृ. ६१) । अन्तर्निहित लेखकले कुनै निश्चित विश्वासको समुच्चय मात्र नभई आफ्नो उद्देश्यप्रति सहानुभूति राख्ने, पाठको बोध गर्न सक्ने एक निश्चित प्रकारको पाठकको पनि परिकल्पना गरेको हुन्छ । वास्तविक व्यक्ति नभएर अन्तर्निहित लेखकद्वारा कल्पना गरिएको पाठकलाई अन्तर्निहित पाठक भनिन्छ । यो अन्तर्निहित लेखकको प्रापक हो । आख्यानमा अन्तर्निहित लेखक र अन्तर्निहित पाठक सधैँ उपस्थित हुन्छन् । अन्तर्निहित पाठक आख्यायित वा सम्बोधित होइन । आख्यायितचाहिँ समाख्याताले प्रत्यक्ष रूपमा सम्बोधन गर्ने श्रोता हो । आख्यायित कथाका बारेमा कहिल्यै बोल्दैन, ऊ श्रोता मात्र हो (च्याटम्यान, सन् १९९३, पृ. २४६—२४७) । आख्यायितले कथाका बारेमा बोल्यो भने त्यो समाख्याता भइहाल्छ । आख्यायित प्रकट र अप्रकट वा पात्रका रूपमा देखापर्ने र देखापनपर्ने हुन्छ । वास्तविक लेखक र वास्तविक पाठक आख्यान विनिमयको बाहिर रहेका हुन्छन् (च्याटम्यान, सन् १९७८, पृ. १५१ र २५४) । आख्यान सम्प्रेषणमा वास्तविक लेखक र वास्तविक पाठकभन्दा अन्तर्निहित लेखक, समाख्याता, आख्यायित र अन्तर्निहित पाठकको भूमिका महत्त्वपूर्ण हुन्छ ।

कथनको प्रस्तुतीकरण

            आख्यानको मुख्य कार्य भनेको घटनावर्णन वा कथाकथन हो । कथाकथन समाख्याताले गर्दछ । समाख्याताद्वारा प्रस्तुत गरिने कथाकथनलाई च्याटम्यानले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारमा वर्गीकरण गरेका छन् । प्रत्यक्ष कथनमा पात्रले गरेका र भनेका कुराका साथै नभनेका र नसोचेका कुराको पनि वर्णन हुन्छ, त्यसको व्याख्या, मूल्याङ्कन, सामान्यीकरण जस्ता विभिन्न प्रकारको टिप्पणी हुन्छ । अप्रत्यक्ष कथनमा अप्रत्यक्ष सङ्कथनको प्रकृति, पाठको बाह्य पक्षको चित्रण, सीमित दृष्टिबिन्दु जस्ता कुरा पर्दछन् । अप्रत्यक्ष कथनमा घटना, पात्र तथा परिवेशका बारेमा भनेको स्वर सुनिन्छ, तर भन्नेवाला समाख्यानको छायामा लुकेको हुन्छ (च्याटम्यान, सन् १९७८, पृ. १९६—१९७) ।

कौतूहल

            कौतूहल र विस्मय प्रधान कथा र त्यसको उपकारकसँग सम्बन्धित हुन्छन् । कोशीय अर्थमा कौतूहल अनिश्चयात्मक हुन्छ र धेरैजसो चिन्ताजनक हुन्छ । यसमा प्रायः पीडा र आनन्द मिश्रित उत्सुकता हुन्छ  (च्याटम्यान, सन् १९७८, पृ. ५९) । कौतूहलले नै पाठकलाई पाठसँग आकर्षित गर्दछ । कौतूहल परिणाममुखी र प्रक्रियामुखी हुन्छ ।

