Tuesday, June 23, 2020

५. ‘वसन्ती’ उपन्यासमा ऐतिहासिक सन्दर्भ


वसन्ती’ उपन्यासमा ऐतिहासिक सन्दर्भ
                                 डा. दुर्गाबहादुर घर्ती

   नेपाली उपन्यास परम्परामा ऐतिहासिक उपन्यासको वास्तविक स्वरूप डायमनशम्शेर राणाको वसन्ती (२००६) देखि देखापर्दछ । यसअघि ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास लेखिँदै नलेखिएका चाहिँ होइनन् । नेपाली साहित्यमा ऐतिहासिक विषयवस्तुमा आधारित गद्याख्यानको प्रारम्भ अनुवाद परम्पराबाट भएको देखिन्छ । गोरखापत्रमा वि. सं. १९६० फागुनदेखि १९६२ वैशाखसम्म धारावाहिक रूपमा प्रकाशित नरदेव पहिलो ऐतिहासिक उपन्यास लेखनको प्रयास हो । यो हिन्दी उपन्यासबाट अनूदित कृति हो र यसका मूल लेखक रामप्रताप शर्मा हुन् । त्यसैगरी गोरखापत्रमा नै वि. सं. १९६१ आषाढदेखि १९६२ वैशाखसम्म धारावाहिक रूपमा प्रकाशित वीरमालोजी भोँसले पनि हिन्दी उपन्यासबाटै अनुवाद गरिएको हो । यसका मूल लेखक रामजीवन नागर हुन् । चन्द्र पत्रिकामा १९७१ मा प्रकाशित रमेशचन्द्रद्वारा बङ्गाली भाषामा लिखित एवं विज्ञान विलासद्वारा अनूदित वङ्गविजेता ऐतिहासिक परिवेशमा आधारित छ । नेपाली उपन्यास परम्परामा मौलिक रूपमा ऐतिहासिक उपन्यास लेखनको पहिलो प्रयासका रूपमा अम्बालिका देवीको राजपूत रमणी (१९८९) देखापर्दछ । त्यसपछि टुकराज पद्‍मराज मिश्रका रजबन्धकी (१९९६) र रामकृष्ण कुँवर राणा (१९९९) उपन्यास प्रकाशित भएका छन् । राजपूत रमणीमा इतिहाससिद्ध तथ्यको अभाव खट्किन्छ भने रजबन्धकीरामकृष्ण कुँवर राणा औपन्यासिक कलाभन्दा ऐतिहासिक तथ्य वर्णनको आधिक्यले ती ऐतिहासिक उपन्यासभन्दा पनि इतिहास जस्ता लाग्छन् । औपन्यासिक कला एवं ऐतिहासिक तथ्यलाई समन्वित गरी लेखिएको पहिलो नेपाली उपन्यास डायमनशम्शेर राणाको वसन्ती नै हो ।
   ऐतिहासिक उपन्यास उपन्यास विधाको एउटा भेद हो । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान शब्दले सामान्य अर्थमा कथा, कहानी, किस्सा भन्ने बुझाउँछ । आख्यान व्यापक अर्थमा गद्य वा पद्यमा रचित साहित्यिक कथा हो भने सङ्कुचित अर्थमा गद्यमा लेखिएको कथा मात्र हो । पाश्चात्य साहित्यमा आख्यान शब्दको प्रयोग उपन्यासको पर्यायका रूपमा पनि गरिएको पाइन्छ (अब्राम्स तथा हेर्फाम, २००५‚ पृ. ९९) । कथा कथन उपन्यासको मुख्य पक्ष हो । ई. एम. फस्टर आफ्नो व्याख्यानमा उपन्यासले कथा भन्छ (फस्टर, १९८५‚ पृ. ५३) भन्ने कुरामा जोड दिन्छन् । विलियम हेनरी हडसन उपन्यास केही होस् कि नहोस्, कम्तीमा एउटा कथा हो (हडसन, १९७९‚ पृ १३६) भन्दछन् । आख्यान कल्पनामा आधारित साहित्यिक लेखन हो (हेर्मन, २००६‚ पृ. २१६) अर्थात् प्रायः गद्यमा आधारित काल्पनिक कार्य हो (कडन, १९९९‚ पृ. ३२०) । मोहनराज शर्माका अनुसार “आख्यान कल्पित वा बनाइएको कथा हो” (शर्मा, २०५५‚ पृ. ३७६) । विद्बान्‌हरूका यी भनाइहरूबाट उपन्यासको मुख्य पक्ष कथा कथन हो र त्यो कथा उपन्यासकारको कल्पनामा आधारित हुन्छ भन्ने देखिन्छ ।
