Saturday, July 4, 2020

७. भवानी भिक्षुको “टाइपिस्ट” कथामा मनोविश्लेषण


भवानी भिक्षुको “टाइपिस्ट”  कथामा मनोविश्लेषण
डा. दुर्गाबहादुर घर्ती

आधुनिक नेपाली कथाको आरम्भसँगसँगैजसो सामाजिक यथार्थवादी र मनोवैज्ञानिक कथाका दुई धार स्पष्ट रूपमा देखापर्दछन् । गुरुप्रसाद मैनालीको नासो (शारदा, १९९२ जेठ) आधुनिक नेपाली कथायात्राको पहिलो पाइला मात्र नभएर सामाजिक यथार्थवादी कथापरम्पराको उठानबिन्दु पनि हो । आदर्शतर्फ निकै झुकाउ भए पनि सामाजिक जीवनको यथार्थ प्रस्तुतिप्रति मैनाली पर्याप्त सचेष्ट छन् । नासोभन्दा झण्डै छसात महिनापछि विश्वेश्वरप्रसाद कोइरालाको “चन्द्रवदन” (शारदा, १९९२ मार्ग पौष संयुक्ताङ्क) कथा देखापर्दछ । फ्रायडीय सिद्धान्तअनुकूल मानवीय अन्तर्लोकको उद्‌घाटन एवं आन्तरिक प्रेरणाले व्यक्तिका चिन्तन, विचार र व्यवहारमा पार्ने प्रभावको प्रस्तुतीकरणमा केन्द्रित कथा लेखनको परम्परा यहीँबाट सुरु हुन्छ । यो पहिलो नेपाली मनोवैज्ञानिक कथा हो र कोइराला नेपाली मनोवैज्ञानिक कथापरम्पराका प्रणेता हुन् । यही परम्परामा कोइरालाको उत्तरवर्तीका रूपमा मानव (शारदा, १९९५ भाद्र आश्विन संयुक्ताङ्क) कथा लिएर भवानी भिक्षुको आगमन हुन्छ । उनले आफ्नै निजी वैशिष्ट्यका साथ यस परम्परालाई अघि बढाउने काम गरेका छन् र उनीबाट मनोवैज्ञानिक नेपाली कथाले अझ बढी विस्तृति र उचाइ प्राप्त गरेको छ । कोइरालाका कथामा झैँ उनका कथामा रतिरागात्मकताको प्राचुर्य पाइने भए पनि उनको मनोविश्लेषणात्मक प्रयोग बढी सूक्ष्म, गहन र सघन प्रकारको छ । पात्रका मनोवृत्तिको चित्राङ्कनमा कुनै विशेष सङ्केत वा प्रतीकमा मात्र सीमित नरही विस्तृत विश्लेषण र टिप्पणीसमेत प्रस्तुत गर्नु उनको कथागत वैशिष्ट्य हो । उनका गुनकेशरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०२४) र अवान्तर (२०३४) कथासङ्ग्रह प्रकाशित छन् र केही कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
प्रस्तुत “टाइपिस्ट” कथा मैयाँसाहेब कथासङ्ग्रहमा सङ्गृहीत छ । वि. सं. २०१५ सालमा रचित (भिक्षु, २०१७‚ पृ. २६) यस कथामा सामाजिक परिवर्तनको दिग्दर्शन गराउँदै त्यही सामाजिक–पारिवारिक पृष्ठभूमिमा पात्रका अन्तर्मानसिकताको पर्यवलोकन गरिएको छ । यो निम्नवर्गीय नारीको जागरण र पराजयको अन्तः कथा हो (त्रिपाठी, २०२८‚ पृ. २४) । पात्रका बाह्य व्यवहारमा आन्तरिक प्रेरणाको प्रभाव र बाह्य वातावरणद्वारा आन्तरिक इच्छाको उद्‌बोधन यस कथाको मूल पक्ष हो । कार्यकारण सम्बन्धका आधारमा पात्रका अन्तर्बाह्य पक्षको उद्‌घाटन गरिएकाले कथामा प्रयुक्त मनोविश्लेषणात्मक सन्दर्भ बुझ्न सजिलो भएको छ ।
नारीकेन्द्री यस कथाको अग्रभूमिमा शान्ति र मीना देखापर्दछन् । कथाको शीर्षकले पनि यिनै दुई टाइपिस्ट नारीलाई इङ्गित गरेको छ । शान्ति कथावृत्तको केन्द्रकका रूपमा रहेकी छ र उसकै मनोवृत्तिको अभिव्यञ्जनामा कथाप्रवाहले गति पाएको छ । उसका मनोवाञ्छा, आचरण, विचार र व्यवहार नै यस कथाको प्राणतन्तु हो । अन्य पात्रहरू उसकै सेरोफेरोमा कारणभूत रूपमा आएका छन् ।
शान्ति र मीनाको सङ्क्षिप्त परिचयबाट यस कथाको उठान भएको छ र प्रारम्भमै शान्तिको टाइपराइटिङ्ग सिक्न चाहने इच्छाको कारण खोजिएको छ । कथामा भनिएको छ— “शान्तिले टाइपराइटिङ्ग सिक्न लागेको बखत उसको बिहे भइसकेको थियो । केवल उसले चाहिएजति पैसा खर्च गर्न नपाएर टाइपिङ सिकी । कतै कुनै नोकरी भेट्टाए पचास–साठी रुपियाँ महिनाको आम्दानी हुन सक्थ्यो र यसो कहिलेकाहीँ चाहिएको चिप्लो सारी र हलुङ्गो नीलो रङको साटनको ब्लाउज हाल्न पनि हुन्थ्यो, तथा सिनेमा पनि जान पाइन्थ्यो भनेर ऊ टाइपिङ सिक्न गएकी थिई” (भिक्षु‚ २०१७‚ पृ.१४) । यी भनाइबाट उसको अन्तर्मानसिकता बुझ्न सकिन्छ । ऊ सुख सिद्धान्त (प्लेजर प्रिन्सिपल) बाट परिचालित रहेकी छ र राम्रो लगाउने, आनन्द प्राप्त गर्ने उद्दाम चाहनाले वशीभूत भएकी छ । आनन्द वा सुखको लालसा मान्छेको आदिमकालदेखिको नैसर्गिक प्रवृत्ति हो । शान्तिमा त्यो तीव्र रहेको देखिन्छ । सुख सिद्धान्त अचेतन प्रक्रियासँग सम्बन्धित हुन्छ (वूडवर्थ, १९६५‚ पृ. २६५) । अचेतनका प्रेरणाले उद्दीप्त शान्तिका इच्छा पचास–साठी रुपियाँ मासिक आय भएको लोग्नेबाट पूर्ति हुन सक्तैन । त्यही भएर शान्तिले आफ्नो इच्छापूर्तिको उपाय आफै खोज्छे र टाइपराइटिङ्ग सिक्न जान्छे ।
शान्ति टाइपराइटिङ्ग सिक्न जान सुरु गरेका बेला उसको लोग्नेका मनमा केही चिसो पसेको भए पनि उसले शान्तिलाई रोक्न सक्तैन । त्यसका पछाडि विशिष्ट मनोवैज्ञानिक कारण देखापर्दछन् । पत्नीले टाइपिङ्ग सिकेपछि केही आम्दानी होला, कहिलेकाहीँ आफू पनि पत्नीसँगै नयाँसडक डुलेर किनमेल गर्न अथवा अरूहरूले झैँ सिँगारिएकी, ठाँटिएकी पत्नी लिई सिनेमा जान सकिएला भन्ने रहर संवरण गर्न उसले सक्तैन र पत्नीलाई रोक्न चाहने उसको तात्कालिक पुरुष–उद्वेगले फणा उठाउन पाउँदैन । शान्ति टाइपिङ्ग स्कूल जान थालेपछि ऊ झन् आकर्षक बन्दै गएकी देखिन्छ । उसका लोग्नेका दृष्टिमा ऊ अब दिनहुँ राम्री हुँदै आएकी, सिँगारिइ नै रहने र अझ प्रसन्न, हँसिली, आत्मविश्वस्त तथा केही अंशमा लोभलाग्दी किसिमसित चञ्चला देखापर्न थालेकी र बिहा हुनै आँटेकी अविवाहित युवतीजस्ती हुन गएकी छ । “लोग्नेचाहिँले यो पनि अनुभूति पायो कि कदाचित् ऊ पनि कुनै तरुणी भएकी केटीसित प्रेम गर्न लागेको छ । केटी ऊतिर आकर्षित छ, अलिकति माया गर्न लागेझैँ पनि गर्छे, तर केही अबेला छ अर्थात् उसले एउटा कृत्रिम किसिमले कुनै