पात्र

            पात्र कथाजगत्‌को सहभागी हो । आख्यानमा मानव जीवनको प्रस्तुति पात्रका माध्यमद्वारा हुन्छ । पात्रसम्बन्धी अवधारणा पूर्वमा भरतमुनि र पश्चिममा अरिस्टोटलदेखि नै पाइन्छ । चरित्रचित्रणमा व्यक्तिको स्पष्ट तस्बिर, उसका क्रियाकलाप र चिन्तनप्रक्रिया र जीवनको चित्रण पर्दछन् । यसमा मान्छेको प्रकृति, परिस्थिति, आनीबानी, संवेदना, इच्छा, मूलप्रवृत्ति जस्ता यावत् कुरा पर्दछन् जसले व्यक्तिको निर्माण गरेका हुन्छन् (च्याटम्यान, सन् १९७८, पृ. १०७) । परम्परागत रूपमा पात्रलाई आख्यानमा कार्यव्यापार गर्ने व्यक्ति भनिएको पाइन्छ । रूपवादी र केही संरचनावादीहरूले पनि पात्रलाई घटना सिर्जना गर्ने व्यक्तिका रूपमा लिएको पाइन्छ । उनीहरूका दृष्टिमा पनि पात्र व्यक्तिभन्दा कर्तृक हो, कार्य गर्ने व्यक्ति हो । भ्लादिमिर प्रप, टोमसेभ्स्की आदिको धारणा यही प्रकारको छ । तोदोरोभले प्रपलाई समर्थन गरे पनि उनले कथानककेन्द्री वा अमनोवैज्ञानिक र पात्रकेन्द्री वा मनोवैज्ञानिक आख्यान भनेर भिन्नता देखाएका छन् । रोलाँ बार्थ पात्रलाई प्रकार्यात्मक सङ्कुचित घेराबाट मुक्त गर्न चाहन्छन् र व्यक्तित्व एवं विशेषतामा जोड दिन्छन् । च्याटम्यानका विचारमा पात्रको व्यवहार्य सिद्धान्तले खुलापनलाई जोगाइराख्नुपर्छ अनि पात्रलाई केवल कथानकको कार्य गर्ने व्यक्तिका रूपमा नभएर स्वायत्त प्राणीका रूपमा मान्नुपर्छ । यसमा के तर्क दिनुपर्छ भने श्रोता वा पाठकद्वारा पात्रको पुनर्निर्माण गरिएको हो । पात्रको पुनर्निर्माण भन्नुको तात्पर्य “पात्रहरू कस्ता छन्” भन्ने कुराबाट खुल्दछ (च्याटम्यान, सन् १९७८, पृ. ११९) । त्यसले पात्रको व्यक्तिलाई खुला गर्दछ । आख्यानमा पात्र समाख्याताका रूपमा; सम्बोधितका रूपमा; कर्ता, कर्म, प्रेषक, प्रापक, सहयोगी, प्रतिद्वन्द्वी आदि भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा देखापर्दछ ।  

सारवस्तु

            सारवस्तुअन्तर्गत विषयसूत्र र विचार पर्दछन् । विषयसूत्र (थिम) आख्यानजगत्‌भन्दा बाहिर वास्तविक जीवनको अनुभवको जगत्सँग सम्बन्धित हुन्छ । यो कथामा पुनरावृत्ति भइरहँदैन तर कथाबाट सामान्य जीवनमा पुग्न सक्छ । अहिलेका आख्यानमा खुला–अन्त हुने भएकाले तिनका विषयसूत्र अनेक हुन सक्छन् । विषयसूत्र विचारको संरचनामा खडा हुन्छ (च्याटम्यान, सन् १९९३, पृ. २७६) । प्रत्येक पाठमा सन्दर्भ हुन्छ, सन्दर्भ पाठवरिपरि रहेको हुन्छ । त्यसैले त्यसमा विश्वास र विचार पनि रहेको हुन्छ ।