   उपन्यासको कथा वा घटना काल्पनिक हुने भए पनि तिनको सम्बन्ध कुनै न कुनै रूपमा यथार्थ पक्षसँग हुन्छ । सामाजिक, ऐतिहासिक, जीवनीपरक, आत्मकथात्मक जस्ता उपन्यास यथार्थमा आधारित हुन्छन् । त्यसो भए तापनि त्यस्ता उपन्यासमा यथार्थ वस्तुसत्यको वर्णन मात्र हुँदैन, त्यसमा उपन्यासकारले कल्पना, सम्भाव्यता र आवश्यकताका आधारमा धेरै कुरा थपघट र परिवर्तन गर्दछ । उपन्यासलाई रोचक, जीवन्त र सरस बनाउनका लागि त्यसो गर्नु आवश्यक हुन्छ । यथार्थको वस्तुगत वर्णन मात्र भयो भने त्यो उपन्यास नभएर प्रतिवेदन, इतिहास, जीवनी, आत्मसंस्मरण आदि हुन पुग्दछ । तिनले काव्यिक आनन्द प्रदान गर्न सक्तैनन् र ती साहित्यका कोटिमा पर्न पनि सक्तैनन् । ऐतिहासिक उपन्यासमा ऐतिहासिक घटनालाई कथावस्तुको आधार बनाइएको हुन्छ । त्यस्ता उपन्यासमा इतिहासको पुनरावृत्ति नभएर इतिहासको पुनर्निर्माण गरिएको हुन्छ (कडन, १९९९‚ पृ. ३८३) । त्यसका लागि ऐतिहासिक तथ्यका साथै काल्पनिक आधार पनि लिइएको हुन्छ । त्यसैले ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको मिश्रण हुन्छ । इतिहासले ऐतिहासिक तथ्यको सूचना दिन्छ भने कल्पनाले त्यसमा कलात्मकता र जीवन्तता प्रदान गर्छ । ऐतिहासिक उपन्यासमा इतिहास कथावस्तुको अस्थिपञ्जर हो र कल्पनाका माध्यमद्वारा त्यसमा मांसलता भर्ने काम गरिन्छ । त्यसैले ऐतिहासिक उपन्यासमा इतिहासको रक्षा गर्नुका साथसाथै त्यसको स्वरूपलाई कल्पनाद्वारा स्पष्ट गर्नु पनि आवश्यक हुन्छ । उपन्यास इतिहासको अन्धानुकरण हुन सक्तैन, सबभन्दा पहिला त्यो उपन्यास हो । त्यसका साथै त्यो इतिहास पनि हो र त्यसको मर्यादाको रक्षा पनि गर्नु पर्दछ । त्यसैले त्यसमा कल्पना अनियन्त्रित हुन सक्तैन (वर्मा तथा अन्य, सम्पा., १९८५‚ पृ. १२८) । ऐतिहासिक उपन्यासको सफलताको परीक्षण त्यसको औपन्यासिक कला र इतिहासको रक्षाको अध्ययनद्वारा हुन सक्तछ ।
   नेपाली उपन्यास परम्परामा वसन्ती उपन्यासको महत्त्वपूर्ण स्थान रहेको छ । यसै उपन्यासदेखि ऐतिहासिक यथार्थवादी धाराको प्रारम्भ भएको मानिन्छ (प्रधान, २०४३‚ पृ. १३१) । यस उपन्यासमा वि. सं. १८९५ भदौदेखि १९०३ भदौ ३१ गतेसम्मको नेपालको राजनीतिहक इतिहासलाई विषयवस्तुगत आधार बनाइएको छ । त्यसो भए तापनि यस उपन्यासमा प्रस्तुत गरिएका घटनावली कति ऐतिहासिक र कति अनैतिहासिक अनि कति ऐतिहासिक तथ्यमा आधारित र कति ऐतिहासिक तथ्यसँग बाझिएका छन् भन्ने कुरा विचारणीय छ । उपन्यासको भूमिकामा दीनानाथ ‘शरण’ ले “वसन्ती एक सामाजिक र ऐतिहासिक उपन्यास हो” भनेका छन् । यसबाट यो उपन्यास विशुद्ध ऐतिहासिक उपन्यास होइन भन्ने बुझिन्छ । ऐतिहासिक घटना, पात्र र परिवेश हुँदाहुँदै पनि कतिपय काल्पनिक घटना र पात्रको प्रयोगले गर्दा उपन्यासमा सामाजिकता र ऐतिहासिकताको दोहोरो भङ्गालो फुटेको