केटीसित प्रेमको कोर्टशिप गरेझैँ आनन्द पाउन लागेको थियो । यस्तो अनुभूति उसले आफ्नो जीवनमा यसभन्दा अघि कहिल्यै पाएको थिएन” (पृ. १४–१५ । यी प्रसङ्गहरूबाट परम्परागत यान्त्रिक दाम्पत्य सम्बन्ध र आर्थिक दुर्बलताका कारण उनीहरूले राम्ररी दाम्पत्य जीवनको आनन्दभोग गर्न नपाएको स्पष्ट हुन्छ । शान्तिले नीरस गार्हस्थ्य परिधिबाट उन्मुक्ति खोजेकी छ र सामाजिक परिवेशको संसर्ग पाउन थालेपछि उसका कुण्ठित इच्छाहरू सक्रिय हुन थालेका छन् । त्यही भएर उसमा स्पष्ट परिवर्तनको सङ्केत देखापर्दछ । घरमा भन्दा घरबाहिरको संसारमा उसले अचेतनस्तरमै सन्तुष्टि प्राप्त गरेको उसका क्रियाकलाप एवं शारीरिक सौन्दर्यमा आएको परिवर्तनबाट बुझ्न सकिन्छ । उसको कायिक तथा मानसिक परिवर्तनबाट उसको लोग्ने पनि अभिभूत भएको छ ।
टाइपराइटिङ्ग सिकेपछि शान्तिले एउटा सचिवालयको विभागमा जागिर पाउँछे । सुरुका दुई–तीन महिनासम्म कार्यालयीय प्रक्रियाका कारण तलब नपाएकी र बिहान चाँडचाँडै दस बजे खाना खाएर जागिरमा जानुपर्ने हुँदा ऊ घरकी बुहारीभन्दा पनि छोरीबेटी जस्ती हुन पुगेकाले घरमा असन्तुष्टिको वातावरण उत्पन्न भए पनि तीन महिनाको एकमुष्ट तलब एक सय असी रुपियाँ सासूको अगाडि लोग्नेका हातमा राखिदिएपछि घरको नरमाइलोपनको असर तत्कालै विलुप्त हुन्छ । तलब पाएपछि राम्रा सारी ब्लाउज किन्ने र सिनेमा हेर्न जाने शान्तिको इच्छा अनि अरूझैँ आफू पनि पत्नीसँगै नयाँसडक डुलेर किनमेल गर्ने र सिँगारिएकी, ठाँटिएकी पत्नी लिएर सिनेमा हेर्न जाने उसका लोग्नेका इच्छाले एकैसाथ सन्तुष्टि प्राप्त गरेको देखिन्छ । शान्ति तलब पाएको भोलिपल्ट लोग्नेका साथ बजार जान्छे, एउटा सारी र दुई–तीन पीस ब्लाउजको कपडा किन्छे । “पसलेको चालीस–पचास रुपियाँको बिल तिर्न जब बेपर्बाहीसाथ उसको लोग्नेले रुपियाँ झिकी काउन्टरमा फाल्यो, त्यस बखत उसमा पनि एउटा गौरवको अनुभूति भएको कुरा शान्तिले थाहा नपाई रहिन । अझ लोग्नेतर्फबाट ऊ झन् आत्मविश्वस्त भएकी थिई” (पृ. १५) । यसबाट ती दुवैको कुण्ठित अहम्भावले सन्तुष्टि प्राप्त गरेको स्पष्ट हुन्छ । कपडापसलमै लाडे भएर शान्तिले सिनेमा हेर्न जान लोग्नेसँग ढिपी गर्छे र उनीहरूले बाल्कोनीमा पहिलोपटक सँगै बसेर सिनेमा हेर्छन् । शान्तिले आफ्नो चाहनाको परिपूर्तिका लागि जसरी आपूmलाई सक्रिय तुल्याएकी छ र सफलता पनि प्राप्त गरेकी छ, त्यसबाट उसको इच्छाशक्तिको प्रबलता बुझ्न सकिन्छ । नवफ्रायडवादी ओट्टो रेङ्कले इच्छाशक्तिलाई व्यक्तित्वविकासको आधार मानेका छन् र इच्छाशक्तिलाई तीन प्रकारमा वर्गीकरण गरेका छन्— प्रतिकूल इच्छाशक्ति, प्रतिस्पर्धात्मक इच्छाशक्ति र सकारात्मक इच्छाशक्ति (वोल्म्यान, १९९५‚ पृ. ३२०–३२१) । शान्तिमा अरूजस्तै बन्न चाहने प्रतिस्पर्धात्मक इच्छाशक्ति रहेको छ ।
शान्तिले मासिक साठी रुपियाँ तलबमध्ये खाजा खान र आफूखुशी खर्च गर्नका लागि केही रकम राखी चालीस रुपियाँ घरमा बुझाउँछे र त्यही रकमका कारणले घरमा उसको व्यक्तित्वले विशेष स्थान पाएको छ । “यसैले त्यस घरमा शान्तिको अवस्थिति पत्नी र बुहारीको मात्रै नरही चालीस रुपियाँको प्रमुख अनिवार्यताको पनि हुन गएको थियो, र त्यो त्यस घरमा बस्ने एउटी केटी टाइपिस्टले झैँ लगाउनु, घुम्नु, बस्नु, खानु, जानु, आउनु, र कमाउनुको बेग्लै किसिमको व्यक्तित्वमा मान्य तथा निश्चित हुन गएकी थिई” (भिक्षु‚ २०१७‚ पृ. १६) । शान्तिको अहिलेको बेपर्बाहीपन उसको लोग्नेलाई कहिलेकाहीँ अन्तर्हृदयमा बिझ्ने र शान्ति आफ्नी अनुवर्तिनी पत्नीभन्दा कोही अर्कै युवतीजस्तो लाग्ने भए पनि घरव्यवहारका लागि पत्नीप्रदत्त आयको विशेष महत्त्व भएकाले ऊ त्यतातिर त्यति आग्रहशील हुन सक्तैन र उसको मानसिक उद्विग्नता चाँडै नै सेलाउँछ । निश्चय नै उसमा पनि युवकोचित स्वाभाविक इच्छाहरू नभएका होइनन्, तर उसका आय र परिस्थितिले ती पूरा हुन पाएका छैनन् । आफ्नी पत्नीलाई एउटी अर्कै टाइपिस्ट केटीका रूपमा आत्मसात् गरी उसले त्यस अभावको क्षतिपूर्ति गर्दछ र उसका कुण्ठित इच्छाले  सन्तुष्टि प्राप्त गर्दछन् । “विशेषतः आफ्ना अनेकौँ कठिनाइहरूभित्र ऊ एक किसिमको हलुङ्गोपनाको उपलब्धि गथ्र्यो र शान्तिसँग उसको हृदयको आघात–सङ्घात पत्नीजस्तोको प्रतिको नभई एउटी टाइपिस्ट केटीको प्रति भएको जस्तो हुन्थ्यो जसको प्रेमाघातको गाँठो उसलाई फुकाउनु, सुल्झाउनु थियो; र यसरी माथिल्लो मनस्तरमा ऊ उल्लसित नै हुन्थ्यो” (पृ. १६) ।
जागिर खान थालेको केही दिनपछि त्यहीँ नजिकै भएको अर्को विभागमा काम गरिरहेकी टाइपिस्ट मीनासँग शान्तिको मित्रता कायम हुन्छ । दिउँसो दुई–तीन बजेतिर मीना उसलाई चिया खान बोलाउन आउँछे र होटेलको एउटा बेग्लै कोठामा चिया खाँदै उनीहरू अन्तरङ्ग कुरा गर्न थाल्दछन् । “मीना नवयुवती कुमारी र चञ्चला पनि थिई । कुरा ऊ नै सुरु गर्थी । मोजका कुरा भएर दुवै पूर्ण मनोयोगसित आनन्द लिन परस्पर भाग लिन्थे” (पृ. १६) । एकान्तमा मोजका कुरा गरेर आनन्द लिनु अचेतनमा निहित यौनेच्छाको प्रेरणा हो । मीना अविवाहित युवती भएकाले उसका कामेषणाले तृप्तिको अनुभूति गर्नै पाएको छैन भने सुख सिद्धान्तबाट परिचालित शान्तिका इदम्को इच्छाले विभिन्न कठिनाइले जकडिएको लोग्नेबाट सन्तृप्ति पाउन सकेको छैन । त्यसैले उनीहरू आपसमा रतिरागसम्बन्धी कुरा गरेर सन्तुष्टि लिन्छन् । आफ्नै अतृप्त चाहनाको प्रकटीकरण गरे पनि वस्तुतः मीना शान्तिको यौन बुभुक्षालाई उद्दीप्त पार्ने प्रेरकका रूपमा देखापर्दछे । उसले शान्तिका अन्तरवृत्तिहरूलाई जागृत