दृष्टिबिन्दु

            आख्यानमा कुनै पनि कुरालाई निश्चित पात्रका दृष्टिबिन्दुबाट हेरिएको हुन्छ । त्यसमा पात्रले सङ्केन्द्रकको कार्य गर्दछ । कथा सङ्केन्द्रकका विचार र अनुभूतिका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको हुन्छ । कथा समाख्याताको परिप्रेक्ष्यबाट भनिएको हुन्छ (फ्लुडर्निक, सन् २००६, पृ. ३६) । समाख्याताले आफ्नो दृष्टिकोणअनुासार घटनाको वर्णन गर्दछ । त्यसलाई दृष्टिबिन्दु भनिन्छ । दृष्टिबिन्दुका ठाउँमा परिप्रेक्ष्य शब्द पनि प्रयुक्त हुन्छ । दृष्टिबिन्दु भनेको चयन हो, कुनै कुरालाई हेर्ने वा अनुभूत गर्ने निश्चित तरिका हो, निश्चित कोण हो (बल, सन् २०१७, पृ. १३२) । यससँग परिप्रेक्ष्य; स्वर (भ्वाइस) अर्थात् समाख्याता, समाख्यान र व्यक्तिको छनोट; भाव अर्थात् कार्य, कथन र विचार प्रस्तुतिको रीति एवं समाख्यानद्वारा सूचना सम्प्रेषणको छनोट र प्रतिबन्धको रीति; समाख्याता अर्थात् द्रष्टा र वक्ता तथा सङ्केन्द्रण पर्दछन् । जेनेटले समाख्याताको चर्चा स्वर (भ्वाइस) सिद्धान्तअन्तर्गत गरेका छन् र दृष्टिबिन्दुलाई सङ्केन्द्रणमा समेटेका छन् । समाख्याता त्यसलाई भनिन्छ जसले कथा भन्दछ । गीत कथाविहीन हुन्छ, नाटक समाख्याताविनाको कथा हुन्छ, कथा र उपन्यासमा समाख्यातासहितको कथा हुन्छ (फ्लुडर्निक, सन् २००६, पृ. ४—५) । आख्यानमा समाख्याता नाटकीय र अनाटकीय, निरीक्षक र समाख्याता–अभिकर्ता, बहुल समाख्याता हुन सक्छ । समाख्याता वा कथयिता कथामा भूमिका निर्वाह गर्ने र नगर्ने दुवै हुन सक्छन् । कथामा भूमिका निर्वाह गर्ने प्रथम पुरुष समाख्याता हुन्छ । उसले आफ्ना विचार र अनुभूति प्रकट गर्दछ । प्रथम पुरुष समाख्याता आख्यानको प्रमुख पात्र पनि हुन सक्छ र सहायक पात्र पनि हुन सक्छ । सहायक पात्रले प्रमुख पात्रहरूको वर्णन गर्नेलाई परिधीय समाख्याता भनिन्छ । प्रथम पुरुष समाख्यातालाई आन्तरिक र तृतीय पुरुष समाख्यातालाई बाह्य पनि भनिएको पाइन्छ । तृतीय पुरुष समाख्याता सीमित र सर्वज्ञ हुन्छ । त्यसैगरी सङ्केन्द्रण असङ्केन्द्रीकरण, आन्तरिक सङ्केन्द्रीकरण र बाह्य सङ्केन्द्रीकरण गरी तीन प्रकारको हुने बताइएको छ । असङ्केन्द्रीकरणमा सर्वज्ञ समाख्याता हुन्छ, केन्द्रीय पात्रको दृष्टिकोण, अनुभूति र संज्ञानको प्रस्तुतिमा सीमित हुनु आन्तरिक सङ्केन्द्रीकरण हो र बाह्य सङ्केन्द्रीकरण बाह्य वस्तुजगत्‌को वर्णनमा केन्द्रित हुन्छ (हर्मन तथा अन्य, सन् २००५, पृ. १७३—१७४) ।

परिवेश

            आख्यानमा पात्र रहने र क्रियाकलाप गर्ने दिक् र काल परिवेश हो । त्यसका साथै परिवेशको प्रमुख कार्य भनेको आख्यानको भावमा योगदान दिनु हो (च्याटम्यान, सन् १९७८, पृ. १४१) । भाव भनेको व्याकरणिक निश्चयार्थ, आज्ञार्थ, इच्छार्थ, सम्भानार्थ होइन । यो पात्र वा सहभागीको दृष्टि वा दृष्टिकोण हो । यसलाई परिप्रेक्ष्य पनि भनिन्छ (जेनेट, सन् १९८०, पृ. १६२) । पात्र र परिवेशको सम्बन्ध हुन्छ । स्थानअन्तर्गत कथाक्षेत्र र सङ्कथन क्षेत्र पर्दछन् । आख्यानमा समय महत्त्वपूर्ण हुन्छ । आख्यान घटनाहरूको शृङ्खला हो । यसको आफ्नै विकास, गति, परिवर्तनको प्रक्रिया हुन्छ । घटनाहरू कुनै निश्चित अवधिमा घटित हुन्छन्, तिनको आफ्नै क्रम हुन्छ (बल, सन् २०१७, पृ. १७७) । समयअन्तर्गत काल, गति, लय र अवधि पर्दछन् । घटनाक्रमको दिशा या त भूततर्फ या भविष्यततर्फ हुन्छ जसलाई प्रत्यावर्तन र प्रत्याशा भनिन्छ । विभिन्न घटनाहरू, घटनाशृङ्खला एवं कथांशले ओगटेको समयको मात्राद्वारा लयको निर्धारण गर्न सम्भव हुन्छ (बल, सन् २०१७, पृ. ७१ र ८९) । लय सङ्क्षेपात्मक र दृश्यात्मक हुन्छ । सङ्क्षेपात्मकमा लयको गति तीव्र र दृश्यात्मकमा गति मन्द हुन्छ । समय आख्यानको पठन समय र कथानक समय गरी दुई प्रकारको हुन्छ । सङ्कथन समय भनेको पठन समय र कथा समय भनेको समाख्यानका घटनाहरूको अवधि हो (च्याटम्यान, सन् १९७८, पृ. ६२) । अवधि आख्यान पठनको समयसँग सम्बन्धित छ जसमा सारांश, पदलोप, दृश्य, विस्तार र विराम जस्ता कुराले प्रभाव पार्दछन् । जेनेटले आख्यानको क्रमको व्याख्या गर्ने सन्दर्भमा कालिक क्रम, आयाम, अवधि, पुनरावृत्ति जस्ता कुराको चर्चा गरेका छन् । कथा–घटनाको आयाम समय हो र कथा–अवस्थिति स्थान हो (च्याटम्यान, सन् १९७८, पृ. ९६) । जेरार्ड जेनेटले अवधि र पुनरावृत्तिका बारेमा चर्चा पनि गरेका छन् । क्रम कथामा घटनाहरूको अनुक्रमको कालिक क्रम हो र सङ्कथन समय मिथ्या समय हो । अवधि समाख्यान संयोजननमा कथाकथनको अवधि हो । त्यसैगरी आवृत्ति भनेको दोहोरिनु हो । यो कथित घटना वा कथा र कथनको पुनरावृत्ति हो (जेनेट, सन् १९८०, पृ. ३५ र ११४) ।

निष्कर्ष

            आख्यानशास्त्र आख्यानको अध्ययन गर्ने सिद्धान्त हो । आख्यानसम्बन्धी धारणा प्राचीन कालदेखि नै पाइने भए पनि रूपवादी र संरचनावादीहरूले यससम्बन्धी नौलो व्याख्या प्रस्तुत गरेका छन् । आख्यानको संरचना र संरचक तत्त्वहरूको विमर्श नै आख्यानशास्त्रको मूल पक्ष हो । त्यसमा पनि घटनाहरूको संयोजन र समाख्यानलाई बढी महत्त्व दिइएको पाइन्छ । यसले आख्यानको अध्ययनमा नौलो दृष्टि र युक्ति प्रदान गरेको छ ।

सन्दर्भसामग्री

Bal, M. (2017). Narratology: Introduction to the theory of narrative (4th ed.). University of Toronto Press.

Barthes, R. (1977). Image-music-text (Stephen H., Trans.). Fontana Press.

Barthes, R. (2004). Introduction to the structural analysis of narratives. In Mieke Bal (Ed.), Narrative theory: Critical concepts in literary and cultural studies (4th ed., Vol. 1, pp. 65-94).

Chatman, S. (1978). Story and discourse: Narrative structure in fiction and film. Cornell University Press.

Chatman, S. (1993). Reading narrative fiction. Macmillan Publishing Company.

Fludernik, M. (2009). An introduction to narratology (Patricia H.-G. and Monika F., Eds.). Routledge.

Forster, E. M. (1985). Aspects of the novel (Reprint). Penguin Books Ltd.

Genette, G. (1980). Narrative discourse: An essay in method (Jane E. L., Trans.). Cornell University Press.

Herman, D., Jah., M. and Ryan, M-L. (Eds.). (2005). Routledge Encyclopedia of Narrative Theory. Routledge.

https://www.britannica.com/art/narratology

Prince, G. (2003). A dictionary of narratology (Revised ed.). University of Nebraska Press.

तपाईंको संदेश : क्रिया - प्रतिक्रिया