छ । त्यही भएर इतिहासकार नयराज पन्तले “वसन्तीमा इतिहासको भाग अत्यन्त कम र असत्य कल्पना चाहिँ ज्यादै बढी देखियो” (पन्त, २०६५‚ पृ. २४६) भनेका छन् । त्यसैगरी शम्शेरका ऐतिहासिक उपन्यासमा तथ्यबारे मतभेद ठाउँ नपाउन सक्तैन (प्रधान, २०४३‚ पृ. १३२), राणाका उपन्यासमा इतिहासका प्रामाणिक घटनालाई विचलन गर्ने जुन काम भएको छ त्यसले इतिहासको रक्षाको प्रश्न अवश्य उठाएको छ (पोखरेल, २०६५‚ पृ. २२२) भनिएको पनि पाइन्छ । काल्पनिकता एवं ऐतिहासिक तथ्यको विचलनले गर्दा वसन्ती उपन्यासको कतिपय ऐतिहासिक सन्दर्भ निर्विवाद बन्न सकेको छैन ।
   वसन्ती उपन्यासमा वसन्तीसँग सम्बन्धित कथा ऐतिहासिक तथ्यमा आधारित नभएर काल्पनिक छ । वसन्ती इतिहाससिद्ध पात्र होइन । उसका बारेमा अहिलेसम्म इतिहासकारहरूले कतै उल्लेख नगरेकाले उसलाई ऐतिहासिक पात्र भन्न गाह्रो छ (पोखरेल, २०६८‚ पृ. १२०) । वास्तवमा वसन्ती उपन्यासकारद्वारा सिर्जिएकी काल्पनिक पात्र हो (राई, २०५०‚ पृ. १०४) । उपन्यासको केन्द्रीय पात्र वसन्ती काल्पनिक भएकाले ऊसँग सम्बन्धित अन्य पात्रहरू पनि काल्पनिक नै रहेका छन् । उसको प्रेमी गगनसिंह ऐतिहासिक पात्र भए पनि उसको वसन्तीसँगको सम्बन्ध कल्पनामा आधारित छ ।
वसन्ती काल्पनिक पात्र भए पनि उसको चरित्रमा ऐतिहासिक पक्ष आरोपित छ । त्यति बेला केटीहरू दरबार पस्ने, दरबारका कारिन्दासँग तिनीहरूको प्रेम बस्ने, दरबारबाट भाग्ने घटनाको प्रशस्त उदाहरण पाइन्छ । जावलाखेलकी मिठु दरबारी कर्मचारी गगनसिंहसँग प्रेम भएपछि दरबार पस्छे र वसन्ती नाम पाउँछे । एक वर्षपछि ऊ गगनसिंहसँग भाग्दछे । ऊ इतिहासमा वर्णित पुतली नानीसँग तुलनीय छे । पुतली नानी राजदरबारकी सुसारे हो । ऊसँग जङ्गबहादुरले प्रेमलीला रचाउने मौका पाए । उसबाट जङ्गबहादुरले राजदरबारसम्बन्धी जानकारी, सूचना, अर्ति बुद्धि पाउँदथे (ज.ब.रा., २०६५‚ पृ. १२) । कोतपर्व र भण्डारखाल पर्व जस्ता काण्डहरू पश्चात् राजा राजेन्द्र र महारानी राज्यलक्ष्मीदेवीहरूलाई काशीतर्फ पठाएपछि जङ्गबहादुरले पुतली नानीलाई राजदरबारबाट आफ्नो दरबार थापाथलीमा भित्र्याई “पुतली महारानी” को पद दिए (ज.ब.रा., २०६५‚ पृ. ४४) । उपन्यासकारले पुतली नानी जस्ताहरूको कथालाई आधार बनाएर वसन्तीको कथा सिर्जिएको देखिन्छ ।
   गगनसिंहसँग कथाले एकातिर ऐतिहासिक तथ्य वहन गरेको छ भने अर्कातिर काल्पनिकता । उसको वसन्तीसँगको प्रणय सम्बन्ध काल्पनिक र राजदरबारसँगको सम्बन्ध ऐतिहासिक छ । वसन्ती र गगनसिंहको प्रणय सम्बन्धले पाठकलाई काव्यिक आनन्द प्रदान गर्छ र उपन्यासलाई आकर्षक बनाउने पक्ष पनि त्यही हो । त्यही भएर इन्द्रबहादुर राई लेख्छन् “सार्वजनीनताको उपस्थितिले वसन्ती ऐतिहासिक उपन्यासको हकमा जति खस्केको छ उपन्यासको रूपमा त्यति उक्लेको पनि छ भन्न सकिन्छ” (राई, २०५०‚ पृ. ११५) । वसन्तीसँग भेट गराउनका लागि उपन्यासकारले गगनसिंहलाई जाउलाखेलमा