तुल्याउने काम गरेकी छ (भण्डारी, २०५२‚ पृ. २१९) । “लौ, कल्पना गर कि तिम्रो बिहा भएको छैन । केटाकेटी भएकै छैनन्, लोग्ने एकातिर छँदैछ, केको बिहा, होइन ? आफैँ कमाउने आफैँ खाने, हगि ! अँ, अब भन कि कसैले तिमीलाई माया गर्न थालेको छ, अझ त्यो धनी पनि छ, उसले तिमीलाई सिनेमा जान निम्त्यायो भने तिमी के गछ्र्यौ ? भन त ...!” (भिक्षु‚ २०१७‚ पृ. १६–१७) भन्दै उसले शान्तिका आन्तरिक इच्छालाई झकझकाइरहन्छे, शान्तिले जान्नँ भन्दिन्छु भन्दा तिमी नगए उसले दुःख मान्छ, ऊ बोल्नै छाडिदिन्छ, कतै भेट भए निन्याउरो मुख लगाएर चुपचाप यसो तिमीतिर हेरी मुख फर्काएर जान्छ अनि तिमीलाई दुःख लाग्दैन ? भन्छे । शान्तिले आपूmलाई केही दुःख नलाग्ने बताएपछि उसले दुःख नलागी छोड्छ र ? तिमी उसकी प्रेमिका, यतिका दिनसम्मन् उसलाई हेर्न, ऊसित कुरा गर्न पाए मनमा कस्तोकस्तो सुख लाग्ने, हेर्न नपाए मुटु नै दुखेजस्तो हुने, केके हराएको, के गुमाएको जस्तो भइरहने हुन्छ, अनि ऊ निन्याउरो मुख लगाएर, तिमीलाई मुटु नै नराख्ने केटी भन्ठानी भित्रभित्रै रोयो, चुपचाप कल्प्यो भने कस्तो हुन्छ त ? भन्दछे । उसका यी कुरा सुनेर शान्तिलाई कस्तोकस्तो लाग्छ र एकछिन ऊ चुप लागेर सम्झन्छे— “साँच्चीकै यस्तो भए उसलाई सहिनसक्नु हुन्छ कि ? तर यस्तो त अझसम्म कहिल्यै भएको छैन ! हुन्छ होला त ?” (पृ. १७) । यस भनाइबाट उसले अझसम्म प्रेमानुभूति प्राप्त गर्न नसकेको स्पष्ट हुन्छ । त्यही भएर मीनाले उसलाई आइमाई भएर पनि माया गर्नु र माया गरिन पनि कहिल्यै नपाएकी भनेर टिप्पणी गर्छे । घरमा लोग्ने छँदाछँदै शान्तिले अतृप्तिबोध गर्नुको कारण यी प्रसङ्गहरूबाट बुझ्न सकिन्छ । “यस्तै कुरा तिनीहरूमा चल्दथे र अफिसमा टाइपिङ टेबुलमा बसी, काम भए गर्दै नभए त्यसै ती दुवै भर्खरै भएका कुराहरू मनमनै अनेकौँ रूपमा लम्ब्याउन थाल्दथे र आफ्ना काल्पनिक सुखदुःखमा रमाउन लाग्थे” (पृ. १८) । यथार्थमा प्राप्त गर्न नसकिएको कुरा कल्पनाका माध्यमद्वारा पूर्ति गर्ने यो एक प्रकारको मनोरचना हो (भण्डारी, २०५६‚ पृ. ९३) । यसलाई कल्पनातरङ्ग वा स्वैरकल्पना भनिन्छ । स्वैरकल्पनाको प्रेरक शक्ति अतृप्त इच्छा हो र हरेक स्वैरकल्पना इच्छाको परिपूर्ति नै हो (फ्रायड, १९८९‚ पृ. ३८) ।
शान्ति र मीनाको व्यक्तित्व परस्पर भिन्न प्रकारको देखिन्छ । शान्तिमा नारीपन र मीनामा पुरुषपनको प्रबलता रहेको छ । उनीहरूबीचको घनिष्ठताका कारण त्यो पनि हो । एक दिन शान्ति र मीना चियापसलको कोठामा चिया खाइरहेका बेला एउटा युवक त्यहीँ बस्न आउँछ र कोठामा दुईजना केटी मात्र देखेर तुरुन्तै फर्किहाल्छ । शान्ति र मीना त्यस युवकले सुन्ने गरी अट्टहास गरेर हाँस्छन् । युवक ती केटीहरूलाई देख्ने गरी तिनीहरूको नजिकै अर्को कोठामा गएर बस्छ र चुपचाप चिया खान थाल्दछ । युवकले नसुन्ने गरी शान्तिले यसरी हाँसेको त्यसले के भन्ठान्यो होला भनेर पीर गर्छे भने मीनाले सहज ढङ्गमा हामीभन्दा तल्लो खालको व्यक्तित्व ठान्यो होला भन्छे । त्यसो भने तापनि ऊ हीनताभावले ग्रस्त छैन । उसले नारी आगो हो, त्यही भएर त्यो युवक त्यहाँ बस्नै सकेन भन्दछे, नारीलाई लोग्नेमानिसले कहिल्यै हेप्न नसक्ने र पुरुषभन्दा माथिल्लो तहको ठान्दछे । बिहे भएपछि लोग्नेको अधीनमा रहनुपर्छ भन्ने शान्तिका कुरा उसलाई मान्य छैन । आफ्नो रवाफमा रहे लोग्नेलाई पनि मान गर्न कर लाग्छ भन्ने उसको धारणा छ । हामी त्यसरी हाँसेको त्यस युवकले अब सम्झिरहन्छ, हामीलाई सम्झँदै हामीमध्ये को राम्री भनेर तुलना गर्न थाल्छ भन्दै बिहा भइसके पनि राम्री तैँ छेस्, उसले तँलाई माया गर्न लाग्यो भने के गर्छेस् भनेर मीनाले प्रश्न गरिरहन्छे । उसका कुराले शान्तिका अन्तरमा रहेको अतृप्त इच्छा जागृत हुन्छ । “कुन्नि किन हो, शान्तिले त्यस दिन लगातार यस प्रश्नबाट फुर्सतै पाइन कि उसलाई कसैले कहिल्यै माया गरेको छ र ? यस सिलसिलाको मानसिक कल्पनामा कैयौँ पटक उसको लोग्ने पनि उभियो, तर त्यहाँ लोग्नेबाहेक अरू केही पनि पाइएन । बरु त्यसकै छेउमा आजै चिया खान आएको त्यो युवक पनि उभिदिन्थ्यो” (भिक्षु‚ २०१७‚ पृ.२०) । त्यस युवकले आपूmलाई माया गर्छ होला त ? भन्ने प्रश्न उसका मनमा उब्जिरहन्छ र ऊ आफै लजाउँछे । उसले सकेसम्म त्यस युवकलाई भुल्ने प्रयास गर्छे तर त्यो उसको स्मृतिमा चियाउन आइरहन्छ । “उसलाई सोच्नु नपर्ने कुरा किन आयो ? फेरि सोच्न नखोज्दा झन् त्यो सम्झिन जान्छ, यही त होइन माया ?’ उसले फेरि बल लगाएर बिर्सन खोजी । क्रम भरदिन चली नै रह्यो” (पृ. २०) । यी भनाइहरूबाट उसको मानसिक उद्वेलन बुझ्न सकिन्छ ।
पहिलो भेटमै शान्ति त्यस युवकप्रति अत्यन्त आकर्षित भएकी छ । भोलिपल्ट शान्तिलाई दुई बज्न अबेला भइरहेजस्तो अनुभव हुन्छ र दुई बज्नेबित्तिकै शान्ति पहिलोपटक आफै मीनालाई बोलाउन जान्छे । चियापसलमा पुगेपछि बाहिरको टेबुलमा नजर घुमाउँछे, चिया ल्याउन ढिलो नभए पनि छिटो ल्याउन भन्नका लागि बाहिर जान्छे र फर्कंदा एक पटक कोठाभरि नजर घुमाउँछे, तर युवकलाई पाउँदिन । उसको मनोभाव मीनाले राम्ररी नै बुझेकी छ र उसलाई हेर्न आत्तुरी परेको भनेर जिस्क्याउँछे, ऊ पक्कै आउँछ भनेर सान्त्वना पनि दिन्छे । नभन्दै एकछिनपछि युवक आउँछ र चिया मगाई उनीहरूलाई नहेरझैँ गरेर हेर्न थाल्दछ । शान्ति र मीनाले चाल नपाएजस्तो गरेर अप्रत्यक्ष रूपमा उसलाई हेर्ने अवसर प्रदान गरिरहन्छन् । धेरै दिनसम्म यो क्रम लगातार चलिरहन्छ । शान्ति त्यस युवकप्रति आसक्त हुन थालेकीले उसको व्यवहारमा पनि परिवर्तन देखापर्दछ । यो कुरा “शान्तिको लोग्ने, कुन्नि के पाएर हो, अब शान्तिसित धेरैबेर कुरा गर्न खोज्दथ्यो । ऊ कुरा गर्न पनि गर्थी, बस्न पनि बस्थी, सधैँको झैँ दुवै एउटै कोठामा सुत्न पनि सुत्थे, तर उसको लोग्नेलाई अज्ञातमा नै के लाग्न थाल्यो भने यता केही दिनदेखि उसकी स्वास्नी पहिलेकी झैँ चञ्चला, केटीजस्ती रहन गइन” (पृ. २१–२२) भन्ने भनाइबाट पनि थाहा पाउन सकिन्छ । उनीहरूको दाम्पत्य जीवनमा पहिलेको झैँ उही एकनासे विरसता आउन थाल्दछ । शान्तिमा एकप्रकारको गम्भीरता देखिन थालेको छ र मीनासँग पनि पहिलेको जस्तो धेरै कुरा हुँदैन । युवकले सधैँ त्यसरी हेर्ने गरेकोमा मीना रोष प्रकट गर्दा शान्तिले तँलाई बिहा गर्न खोजेको होला भनेर जिस्क्याउँछे । मीना भने आपूmलाई शान्तिले नराम्री ठानी, प्रतिस्पर्धामा हारेको ठानी भन्ने लागेर रिसले भुतुक्क हुन्छे र त्यही झोँकमा “तैँ बढी राम्री, पोइ छोडेर ऊसितै गए त भइहाल्छ नि ! किन जान्नस् त ?” (पृ. २३) भन्दछे । उसका कुराले शान्तिले व्यक्त गर्न नसकेको, दरो मन गरेर निर्णय गर्न नसकेको कुराले अभिव्यक्ति पाएको छ । त्यस दिन उसको लोग्नेलाई शान्ति कतै टाढा गएकी जस्ती, नरुचाएकी जस्ती, निर्जीव, थकित, शिथिल, निःसत्व निस्सारझैँ लाग्दछ । वास्तवमा शान्ति युवकको प्रेममा एकोहोरिएकी छ । मीनाको त्यही भनाइ उसको स्मृतिमा गुन्जिरहन्छ ।
शान्तिको ऊहापोह र विकलताको अवस्था धेरै दिन रहँदैन । सधैँ झैँ चियापसलमा चिया खाइरहेको बेला युवकलाई खोज्दै उसकी पत्नी आइपुग्छे । उसको आगमनले कथाको घटनाले नौलो मोड लिन्छ । त्यो देखेर मीनालाई हाँसो उठ्छ, शान्ति भने स्तम्भित हुन्छे । युवकले शान्ति र मीनातिर थाहा नहुने गरी नजर लगाउँछ र उसकी पत्नीको आँखा पनि त्यतातिर पर्दछन् । अज्ञात रूपमा नै मीनाको ओठबाट फुस्कनै लागेको हाँसो देखेर युवककी पत्नीलाई आपूmलाई गिज्याएको झैँ लाग्छ । उसले रिसाउँदै आफ्नो पतिसँग ती युवतीहरूका बारेमा सोध्न थाल्छे । त्यसले उनीहरूको मानसिकतामा अनौठो परिस्थितिको सिर्जना गरिदिन्छ । मीना चपलतापूर्वक प्रसन्न हुन थाल्छे, शान्ति आहत हुन्छे, युवक हतबुद्धि भई उकुसमुकुस हुन थाल्छ र युवककी पत्नी अपमानित भएकी र गिज्याएजस्तो अनुभव गर्न थाल्छ । मीना त्यसरी प्रसन्न हुनुबाट शान्तिप्रति उसको प्रतिस्पर्धी भाव झल्किन्छ र परपीडनको लक्षण पनि परिलक्षित हुन्छ । शान्ति आहत हुनुबाट उसमा युवकप्रति प्रबल प्रणयासक्ति रहेको बुझिन्छ । युवक तत्कालीन परिस्थितिमा पत्नी र युवतीहरू दुवैथरीलाई गुमाउन नचाहने र ती दुवैथरीलाई एकैसाथ प्राप्त गर्न पनि नसकिने हुँदा अन्तद्र्वन्द्वमा फसेको छ । युवककी पत्नी ईष्र्या र हीनताबोधले आक्रान्त हुनपुगेकी छ । युवतीहरूप्रति त्यस युवकको आसक्ति भए पनि पत्नीको क्षोभ हटाउन उसले “छिः चुप लाग न ! यी टाइपिस्ट पो त ... । यिनीहरूको खाल नै यस्तै हुन्छ ...।” (पृ. २५) भन्छ । त्यस भनाइले सबैमा क्लेश उत्पन्न गराउँछ र शान्तिका मानसिकतामा बज्रपात नै पर्छ । दिनभरि उसका मानसपटलमा युवकका त्यही कुरा नै आइरहन्छ । “राती सुत्ने बेलामा शान्तिको पतिले आपूmलाई जब आपूmलाई एकाएक एउटा बिलकुलै नयाँ किसिमको आवेग, उद्वेगपूरित आलिङ्गनको दृढप्रगाढतामा पायो, उसले बुझ्नै सकेन कि सधैँ उछिट्टिई नै जस्ती रहने उसकी टाइपिस्टलाई, उसकी चञ्चलालाई, आज के हुन गएछ ? ऊ सम्झने चेष्टा नै गरिरहेको थियो कि अँध्यारोमा उसले ऊसितै टाँसिएकी पत्नीको, अचानक कुन्नि कुन मूलबाट फुटेर आएको, अबाध, लगातारको सुँक्कसुँक्क सुन्यो; पत्नीको मुख उठाउने चेष्टा गर्दा तातो आँसुले उसको हातै भिज्यो” (पृ. २५–२६) । युवकको कटु वचनले शान्तिको कोमल भावनामा आघात परेको छ, त्यसप्रति मोहभङ्ग भएको छ र उसको अन्तव्र्यथा आँसु बनेर पतिसामु पोखिएको छ ।
निष्कर्षतः प्रस्तुत कथा मनोविश्लेषणामक सिद्धान्तका आधारमा पात्रका अन्तर्बाह्य पक्षको उद्‌घाटनमा सफल रहेको छ । नैसर्गिक इच्छा र परिस्थितिको द्वन्द्वमा पिल्सिएका पात्रहरूलाई उभ्याई तिनको मनोवृत्तिलाई अत्यन्त सूक्ष्म ढङ्गले देखाउनु यस कथाको उल्लेखनीय पक्ष हो । अनियन्त्रित मनोवाञ्छाको अधीनमा परेर अनैतिक र अमर्यादित दिशातिर लम्केकी पात्रलाई विशेष परिस्थितिको सिर्जना गरी नैतिक आदर्शको मार्गतर्फ फर्काइएको देखिए पनि त्यसमा मनोवैज्ञानिक आधार लिइएको छ । मनोविश्लेषणात्मक प्रयोगका दृष्टिले यो एउटा उत्कृष्ट रचना हो र मनोवैज्ञानिक कथापरम्परामा यसलाई एउटा महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ                                                                                                                                                      
सन्दर्भसामग्री
त्रिपाठी, वासुदेव (२०२८). विचरण. भानु प्रकाशन ।  
भण्डारी, कृष्णप्रसाद (२०५६). फ्रायड र मनोविश्लेषण. साझा प्रकाशन ।
भण्डारी, गोपालप्रसाद (२०५२). भवानी भिक्षुका कथामा मनोविज्ञान (अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध). त्रिभुवन विश्वविद्यालय ।
भिक्षु, भवानी (२०१७). मैयाँसाहेब. नेपाल एकेडेमी ।             
Freud, S. (1989) Creative writers and day-dreaming.  Twentieth century literary criticism, a reader (David Lodge, Ed.; 13thh ed.).  Longman Group UK Limited.
Wolman, B. B. (1995).  Contemporary theories and systems in psychology (2nd ed.). Freeman Book Company.
Woodworth, R. S. (1965). Contemporary schools of psychology. Methuen 7 Co. Ltd.
        



                                                  





Tuesday, June 23, 2020

५. ‘वसन्ती’ उपन्यासमा ऐतिहासिक सन्दर्भ


वसन्ती’ उपन्यासमा ऐतिहासिक सन्दर्भ
                                 डा. दुर्गाबहादुर घर्ती

   नेपाली उपन्यास परम्परामा ऐतिहासिक उपन्यासको वास्तविक स्वरूप डायमनशम्शेर राणाको वसन्ती (२००६) देखि देखापर्दछ । यसअघि ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास लेखिँदै नलेखिएका चाहिँ होइनन् । नेपाली साहित्यमा ऐतिहासिक विषयवस्तुमा आधारित गद्याख्यानको प्रारम्भ अनुवाद परम्पराबाट भएको देखिन्छ । गोरखापत्रमा वि. सं. १९६० फागुनदेखि १९६२ वैशाखसम्म धारावाहिक रूपमा प्रकाशित नरदेव पहिलो ऐतिहासिक उपन्यास लेखनको प्रयास हो । यो हिन्दी उपन्यासबाट अनूदित कृति हो र यसका मूल लेखक रामप्रताप शर्मा हुन् । त्यसैगरी गोरखापत्रमा नै वि. सं. १९६१ आषाढदेखि १९६२ वैशाखसम्म धारावाहिक रूपमा प्रकाशित वीरमालोजी भोँसले पनि हिन्दी उपन्यासबाटै अनुवाद गरिएको हो । यसका मूल लेखक रामजीवन नागर हुन् । चन्द्र पत्रिकामा १९७१ मा प्रकाशित रमेशचन्द्रद्वारा बङ्गाली भाषामा लिखित एवं विज्ञान विलासद्वारा अनूदित वङ्गविजेता ऐतिहासिक परिवेशमा आधारित छ । नेपाली उपन्यास परम्परामा मौलिक रूपमा ऐतिहासिक उपन्यास लेखनको पहिलो प्रयासका रूपमा अम्बालिका देवीको राजपूत रमणी (१९८९) देखापर्दछ । त्यसपछि टुकराज पद्‍मराज मिश्रका रजबन्धकी (१९९६) र रामकृष्ण कुँवर राणा (१९९९) उपन्यास प्रकाशित भएका छन् । राजपूत रमणीमा इतिहाससिद्ध तथ्यको अभाव खट्किन्छ भने रजबन्धकीरामकृष्ण कुँवर राणा औपन्यासिक कलाभन्दा ऐतिहासिक तथ्य वर्णनको आधिक्यले ती ऐतिहासिक उपन्यासभन्दा पनि इतिहास जस्ता लाग्छन् । औपन्यासिक कला एवं ऐतिहासिक तथ्यलाई समन्वित गरी लेखिएको पहिलो नेपाली उपन्यास डायमनशम्शेर राणाको वसन्ती नै हो ।
   ऐतिहासिक उपन्यास उपन्यास विधाको एउटा भेद हो । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान शब्दले सामान्य अर्थमा कथा, कहानी, किस्सा भन्ने बुझाउँछ । आख्यान व्यापक अर्थमा गद्य वा पद्यमा रचित साहित्यिक कथा हो भने सङ्कुचित अर्थमा गद्यमा लेखिएको कथा मात्र हो । पाश्चात्य साहित्यमा आख्यान शब्दको प्रयोग उपन्यासको पर्यायका रूपमा पनि गरिएको पाइन्छ (अब्राम्स तथा हेर्फाम, २००५‚ पृ. ९९) । कथा कथन उपन्यासको मुख्य पक्ष हो । ई. एम. फस्टर आफ्नो व्याख्यानमा उपन्यासले कथा भन्छ (फस्टर, १९८५‚ पृ. ५३) भन्ने कुरामा जोड दिन्छन् । विलियम हेनरी हडसन उपन्यास केही होस् कि नहोस्, कम्तीमा एउटा कथा हो (हडसन, १९७९‚ पृ १३६) भन्दछन् । आख्यान कल्पनामा आधारित साहित्यिक लेखन हो (हेर्मन, २००६‚ पृ. २१६) अर्थात् प्रायः गद्यमा आधारित काल्पनिक कार्य हो (कडन, १९९९‚ पृ. ३२०) । मोहनराज शर्माका अनुसार “आख्यान कल्पित वा बनाइएको कथा हो” (शर्मा, २०५५‚ पृ. ३७६) । विद्बान्‌हरूका यी भनाइहरूबाट उपन्यासको मुख्य पक्ष कथा कथन हो र त्यो कथा उपन्यासकारको कल्पनामा आधारित हुन्छ भन्ने देखिन्छ ।
   उपन्यासको कथा वा घटना काल्पनिक हुने भए पनि तिनको सम्बन्ध कुनै न कुनै रूपमा यथार्थ पक्षसँग हुन्छ । सामाजिक, ऐतिहासिक, जीवनीपरक, आत्मकथात्मक जस्ता उपन्यास यथार्थमा आधारित हुन्छन् । त्यसो भए तापनि त्यस्ता उपन्यासमा यथार्थ वस्तुसत्यको वर्णन मात्र हुँदैन, त्यसमा उपन्यासकारले कल्पना, सम्भाव्यता र आवश्यकताका आधारमा धेरै कुरा थपघट र परिवर्तन गर्दछ । उपन्यासलाई रोचक, जीवन्त र सरस बनाउनका लागि त्यसो गर्नु आवश्यक हुन्छ । यथार्थको वस्तुगत वर्णन मात्र भयो भने त्यो उपन्यास नभएर प्रतिवेदन, इतिहास, जीवनी, आत्मसंस्मरण आदि हुन पुग्दछ । तिनले काव्यिक आनन्द प्रदान गर्न सक्तैनन् र ती साहित्यका कोटिमा पर्न पनि सक्तैनन् । ऐतिहासिक उपन्यासमा ऐतिहासिक घटनालाई कथावस्तुको आधार बनाइएको हुन्छ । त्यस्ता उपन्यासमा इतिहासको पुनरावृत्ति नभएर इतिहासको पुनर्निर्माण गरिएको हुन्छ (कडन, १९९९‚ पृ. ३८३) । त्यसका लागि ऐतिहासिक तथ्यका साथै काल्पनिक आधार पनि लिइएको हुन्छ । त्यसैले ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको मिश्रण हुन्छ । इतिहासले ऐतिहासिक तथ्यको सूचना दिन्छ भने कल्पनाले त्यसमा कलात्मकता र जीवन्तता प्रदान गर्छ । ऐतिहासिक उपन्यासमा इतिहास कथावस्तुको अस्थिपञ्जर हो र कल्पनाका माध्यमद्वारा त्यसमा मांसलता भर्ने काम गरिन्छ । त्यसैले ऐतिहासिक उपन्यासमा इतिहासको रक्षा गर्नुका साथसाथै त्यसको स्वरूपलाई कल्पनाद्वारा स्पष्ट गर्नु पनि आवश्यक हुन्छ । उपन्यास इतिहासको अन्धानुकरण हुन सक्तैन, सबभन्दा पहिला त्यो उपन्यास हो । त्यसका साथै त्यो इतिहास पनि हो र त्यसको मर्यादाको रक्षा पनि गर्नु पर्दछ । त्यसैले त्यसमा कल्पना अनियन्त्रित हुन सक्तैन (वर्मा तथा अन्य, सम्पा., १९८५‚ पृ. १२८) । ऐतिहासिक उपन्यासको सफलताको परीक्षण त्यसको औपन्यासिक कला र इतिहासको रक्षाको अध्ययनद्वारा हुन सक्तछ ।
   नेपाली उपन्यास परम्परामा वसन्ती उपन्यासको महत्त्वपूर्ण स्थान रहेको छ । यसै उपन्यासदेखि ऐतिहासिक यथार्थवादी धाराको प्रारम्भ भएको मानिन्छ (प्रधान, २०४३‚ पृ. १३१) । यस उपन्यासमा वि. सं. १८९५ भदौदेखि १९०३ भदौ ३१ गतेसम्मको नेपालको राजनीतिहक इतिहासलाई विषयवस्तुगत आधार बनाइएको छ । त्यसो भए तापनि यस उपन्यासमा प्रस्तुत गरिएका घटनावली कति ऐतिहासिक र कति अनैतिहासिक अनि कति ऐतिहासिक तथ्यमा आधारित र कति ऐतिहासिक तथ्यसँग बाझिएका छन् भन्ने कुरा विचारणीय छ । उपन्यासको भूमिकामा दीनानाथ ‘शरण’ ले “वसन्ती एक सामाजिक र ऐतिहासिक उपन्यास हो” भनेका छन् । यसबाट यो उपन्यास विशुद्ध ऐतिहासिक उपन्यास होइन भन्ने बुझिन्छ । ऐतिहासिक घटना, पात्र र परिवेश हुँदाहुँदै पनि कतिपय काल्पनिक घटना र पात्रको प्रयोगले गर्दा उपन्यासमा सामाजिकता र ऐतिहासिकताको दोहोरो भङ्गालो फुटेको छ । त्यही भएर इतिहासकार नयराज पन्तले “वसन्तीमा इतिहासको भाग अत्यन्त कम र असत्य कल्पना चाहिँ ज्यादै बढी देखियो” (पन्त, २०६५‚ पृ. २४६) भनेका छन् । त्यसैगरी शम्शेरका ऐतिहासिक उपन्यासमा तथ्यबारे मतभेद ठाउँ नपाउन सक्तैन (प्रधान, २०४३‚ पृ. १३२), राणाका उपन्यासमा इतिहासका प्रामाणिक घटनालाई विचलन गर्ने जुन काम भएको छ त्यसले इतिहासको रक्षाको प्रश्न अवश्य उठाएको छ (पोखरेल, २०६५‚ पृ. २२२) भनिएको पनि पाइन्छ । काल्पनिकता एवं ऐतिहासिक तथ्यको विचलनले गर्दा वसन्ती उपन्यासको कतिपय ऐतिहासिक सन्दर्भ निर्विवाद बन्न सकेको छैन ।