ज्ञानबहादुरको घरमा बास बस्न पुर्‍याएका छन् । दरबारमा हर्ताकर्ता भएको, “मलाई गाली गर्न कसको ताकत ?” (पृ. १३) भन्न सक्ने व्यक्ति, कान्छी महारानीको प्रियपात्र भएर पनि एक महिनासम्म जाउलाखेलमा बरालिनु अचम्म लाग्छ । त्यसपछि कहिले पनि उसले त्यसरी फुर्सद पाएको देखिँदैन । उसका बारेमा एउटा असफल प्रेमी, जसले गान्धर्व विवाह गरेर पनि प्रेमिकालाई श्रीमतीको दर्जा दिन नसक्ने, अर्काको लहैलहमा लागेर आफ्नो जीवनका साथै प्रेमिकाको जीवनसमेत नष्ट गर्ने पात्रका रूपमा गगनसिंहको जुन चरित्र रहेको छ त्यो औपन्यासिक मात्र हो, ऐतिहासिक होइन (कर्माचार्य (हाडा), २०६५‚ पृ. १९०) भनिएको पाइन्छ । उपन्यासमा गगनसिंहको वास्तविक नाम गङ्गे भनिएको छ र दरबारमा जागिरे भएपछि गगनसिंह भएको देखाइएको छ ।
   गगनसिंहका सम्बन्धमा इतिहासकारहरूका बीचमा मतैक्यता पाइँदैन । उसलाई कसैले खवास र कसैले भँडारी भनेका छन् । बालचन्द्र शर्माले “दरबारका सामान्य खवास गगनसिंह क्रमशः काजी, प्रधानसेनापति, मन्त्रीमण्डलका प्रमुख सदस्य र राज्यका सर्वेसर्वा हुनसकेका थिए” (शर्मा, २००८‚ पृ. २९३) भनेका छन् । पुरुषोत्तमशमशेरले उसलाई भँडारी भनेका छन् । उनले लेखेका छन्“सर्दार गगनसिंह भँडारी क्षेत्री सर्दारको पद पाउनुअघि राजा राजेन्द्रको बैठके थिए । कसै कसैले साहिँला साहेबज्यू रणेन्द्रको ददा थिए भनी लेखेका छन् भने कसै कसैले उनलाई होच्याई “खवास” समेत लेखेका छन्, जबकि गगनसिंहका नाति लेफ्टिनेन्ट कर्णेल उत्तरध्वज भँडारी क्षेत्री पछि शमशेरहरूको समयसम्म जीवितै थिए” (ज.ब.रा., २०६५‚ पृ. २०) । उपन्यासकारले गगनसिंहलाई खवास नै मानेका छन् । मिठु गगनसिंहकी फुपूकी छोरी हो । उनीहरू नाताले दाजु बहिनी पर्छन् र उनीहरूले त्यही नाताले व्यवहार पनि गर्छन् । उपन्यासमा “नातामा मिठु र गङ्गे दाइ–बहिनी भए पनि उनीहरूको समाजमा फुपूचेली र मामाचेलाको वैवाहिक सम्बन्ध जुट्ने प्रचलित परम्परा भएकाले ती दुईको परस्परमा विवाह हुन कुनै खास अडचन पर्ने थिएन, थियो एउटै समस्या डम्बरेसित मिठुको विवाह–विच्छेदको” (पृ. १२) भनिएको छ । डम्बरेले जङ्गबहादुरसँग भनेको छ “त्यसैले एउटा खवास (गगनसिंह) लाई काजी बनाएर त्यत्रो ठूलो ओहदामा पुर्‍याएको रे” (पृ. ३१) । निश्चय नै ऐतिहासिक उपन्यास इतिहास होइन, इतिहाससम्मत आख्यान त्यसमा प्रस्तुत गरिन्छ र उपन्यासकारले इतिहासको कुनै पक्षलाई आधार बनाउँछ । वसन्ती उपन्यास धेरैजसो पद्मजङ्ग लिखित महराज जङ्गबहादुरको जीवनीमा आधारित छ (राई, २०५०‚ पृ. १०८) । उपन्यासमा गगनसिंहलाई धीरललित र जङ्गबहादुरलाई धीरोदात्त नायकका रूपमा उभ्याइएको छ ।
    गगनसिंह कान्छी महारानी राज्यलक्ष्मीदेवीको प्रियपात्र रहेको इतिहाससिद्ध कुरा हो । रानीको पुठ पाएर गगनसिंहले अरू त के प्रधानमन्त्री समेतलाई पनि नटेर्ने गरेको पनि यथार्थ हो । इतिहासकारहरूले राज्यलक्ष्मीदेवी र गगनसिंहका बीच अनुचित सम्बन्ध भएको कुरा पनि उल्लेख गरेका छन् । नेपालको ऐतिहासिक रूप–रेखामा उल्लेख भए अनुसार :