   वसन्ती उपन्यासमा वसन्तीसँग सम्बन्धित कथा ऐतिहासिक तथ्यमा आधारित नभएर काल्पनिक छ । वसन्ती इतिहाससिद्ध पात्र होइन । उसका बारेमा अहिलेसम्म इतिहासकारहरूले कतै उल्लेख नगरेकाले उसलाई ऐतिहासिक पात्र भन्न गाह्रो छ (पोखरेल, २०६८‚ पृ. १२०) । वास्तवमा वसन्ती उपन्यासकारद्वारा सिर्जिएकी काल्पनिक पात्र हो (राई, २०५०‚ पृ. १०४) । उपन्यासको केन्द्रीय पात्र वसन्ती काल्पनिक भएकाले ऊसँग सम्बन्धित अन्य पात्रहरू पनि काल्पनिक नै रहेका छन् । उसको प्रेमी गगनसिंह ऐतिहासिक पात्र भए पनि उसको वसन्तीसँगको सम्बन्ध कल्पनामा आधारित छ ।
वसन्ती काल्पनिक पात्र भए पनि उसको चरित्रमा ऐतिहासिक पक्ष आरोपित छ । त्यति बेला केटीहरू दरबार पस्ने, दरबारका कारिन्दासँग तिनीहरूको प्रेम बस्ने, दरबारबाट भाग्ने घटनाको प्रशस्त उदाहरण पाइन्छ । जावलाखेलकी मिठु दरबारी कर्मचारी गगनसिंहसँग प्रेम भएपछि दरबार पस्छे र वसन्ती नाम पाउँछे । एक वर्षपछि ऊ गगनसिंहसँग भाग्दछे । ऊ इतिहासमा वर्णित पुतली नानीसँग तुलनीय छे । पुतली नानी राजदरबारकी सुसारे हो । ऊसँग जङ्गबहादुरले प्रेमलीला रचाउने मौका पाए । उसबाट जङ्गबहादुरले राजदरबारसम्बन्धी जानकारी, सूचना, अर्ति बुद्धि पाउँदथे (ज.ब.रा., २०६५‚ पृ. १२) । कोतपर्व र भण्डारखाल पर्व जस्ता काण्डहरू पश्चात् राजा राजेन्द्र र महारानी राज्यलक्ष्मीदेवीहरूलाई काशीतर्फ पठाएपछि जङ्गबहादुरले पुतली नानीलाई राजदरबारबाट आफ्नो दरबार थापाथलीमा भित्र्याई “पुतली महारानी” को पद दिए (ज.ब.रा., २०६५‚ पृ. ४४) । उपन्यासकारले पुतली नानी जस्ताहरूको कथालाई आधार बनाएर वसन्तीको कथा सिर्जिएको देखिन्छ ।
   गगनसिंहसँग कथाले एकातिर ऐतिहासिक तथ्य वहन गरेको छ भने अर्कातिर काल्पनिकता । उसको वसन्तीसँगको प्रणय सम्बन्ध काल्पनिक र राजदरबारसँगको सम्बन्ध ऐतिहासिक छ । वसन्ती र गगनसिंहको प्रणय सम्बन्धले पाठकलाई काव्यिक आनन्द प्रदान गर्छ र उपन्यासलाई आकर्षक बनाउने पक्ष पनि त्यही हो । त्यही भएर इन्द्रबहादुर राई लेख्छन् “सार्वजनीनताको उपस्थितिले वसन्ती ऐतिहासिक उपन्यासको हकमा जति खस्केको छ उपन्यासको रूपमा त्यति उक्लेको पनि छ भन्न सकिन्छ” (राई, २०५०‚ पृ. ११५) । वसन्तीसँग भेट गराउनका लागि उपन्यासकारले गगनसिंहलाई जाउलाखेलमा ज्ञानबहादुरको घरमा बास बस्न पुर्‍याएका छन् । दरबारमा हर्ताकर्ता भएको, “मलाई गाली गर्न कसको ताकत ?” (पृ. १३) भन्न सक्ने व्यक्ति, कान्छी महारानीको प्रियपात्र भएर पनि एक महिनासम्म जाउलाखेलमा बरालिनु अचम्म लाग्छ । त्यसपछि कहिले पनि उसले त्यसरी फुर्सद पाएको देखिँदैन । उसका बारेमा एउटा असफल प्रेमी, जसले गान्धर्व विवाह गरेर पनि प्रेमिकालाई श्रीमतीको दर्जा दिन नसक्ने, अर्काको लहैलहमा लागेर आफ्नो जीवनका साथै प्रेमिकाको जीवनसमेत नष्ट गर्ने पात्रका रूपमा गगनसिंहको जुन चरित्र रहेको छ त्यो औपन्यासिक मात्र हो, ऐतिहासिक होइन (कर्माचार्य (हाडा), २०६५‚ पृ. १९०) भनिएको पाइन्छ । उपन्यासमा गगनसिंहको वास्तविक नाम गङ्गे भनिएको छ र दरबारमा जागिरे भएपछि गगनसिंह भएको देखाइएको छ ।
   गगनसिंहका सम्बन्धमा इतिहासकारहरूका बीचमा मतैक्यता पाइँदैन । उसलाई कसैले खवास र कसैले भँडारी भनेका छन् । बालचन्द्र शर्माले “दरबारका सामान्य खवास गगनसिंह क्रमशः काजी, प्रधानसेनापति, मन्त्रीमण्डलका प्रमुख सदस्य र राज्यका सर्वेसर्वा हुनसकेका थिए” (शर्मा, २००८‚ पृ. २९३) भनेका छन् । पुरुषोत्तमशमशेरले उसलाई भँडारी भनेका छन् । उनले लेखेका छन्“सर्दार गगनसिंह भँडारी क्षेत्री सर्दारको पद पाउनुअघि राजा राजेन्द्रको बैठके थिए । कसै कसैले साहिँला साहेबज्यू रणेन्द्रको ददा थिए भनी लेखेका छन् भने कसै कसैले उनलाई होच्याई “खवास” समेत लेखेका छन्, जबकि गगनसिंहका नाति लेफ्टिनेन्ट कर्णेल उत्तरध्वज भँडारी क्षेत्री पछि शमशेरहरूको समयसम्म जीवितै थिए” (ज.ब.रा., २०६५‚ पृ. २०) । उपन्यासकारले गगनसिंहलाई खवास नै मानेका छन् । मिठु गगनसिंहकी फुपूकी छोरी हो । उनीहरू नाताले दाजु बहिनी पर्छन् र उनीहरूले त्यही नाताले व्यवहार पनि गर्छन् । उपन्यासमा “नातामा मिठु र गङ्गे दाइ–बहिनी भए पनि उनीहरूको समाजमा फुपूचेली र मामाचेलाको वैवाहिक सम्बन्ध जुट्ने प्रचलित परम्परा भएकाले ती दुईको परस्परमा विवाह हुन कुनै खास अडचन पर्ने थिएन, थियो एउटै समस्या डम्बरेसित मिठुको विवाह–विच्छेदको” (पृ. १२) भनिएको छ । डम्बरेले जङ्गबहादुरसँग भनेको छ “त्यसैले एउटा खवास (गगनसिंह) लाई काजी बनाएर त्यत्रो ठूलो ओहदामा पुर्‍याएको रे” (पृ. ३१) । निश्चय नै ऐतिहासिक उपन्यास इतिहास होइन, इतिहाससम्मत आख्यान त्यसमा प्रस्तुत गरिन्छ र उपन्यासकारले इतिहासको कुनै पक्षलाई आधार बनाउँछ । वसन्ती उपन्यास धेरैजसो पद्मजङ्ग लिखित महराज जङ्गबहादुरको जीवनीमा आधारित छ (राई, २०५०‚ पृ. १०८) । उपन्यासमा गगनसिंहलाई धीरललित र जङ्गबहादुरलाई धीरोदात्त नायकका रूपमा उभ्याइएको छ ।
    गगनसिंह कान्छी महारानी राज्यलक्ष्मीदेवीको प्रियपात्र रहेको इतिहाससिद्ध कुरा हो । रानीको पुठ पाएर गगनसिंहले अरू त के प्रधानमन्त्री समेतलाई पनि नटेर्ने गरेको पनि यथार्थ हो । इतिहासकारहरूले राज्यलक्ष्मीदेवी र गगनसिंहका बीच अनुचित सम्बन्ध भएको कुरा पनि उल्लेख गरेका छन् । नेपालको ऐतिहासिक रूप–रेखामा उल्लेख भए अनुसार :