जङ्गबहादुरकै पालीमा ब्रिटिश राजदूतावासमा आएका डाक्टर ओल्डफील्डको लेखाइअनुसार माथवरसिंहको हत्यको चार महिनापश्चात् हनिवार १२ सेप्टम्बर १८४६ ई. को राती राजेन्द्रविक्रम शाहले जेठी महारानीपट्टिका आफ्ना दुई भाइ छोरा सुरेन्द्रविक्रम र उपेन्द्रविक्रमलाई एकान्तमा डाकी उनकी कान्छी मुमा महारानी लक्ष्मीदेवी र गगनसिंह खवासको अनुचित सम्बन्धको कुरा गरे । यस लज्जाजनक कुराले राजकुमारहरूको क्रोधको सीमा रहेन, उनीहरू यसको बदला लिन विह्वल भए (शर्मा, २००८‚ पृ. २९९) ।
राज्यलक्ष्मीदेवी र गगनसिंह बीचको अनुचित सम्बन्ध भारदारहरूमा पनि छिपेको थिएन । त्यो कुरा यस घटनाले पनि पुष्टि गर्छ :
दरबारकी एक सेविकाले एक दिन महारानीलाई रिझाई आफ्नो प्रेमीको निमित्त लेफ्टिनेन्ट पदमा बहालीको लिखित आज्ञा प्राप्त गरी । उक्त पदमा पहिलेदेखि नै नियुक्त भइआएको व्यक्तिले यसको उजूर माथवरसिंह थापा र राज्यका भारदारहरूमा गर्‍यो । किन्तु, त्यस न्यायोचित उजूरको कुनै सुनाइ भएन । एक जना भारदार देवीबहादुरलाई यो अन्याय कुनै प्रकार सह्य हुन सकेन र उनले यसको विरोध गर्दै महारानी र सरदार गगनसिंहको अवाञ्छनीय सम्बन्धउपर सबैको सम्मुख व्यङ्ग्यपूर्ण उल्लेखसमेत गरे (शर्मा, २००८‚ पृ. २९३) ।
   उपन्यासमा यसै कुराप्रति इङ्गित गर्दै गगनसिंहका माध्यमद्वारा वसन्तीलाई भनिएको छ “महारानीका मनमा मैले कतै घरबार नजोडोस्, दरबारलाइै नै घर सम्झूँ, उहाँलाई नै ...” (पृ. ५९) । गगनसिंहले बिहे गरेको, अरू नारीसँग प्रेम गरेको कुरा महारानीका लागि सह्य हुँदैन । त्यसैले गगनसिंहले आफूले वसन्तीलाई बिहे गरेको कुरा व्यक्त गर्न सक्तैन । जङ्गबहादुरले गगनसिंहकी एउटी प्रेमिका रहेको कुरा सुनाएपछि “महारानी थर्र काँपिन् । रिसले हो कि निराशाले हो, आँखाभरि आँससु लिएर उनले बोल्नै सकिनन्” (पृ. ९७) । सिलाङेले मार्ने यत्न गरेपछि ज्यान जोगाउन रातारात ककनीबाट पशुपति आइपुगेकी वसन्ती र गगनसिंह, जङ्गबहादुर, महारानीहरूको भेट हुन्छ । वसन्तीले गगनसिंहसँग एकपटक भेट्ने चाहना व्यक्त गरेपछि महारानीलाई उनीहरूको सम्बन्धका बारेमा शङ्का उत्पन्न हुन्छ । महारानीले केरकार गर्न थालेपछि गगनसिंहले नसिबले गर्दा त्यस्तो परिस्थिति आइलागेको भनेपछि “गगनसिंहको अपराधमा महारानीलाई अझ धरमर थियो, अब दृढ निश्चय भयो । रिस र ईर्ष्याले गर्दा उनको मनमा असङ्ख्य ताप र असन्तोष भड्किया, अनि झोकले आँखा देख्न छोडिन्, डरलाग्दो भइन्” (पृ. १४४) । यी प्रसङ्ग ऐतिहासिक तथ्यसँग मेल खाएको देखिँदैन ।
   इतिहासमा प्रस्तुत गगनसिंहको हत्या भएपछिको घटना वर्णनका आधारमा गगनसिंहको वैवाहिक सम्बन्धको पर्दा खुल्छ । इतिहासमा गगनसिंहका तीनवटी पत्नी भएको उल्लेख पाइन्छ । त्यस बारेमा भनिएको छ :
तुरुन्त गगनसिंहको कान्छो छोरा कप्तान बजिर सिंह राजदरबार पुगी महारानी समक्ष कसैले बुबा गगनसिंहलाई गोली हानी हत्या गरेको सूचना दियो । सो सूचना पाई महारानी राज्यलक्ष्मी विह्वल भइन् । त्यसपछि अति क्रोधित हुँदै १०१२ जना सुसारेहरूलाई चिराग बालेर समात्न लगाई गगनसिंहको घर ढोकाटोला (हाल कान्छा गुरुज्यू विश्वराज पाण्डेको घर) आई गगनसिंहकी तीनवटी विधवा श्रीमतीहरूलाई सम्झाउने कार्य गर्नुका साथै सती जानबाट समेत रोकिन् (ज.ब.रा., २०६५‚ पृ. २७) ।
   उपन्यासलाई समाजशास्त्रीय स्वरूप दिनका लागि गगनसिंह र वसन्तीसँग सम्बन्धित प्रणयजन्य काल्पनिक घटनाको समायोजन गरिएको छ, तर उपन्यासले ऐतिहासिक यथार्थको गोरेटो छोड्दैन । ऐतिहासिक गोरेटो भने उपन्यासले बेला बेलामा बिराइरहन्छ । वसन्तीलाई पत्नीका रूपमा सार्वजनिक गर्न पनि नसक्ने र छोड्न पनि नसक्ने हुँदा गगनसिंह भित्रभित्रै छटपटिएको छ । कुनै उपाय नदेखेर उसले जङ्गबहादुरसँग “केही गरी महारानी हामीसित वक्र होइबक्सिन लाग्यो भने हामीले उहाँलाई पदच्युत गर्न सक्ने गोप्य शक्तिको सिर्जना गर्नुपर्दछ” (पृ. १५७) भन्दछ । यो ऐतिहासिक तथ्यमा आधारित छैन । यस भनाइले गगनसिंहको व्यक्तित्व धमिलिन पुग्दछ ।
   गगनसिंहको हत्या कसले गर्‍यो भन्ने बारेमा इतिहासकाररूबिच नै मत बाझिएको देखिन्छ । कान्छी महारानीसँग अनुचित सम्बन्ध भएकाले गगनसिंहको हत्याको षड्यन्त्र रचियो । फत्तेजङ्गको घरमा अभिमानसिंह राना, दलभञ्जन पाँडे र काजी वीरकिशोरको यस विषयमा मन्त्रणा भयो र तीन हजार स्वर्ण मुद्राको प्रलोभन देखाई लालझालाई त्यस काममा खटाइयो । ओल्डफील्डका अनुसार गगनसिंहको हत्या लालझाले गरेको हो (शर्मा, २००८‚ पृ. २९९३००) । पुरुषोत्तमशमशेरका अनुसार प्रधानमन्त्री फत्येजङ्ग शाह र जनरल अभिमानसिंहले गगनसिंहको हत्या नै गर्नुपर्ने ठह¥याई जनरल जङ्गबहादुरलाई हत्या गर्ने कार्य सुम्पेको हुँदा जङ्गबहादुरले आफ्ना साहिँला भाइ कर्णेल बद्रीनरसिंहलाई गगनसिंहको हत्या गर्न लगाए (ज.ब.रा., २०६५‚ पृ. ३५) । उपन्यासमा भने गगनसिंहको हत्याका बारेमा जङ्गबहादुर अनभिज्ञ रहेको देखिन्छ । उपन्यासको अन्तमा वसन्ती गगनसिंहको घरमा च्यामिनीका भेषमा आएकी, जङ्गबहादुर गगनसिंहलाई भेट्न आएको र गगनसिंह सन्ध्याकालीन पूजा गर्न गएका बखत गोली लागी उसको हत्या भएको उल्लेख गरिएको छ । जङ्गबहादुर भर्‍याङ उक्लिँदै गरेको बेला बन्दुक पड्केको आवाज सुनेको उल्लेख गरिएको छ ।
   उपन्यासमा जङ्गबहादुरसँग सम्बन्धित घटना इतिहाससम्मत भए पनि उनको व्यक्तित्वलाई उजिल्याउने भरमग्दुर प्रयास गरिएको छ । उनलाई उपन्यासमा धीरोदात्त नायकका रूपमा उभ्याइएको छ । सबै नेपाली सङ्गठित हुनुपर्छ भनेर सोच्ने, अङ्ग्रेजी भाषा सिक्नुपर्छ भने पनि अङ्ग्रेजी सभ्यतालाई टाढै राख्ने, कलङ्कसँग प्राणैदेखि डर्ने, पुण्य र धर्मका अटल विश्वासी, नारीहरूलाई मातृरूप हेर्ने, कुलको र आफ्नो प्रतिष्ठामा ह्रास नसहने जङ्गबहादुरलाई आदर्शिक चरित्ररूप