जङ्गबहादुरकै पालीमा ब्रिटिश राजदूतावासमा आएका डाक्टर ओल्डफील्डको लेखाइअनुसार माथवरसिंहको हत्यको चार महिनापश्चात् हनिवार १२ सेप्टम्बर १८४६ ई. को राती राजेन्द्रविक्रम शाहले जेठी महारानीपट्टिका आफ्ना दुई भाइ छोरा सुरेन्द्रविक्रम र उपेन्द्रविक्रमलाई एकान्तमा डाकी उनकी कान्छी मुमा महारानी लक्ष्मीदेवी र गगनसिंह खवासको अनुचित सम्बन्धको कुरा गरे । यस लज्जाजनक कुराले राजकुमारहरूको क्रोधको सीमा रहेन, उनीहरू यसको बदला लिन विह्वल भए (शर्मा, २००८‚ पृ. २९९) ।
राज्यलक्ष्मीदेवी र गगनसिंह बीचको अनुचित सम्बन्ध भारदारहरूमा पनि छिपेको थिएन । त्यो कुरा यस घटनाले पनि पुष्टि गर्छ :
दरबारकी एक सेविकाले एक दिन महारानीलाई रिझाई आफ्नो प्रेमीको निमित्त लेफ्टिनेन्ट पदमा बहालीको लिखित आज्ञा प्राप्त गरी । उक्त पदमा पहिलेदेखि नै नियुक्त भइआएको व्यक्तिले यसको उजूर माथवरसिंह थापा र राज्यका भारदारहरूमा गर्‍यो । किन्तु, त्यस न्यायोचित उजूरको कुनै सुनाइ भएन । एक जना भारदार देवीबहादुरलाई यो अन्याय कुनै प्रकार सह्य हुन सकेन र उनले यसको विरोध गर्दै महारानी र सरदार गगनसिंहको अवाञ्छनीय सम्बन्धउपर सबैको सम्मुख व्यङ्ग्यपूर्ण उल्लेखसमेत गरे (शर्मा, २००८‚ पृ. २९३) ।
   उपन्यासमा यसै कुराप्रति इङ्गित गर्दै गगनसिंहका माध्यमद्वारा वसन्तीलाई भनिएको छ “महारानीका मनमा मैले कतै घरबार नजोडोस्, दरबारलाइै नै घर सम्झूँ, उहाँलाई नै ...” (पृ. ५९) । गगनसिंहले बिहे गरेको, अरू नारीसँग प्रेम गरेको कुरा महारानीका लागि सह्य हुँदैन । त्यसैले गगनसिंहले आफूले वसन्तीलाई बिहे गरेको कुरा व्यक्त गर्न सक्तैन । जङ्गबहादुरले गगनसिंहकी एउटी प्रेमिका रहेको कुरा सुनाएपछि “महारानी थर्र काँपिन् । रिसले हो कि निराशाले हो, आँखाभरि आँससु लिएर उनले बोल्नै सकिनन्” (पृ. ९७) । सिलाङेले मार्ने यत्न गरेपछि ज्यान जोगाउन रातारात ककनीबाट पशुपति आइपुगेकी वसन्ती र गगनसिंह, जङ्गबहादुर, महारानीहरूको भेट हुन्छ । वसन्तीले गगनसिंहसँग एकपटक भेट्ने चाहना व्यक्त गरेपछि महारानीलाई उनीहरूको सम्बन्धका बारेमा शङ्का उत्पन्न हुन्छ । महारानीले केरकार गर्न थालेपछि गगनसिंहले नसिबले गर्दा त्यस्तो परिस्थिति आइलागेको भनेपछि “गगनसिंहको अपराधमा महारानीलाई अझ धरमर थियो, अब दृढ निश्चय भयो । रिस र ईर्ष्याले गर्दा उनको मनमा असङ्ख्य ताप र असन्तोष भड्किया, अनि झोकले आँखा देख्न छोडिन्, डरलाग्दो भइन्” (पृ. १४४) । यी प्रसङ्ग ऐतिहासिक तथ्यसँग मेल खाएको देखिँदैन ।
   इतिहासमा प्रस्तुत गगनसिंहको हत्या भएपछिको घटना वर्णनका आधारमा गगनसिंहको वैवाहिक सम्बन्धको पर्दा खुल्छ । इतिहासमा गगनसिंहका तीनवटी पत्नी भएको उल्लेख पाइन्छ । त्यस बारेमा भनिएको छ :
तुरुन्त गगनसिंहको कान्छो छोरा कप्तान बजिर सिंह राजदरबार पुगी महारानी समक्ष कसैले बुबा गगनसिंहलाई गोली हानी हत्या गरेको सूचना दियो । सो सूचना पाई महारानी राज्यलक्ष्मी विह्वल भइन् । त्यसपछि अति क्रोधित हुँदै १०१२ जना सुसारेहरूलाई चिराग बालेर समात्न लगाई गगनसिंहको घर ढोकाटोला (हाल कान्छा गुरुज्यू विश्वराज पाण्डेको घर) आई गगनसिंहकी तीनवटी विधवा श्रीमतीहरूलाई सम्झाउने कार्य गर्नुका साथै सती जानबाट समेत रोकिन् (ज.ब.रा., २०६५‚ पृ. २७) ।
   उपन्यासलाई समाजशास्त्रीय स्वरूप दिनका लागि गगनसिंह र वसन्तीसँग सम्बन्धित प्रणयजन्य काल्पनिक घटनाको समायोजन गरिएको छ, तर उपन्यासले ऐतिहासिक यथार्थको गोरेटो छोड्दैन । ऐतिहासिक गोरेटो भने उपन्यासले बेला बेलामा बिराइरहन्छ । वसन्तीलाई पत्नीका रूपमा सार्वजनिक गर्न पनि नसक्ने र छोड्न पनि नसक्ने हुँदा गगनसिंह भित्रभित्रै छटपटिएको छ । कुनै उपाय नदेखेर उसले जङ्गबहादुरसँग “केही गरी महारानी हामीसित वक्र होइबक्सिन लाग्यो भने हामीले उहाँलाई पदच्युत गर्न सक्ने गोप्य शक्तिको सिर्जना गर्नुपर्दछ” (पृ. १५७) भन्दछ । यो ऐतिहासिक तथ्यमा आधारित छैन । यस भनाइले गगनसिंहको व्यक्तित्व धमिलिन पुग्दछ ।
   गगनसिंहको हत्या कसले गर्‍यो भन्ने बारेमा इतिहासकाररूबिच नै मत बाझिएको देखिन्छ । कान्छी महारानीसँग अनुचित सम्बन्ध भएकाले गगनसिंहको हत्याको षड्यन्त्र रचियो । फत्तेजङ्गको घरमा अभिमानसिंह राना, दलभञ्जन पाँडे र काजी वीरकिशोरको यस विषयमा मन्त्रणा भयो र तीन हजार स्वर्ण मुद्राको प्रलोभन देखाई लालझालाई त्यस काममा खटाइयो । ओल्डफील्डका अनुसार गगनसिंहको हत्या लालझाले गरेको हो (शर्मा, २००८‚ पृ. २९९३००) । पुरुषोत्तमशमशेरका अनुसार प्रधानमन्त्री फत्येजङ्ग शाह र जनरल अभिमानसिंहले गगनसिंहको हत्या नै गर्नुपर्ने ठह¥याई जनरल जङ्गबहादुरलाई हत्या गर्ने कार्य सुम्पेको हुँदा जङ्गबहादुरले आफ्ना साहिँला भाइ कर्णेल बद्रीनरसिंहलाई गगनसिंहको हत्या गर्न लगाए (ज.ब.रा., २०६५‚ पृ. ३५) । उपन्यासमा भने गगनसिंहको हत्याका बारेमा जङ्गबहादुर अनभिज्ञ रहेको देखिन्छ । उपन्यासको अन्तमा वसन्ती गगनसिंहको घरमा च्यामिनीका भेषमा आएकी, जङ्गबहादुर गगनसिंहलाई भेट्न आएको र गगनसिंह सन्ध्याकालीन पूजा गर्न गएका बखत गोली लागी उसको हत्या भएको उल्लेख गरिएको छ । जङ्गबहादुर भर्‍याङ उक्लिँदै गरेको बेला बन्दुक पड्केको आवाज सुनेको उल्लेख गरिएको छ ।