उभ्याउनु लेखकको उद्योग छ (राई, २०५०‚ पृ. १०८) । जङ्गबहादुरको चरित्रलाई उकास्न लेखकले निकै कसरत गरेका छन् । उपन्यासमा राजपरिवारका सदस्य बाहेक जङ्गबहादुरलाई मात्र आदरार्थीको प्रयोग गरिएको छ । इतिहासमा धेरै कलङ्कित काम गर्ने खलनायक जङ्गबहादुर उपन्यासकारका आदर्श पुरुष भएका छन् (पोखरेल, २०६८‚ पृ. १२३) । जङ्गबहादुरप्रति उपन्यासकारको झुकाउ र पक्षधरता ऐतिहासिक तथ्यका दृष्टिले खट्किने कुरा छ ।
   जङ्गबहादुरलाई उपन्यासमा आदर्श, शान्तिप्रिय, राजभक्त, देशभक्त, नैतिकवान् व्यक्तिका रूपमा चित्रण गरिएको छ । उनलाई “कहिले थापा कहिले पाँडे परिवारको हत्या भएको बिलकुल चित्त बुझेको थिएन” (पृ. ३१) । डम्बरेले बम्बईको प्रशंसा गर्दा जङ्गबहादुरले “एक्सा नं वान पिलाएर, बाईजीको नाच देखाएर मलाई आनन्द आउँदैन, मलाई आनन्द दिने हो भने त्यो व्यक्तिको मुख देखाइदिनुहोस्, जसले नेपालको स्वतन्त्रताका निम्ति रगत चुहाएको छ, जसले समाज सुधारका निम्ति छाती फुलाएको छ, जसले जनसेवाका निम्ति शिर निहुराएको छ” (पृ. ३२) । उनको देशभक्ति र राजभक्तिको भावना यसरी प्रकटिएको छ “यहाँ सञ्जीवनी बुटी छ, यहीँ धन्वन्तरी वैद्यका सन्तान छन् । ... फेरि हाम्रा पितातुल्य राजा यहीँ राज गरिबक्सिन्छ त्यसैले यही हो पुण्यभूमि ... नेपाल” (पृ. ३३) । होलीको अवसरमा राजकुमारी र नानीहरूले अबिर लगाइदिँदा उनले “हरे शिव ! नदेख्ना दरबारकी नानी, नछुना बाहुनी भन्छन् । यो कत्रो पाप ?” (पृ. ८१) भन्छन् र प्रायश्चित्तका लागि छटपटिइरहन्छन् । इतिहासमा भने जङ्गबहादुर र दरबारकी पुतली नानी बीच प्रणय सम्बन्ध भएको र पछि बिहे भएको उल्लेख पाइन्छ । डम्बरेले आफ्नी पत्नीलाई जङ्गबहादुरले वसन्तबागमा थुनी राखेको भनेर दरबामा उजुर गरेको प्रसङ्ग अमिल्दो छ । वसन्तबागमा जङ्गबहादुर र डम्बरे साथै गएका बेलामा वसन्ती र डम्बरेको भेट भएको हो । गगनसिंहलाई बचाउन जङ्गबहादुरले आफूमाथि लागेको आरोप स्वीकार गर्दछन् । मित्र रक्षाको यो आदर्श नमुना हो । इतिहासमा जङ्गबहादुर मनमा जे भए पनि बाह्य व्यवहारले गगनसिंह र महारानीप्रति आफ्नो पूर्ण भक्ति देखाउन चुक्तैनथे (शर्मा, २००८‚ पृ. २९९) भनिएको पाइन्छ । उपन्यासमा भने राजपरिवारका बारेमा कसैले दुर्वचन बोल्यो भने असन्तुष्ट हुने (पृ. ३१), गगनसिंहले रानीलाई पदच्युत गर्ने प्रस्ताव गर्दा उनको मनमा अत्यन्त पीर परेको (पृ. १५८) र गगनसिंहले दरबार विरुद्ध षड्यन्त्र गर्ने कुरा गर्दा “यो हाम्रो महान् पवित्र राजगद्दीको खिलाफ जो विद्रोह गर्न खोज्दछ, त्यो महामूर्ख हो । मेरो पुर्खाले जीवनभर सङ्घर्ष गरेर थापना गरेको यो पवित्र गद्दी र त्यसमा राज भएका राजा–रानीका विरुद्ध गरिने कुनै काममा पनि म हिस्सादास बन्न सक्तिन” (पृ. २१४) भनेको कुरा उल्लेख गरिएको छ । आफ्नो सहोदर मामा माथवरसिंहको हत्या पनि राजाज्ञाको शिरोपर गरी गरेको देखाइएको छ ।   
   अन्तमा, वसन्ती नेपाली उपन्यास परम्परामा ऐतिहासिक यथार्थवादी धाराको सूत्रपात गर्ने उपन्यास हो । यसमा वि. सं. १९९५ देखि १९०३ सम्मको नेपालको राजनीतिक इतिहासलाई समेटिएको छ । यसमा ऐतिहासिक घटनालाई सकेसम्म यथातथ्य ढङ्गमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । त्यसका साथसाथै उपन्यासलाई रोचक, जीवन्त र सरस बनाउनका लागि काल्पनिक कथा पनि समानान्तर रूपमा प्रस्तुत गरिएको छ । काल्पनिक कथामा पनि ऐतिहासिक परिवेशको झलक पाउन सकिन्छ । कतिपय ठाउँमा देखिने ऐतिहासिक तथ्यको विचलनले भने उपन्यासको विश्वसनीयतामाथि प्रश्न उब्जाउँछ । औपन्यासिक कलाका दृष्टिले भने यो उपन्यास सफल छ ।
 सन्दर्भ सामग्री सूची
कर्मचार्य (हाडा), गङ्गा (२०६५). वसन्ती ऐतिहासिक पाटामा. छायादत्त न्यौपाने तथा ऋषिराम पाण्डे (सम्पा.)‚ आख्यानकार डायमन  (पृ. १८११९३). डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
ज.ब.रा., पुरुषोत्तमशमशेर (२०६५). श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १). विद्यार्थी पुस्तक भण्डार ।
पन्त, नयराज (२०६५). सेतो बाघको ऐतिहासिक परीक्षा. छायादत्त न्यौपाने तथा ऋषिराम पाण्डे (सम्पा.)‚ आख्यानकार डायमन  (पृ. २४३–२७४). डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
पोखरेल, टीकाराम (२०६५). डायमनशम्शेर राणाका ऐतिहासिक उपन्यास : कल्पनाको प्रयोग र इतिहासको रक्षाको प्रश्नका सन्दर्भमा. छायादत्त न्यौपाने तथा ऋषिराम पाण्डे (सम्पा.)‚ आख्यानकार डायमन (पृ. २१९–२३१). डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
———  (२०६८). ऐतिहासिक उपन्यास : सिद्धान्त र स्वरूप. डायमनशम्शेर राणा साहित्यिक प्रतिष्ठान ।
प्रधान, कृष्णचन्द्रसिंह (२०४३). नेपाली उपन्यास र उपन्यासकार (दोस्रो संस्क.). साझा प्रकाशन ।
राई, इन्द्रबहादुर (२०५०). नेपाली उपन्यासका आधारहरू (दोस्रो संस्क.). साझा प्रकाशन ।
राणा, डायमनशम्शेर (२०४०). वसन्ती (छैटौँ संस्क.).  बालिका राणा ।
वर्मा, धीरेन्द्र तथा अन्य. (सम्पा.). (१९८५). हिन्दी साहित्यकोश (भाग १). ज्ञानमण्डल लिमिटेड ।
शर्मा, बालचन्द्र (२००८). नेपालको ऐतिहासिक रूप–रेखा. कृष्णकुमारी ।
शर्मा, मोहनराज (२०५५). समकालीन समालोचना सिद्धान्त र प्रयोग. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
Abrams, M. H. and Harfam, G. G. (2005). A glossary of literary terms (8th ed.). Thomson Wadsworth.
Cuddon. J. A. (1999). The penguin dictionary of literary terms and literary theory. Penguin Books.
Forster, E. M. (1985). Aspects of the novel. Penguin Books Ltd.
Harmon, W. (2006). A handbook to literature (10th ed.). Pearson.
Hudson. W. H. (1979). An introduction to the study of literature. Kalyani Publishers.









0 comments:

Post a Comment

तपाईंको संदेश : क्रिया - प्रतिक्रिया