   उपन्यासमा जङ्गबहादुरसँग सम्बन्धित घटना इतिहाससम्मत भए पनि उनको व्यक्तित्वलाई उजिल्याउने भरमग्दुर प्रयास गरिएको छ । उनलाई उपन्यासमा धीरोदात्त नायकका रूपमा उभ्याइएको छ । सबै नेपाली सङ्गठित हुनुपर्छ भनेर सोच्ने, अङ्ग्रेजी भाषा सिक्नुपर्छ भने पनि अङ्ग्रेजी सभ्यतालाई टाढै राख्ने, कलङ्कसँग प्राणैदेखि डर्ने, पुण्य र धर्मका अटल विश्वासी, नारीहरूलाई मातृरूप हेर्ने, कुलको र आफ्नो प्रतिष्ठामा ह्रास नसहने जङ्गबहादुरलाई आदर्शिक चरित्ररूप उभ्याउनु लेखकको उद्योग छ (राई, २०५०‚ पृ. १०८) । जङ्गबहादुरको चरित्रलाई उकास्न लेखकले निकै कसरत गरेका छन् । उपन्यासमा राजपरिवारका सदस्य बाहेक जङ्गबहादुरलाई मात्र आदरार्थीको प्रयोग गरिएको छ । इतिहासमा धेरै कलङ्कित काम गर्ने खलनायक जङ्गबहादुर उपन्यासकारका आदर्श पुरुष भएका छन् (पोखरेल, २०६८‚ पृ. १२३) । जङ्गबहादुरप्रति उपन्यासकारको झुकाउ र पक्षधरता ऐतिहासिक तथ्यका दृष्टिले खट्किने कुरा छ ।
   जङ्गबहादुरलाई उपन्यासमा आदर्श, शान्तिप्रिय, राजभक्त, देशभक्त, नैतिकवान् व्यक्तिका रूपमा चित्रण गरिएको छ । उनलाई “कहिले थापा कहिले पाँडे परिवारको हत्या भएको बिलकुल चित्त बुझेको थिएन” (पृ. ३१) । डम्बरेले बम्बईको प्रशंसा गर्दा जङ्गबहादुरले “एक्सा नं वान पिलाएर, बाईजीको नाच देखाएर मलाई आनन्द आउँदैन, मलाई आनन्द दिने हो भने त्यो व्यक्तिको मुख देखाइदिनुहोस्, जसले नेपालको स्वतन्त्रताका निम्ति रगत चुहाएको छ, जसले समाज सुधारका निम्ति छाती फुलाएको छ, जसले जनसेवाका निम्ति शिर निहुराएको छ” (पृ. ३२) । उनको देशभक्ति र राजभक्तिको भावना यसरी प्रकटिएको छ “यहाँ सञ्जीवनी बुटी छ, यहीँ धन्वन्तरी वैद्यका सन्तान छन् । ... फेरि हाम्रा पितातुल्य राजा यहीँ राज गरिबक्सिन्छ त्यसैले यही हो पुण्यभूमि ... नेपाल” (पृ. ३३) । होलीको अवसरमा राजकुमारी र नानीहरूले अबिर लगाइदिँदा उनले “हरे शिव ! नदेख्ना दरबारकी नानी, नछुना बाहुनी भन्छन् । यो कत्रो पाप ?” (पृ. ८१) भन्छन् र प्रायश्चित्तका लागि छटपटिइरहन्छन् । इतिहासमा भने जङ्गबहादुर र दरबारकी पुतली नानी बीच प्रणय सम्बन्ध भएको र पछि बिहे भएको उल्लेख पाइन्छ । डम्बरेले आफ्नी पत्नीलाई जङ्गबहादुरले वसन्तबागमा थुनी राखेको भनेर दरबामा उजुर गरेको प्रसङ्ग अमिल्दो छ । वसन्तबागमा जङ्गबहादुर र डम्बरे साथै गएका बेलामा वसन्ती र डम्बरेको भेट भएको हो । गगनसिंहलाई बचाउन जङ्गबहादुरले आफूमाथि लागेको आरोप स्वीकार गर्दछन् । मित्र रक्षाको यो आदर्श नमुना हो । इतिहासमा जङ्गबहादुर मनमा जे भए पनि बाह्य व्यवहारले गगनसिंह र महारानीप्रति आफ्नो पूर्ण भक्ति देखाउन चुक्तैनथे (शर्मा, २००८‚ पृ. २९९) भनिएको पाइन्छ । उपन्यासमा भने राजपरिवारका बारेमा कसैले दुर्वचन बोल्यो भने असन्तुष्ट हुने (पृ. ३१), गगनसिंहले रानीलाई पदच्युत गर्ने प्रस्ताव गर्दा उनको मनमा अत्यन्त पीर परेको (पृ. १५८) र गगनसिंहले दरबार विरुद्ध षड्यन्त्र गर्ने कुरा गर्दा “यो हाम्रो महान् पवित्र राजगद्दीको खिलाफ जो विद्रोह गर्न खोज्दछ, त्यो महामूर्ख हो । मेरो पुर्खाले जीवनभर सङ्घर्ष गरेर थापना गरेको यो पवित्र गद्दी र त्यसमा राज भएका राजा–रानीका विरुद्ध गरिने कुनै काममा पनि म हिस्सादास बन्न सक्तिन” (पृ. २१४) भनेको कुरा उल्लेख गरिएको छ । आफ्नो सहोदर मामा माथवरसिंहको हत्या पनि राजाज्ञाको शिरोपर गरी गरेको देखाइएको छ ।   
   अन्तमा, वसन्ती नेपाली उपन्यास परम्परामा ऐतिहासिक यथार्थवादी धाराको सूत्रपात गर्ने उपन्यास हो । यसमा वि. सं. १९९५ देखि १९०३ सम्मको नेपालको राजनीतिक इतिहासलाई समेटिएको छ । यसमा ऐतिहासिक घटनालाई सकेसम्म यथातथ्य ढङ्गमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । त्यसका साथसाथै उपन्यासलाई रोचक, जीवन्त र सरस बनाउनका लागि काल्पनिक कथा पनि समानान्तर रूपमा प्रस्तुत गरिएको छ । काल्पनिक कथामा पनि ऐतिहासिक परिवेशको झलक पाउन सकिन्छ । कतिपय ठाउँमा देखिने ऐतिहासिक तथ्यको विचलनले भने उपन्यासको विश्वसनीयतामाथि प्रश्न उब्जाउँछ । औपन्यासिक कलाका दृष्टिले भने यो उपन्यास सफल छ ।
 सन्दर्भ सामग्री सूची
कर्मचार्य (हाडा), गङ्गा (२०६५). वसन्ती ऐतिहासिक पाटामा. छायादत्त न्यौपाने तथा ऋषिराम पाण्डे (सम्पा.)‚ आख्यानकार डायमन  (पृ. १८११९३). डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
ज.ब.रा., पुरुषोत्तमशमशेर (२०६५). श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १). विद्यार्थी पुस्तक भण्डार ।
पन्त, नयराज (२०६५). सेतो बाघको ऐतिहासिक परीक्षा. छायादत्त न्यौपाने तथा ऋषिराम पाण्डे (सम्पा.)‚ आख्यानकार डायमन  (पृ. २४३–२७४). डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
पोखरेल, टीकाराम (२०६५). डायमनशम्शेर राणाका ऐतिहासिक उपन्यास : कल्पनाको प्रयोग र इतिहासको रक्षाको प्रश्नका सन्दर्भमा. छायादत्त न्यौपाने तथा ऋषिराम पाण्डे (सम्पा.)‚ आख्यानकार डायमन (पृ. २१९–२३१). डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
———  (२०६८). ऐतिहासिक उपन्यास : सिद्धान्त र स्वरूप. डायमनशम्शेर राणा साहित्यिक प्रतिष्ठान ।
प्रधान, कृष्णचन्द्रसिंह (२०४३). नेपाली उपन्यास र उपन्यासकार (दोस्रो संस्क.). साझा प्रकाशन ।
राई, इन्द्रबहादुर (२०५०). नेपाली उपन्यासका आधारहरू (दोस्रो संस्क.). साझा प्रकाशन ।
राणा, डायमनशम्शेर (२०४०). वसन्ती (छैटौँ संस्क.).  बालिका राणा ।
वर्मा, धीरेन्द्र तथा अन्य. (सम्पा.). (१९८५). हिन्दी साहित्यकोश (भाग १). ज्ञानमण्डल लिमिटेड ।
शर्मा, बालचन्द्र (२००८). नेपालको ऐतिहासिक रूप–रेखा. कृष्णकुमारी ।
शर्मा, मोहनराज (२०५५). समकालीन समालोचना सिद्धान्त र प्रयोग. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
Abrams, M. H. and Harfam, G. G. (2005). A glossary of literary terms (8th ed.). Thomson Wadsworth.
Cuddon. J. A. (1999). The penguin dictionary of literary terms and literary theory. Penguin Books.
Forster, E. M. (1985). Aspects of the novel. Penguin Books Ltd.
Harmon, W. (2006). A handbook to literature (10th ed.). Pearson.
Hudson. W. H. (1979). An introduction to the study of literature. Kalyani Publishers.









तपाईंको संदेश : क्रिया - प्रतिक्रिया