विजय
मल्लका कवितामा अभिघात
— डा. दुर्गाबहादुर घर्ती
जीवन
बाँच्ने क्रममा कहिल्यै नदुखेको मन, नभिजेको परेली
र नचस्केको छाती सायद कसैको हुँदैन । जीवनको गतिमा घाउ र ठेस लागिरहन्छ, पीडानुभूति भइरहन्छ । गतिशील भइरहनु, निरन्तर बगिरहनु
नै जीवन हो, नदीजस्तै कहिले छाल खेल्दै, कहिले छाँगाहरूमा पछारिँदै र कहिले पहराहरूमा बजारिँदै । वेदनारहित जीवन
मान्छेका लागि अप्राप्य छ, पीडा र जीवनको यात्रा धुकधुकी
छउन्जेल सँगसँगै चलिरहन्छ । मान्छेको जन्मसँगै पीडा पनि साथ लागेर आउँछ र मान्छेको
अन्त्य पनि पीडासँगै हुन्छ । जन्मको घटना नै जीवनको पहिलो वेदनादायी स्थिति हो,
आमाको न्यानो कोखसँग वियोग र अपरिचित एवं असहज वातावरणमा
उछिट्टिनुको पीडा त्यतिखेरै एकसाथ भोग्नुपर्छ
। प्रथम क्रन्दनद्वारा नै मान्छेले यस धरतीमा आफ्नो उपस्थितिको सङ्केत
दिन्छ । मृत्यु मान्छेका लागि सबैभन्दा त्रासद एवं दुःखद घटना हो । ãणभङ्गुर जीवनप्रति अतिशय मोह र मृत्यृप्रति त्रास मान्छेमा सृष्टिकालदेखि
नै विद्यमान छ । त्यस प्रकारको संज्ञान मान्छेले जन्मजात पाएको छ आनुवंशिक धरोहरका
रूपमा । जन्म र मृत्युको दोसाँधमा अल्झेको जीवनयात्रामा वेदनामय अनुभूतिको सिलसिला
चलिरहन्छ । धेरैजसो पीडादायी अनुभूति समयक्रममा पुरिँदै जान्छन् र कुनै चाहिँ
कहिल्यै निको नहुने भएर उकुच पल्टिन्छ, पछिपछिसम्म बल्झिरहने,
झस्काइरहने घाउ बनेर स्मृतिमा बाँचिरहन्छ । वस्तुतः त्यही नै अभिघात
हो ।
अभिघात
भनेको चोट हो । शारीरिक घाउ वा चोट बुझाउने ग्रिसेली “ट्रमा” वा “ट्रउमा” शब्दको
पर्यायवाचीका रूपमा नेपालीमा अभिघात शब्द प्रचलित रहेको छ । विगतका पीडादायी
घटनाको स्मृतिसँग सम्बन्धित भएकाले यो मूलतः मनोविज्ञानको विषय हो । मनोविज्ञानमा
यसको अर्थ मानसिक आघात, चोट वा कटु अनुभव भन्ने हुन्छ ।
यसलाई मनोविश्लेषणमा प्रवेश गराउने काम सिग्मन्ड फ्रायड र जोसेफ ब्रायरले गरेका
हुन् । मनोविश्लेषणसम्म आइपुग्नका लागि फ्रायडले ब्रायरको गतिलो साथ पाएका हुन् ।
उनीहरूका अनुसार डर, दुश्चिन्ता, लज्जा
वा दैहिक पीडा जस्ता कुनै पनि अनुभूति अर्थात् दुःखद भावले अभिघातका रूपमा कार्य
गर्न सक्छन् (लक्हस्र्ट, २००६, पृ.
४९८) । फ्रायडले अभिघातको अध्ययनलाई निरन्तरता दिएका छन् । उनका अनुसार त्यस्तो
अनुभवलाई अभिघातज अर्थात् चोटले पैदा हुने भनिन्छ जसको उद्दीपनले मनमा स्थायी विक्षोभ
पैदा हुन्छ (फ्रायड, १९९६, पृ. २५४) ।
अभिघात अचेतनको कार्य हो । यो अचेतनमा दमित रहेको हुन्छ तर वेदनादायी पूर्वघटनासँग
सम्बन्धित व्यक्ति, वस्तु, स्थान आदि
देखापर्दा व्यक्तिमा तुरुन्त त्यससँग सम्बन्धित पूर्ववेदना पुनः एक्कासि प्रकट
हुन्छ र भयभीत हुन थाल्दछ (भण्डारी, २०६३, पृ. ७४) । “अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ” भन्ने उखान
यसमा चरितार्थ हुन्छ । त्यसैले उल्रिच बेअर अभिघातलाई नसुल्झेको अनुभूति
(वोल्फ्रीज, २००२, पृ. १२६) भन्न
रुचाउँछन् । अभिघात भूतकालसँग सम्बद्ध भए पनि यसले वर्तमानमा तर्साइरहन्छ, झस्काइरहन्छ । वर्तमानमा यसको अस्तित्व अवास्तविक भए पनि यसको मानसिक
प्रभाव वास्तविकको भन्दा बढी हुन्छ । त्यसैले यसलाई भूतप्रेत भन्न सकिन्छ
(वोल्फ्रीज, २००२, पृ. १३३) ।
प्राकृतिक प्रकोप, युद्ध, आक्रमण,
दङ्गा, हत्या–हिंसा, आतङ्क,
बलात्कार, प्रियजनसँगको वियोग, आङ्गिक ãति आदि अभिघातका कारण हुन् । विजय मल्लका
कवितामा यसप्रकारको अभिघातीय अनुभूतिको अभिव्यञ्जनाले निकै ठाउँ पाएका छन् ।
विश्वयुद्धले
जन्माएको अझ विशेषगरी द्वितीय विश्वयुद्धले जन्माएको अभिघात विजय मल्लका कवितामा
पाइने सर्वाधिक उल्लेखनीय पã हो । जुनसुकै लडाइँ पनि
प्रभुता र आत्मरक्षाको इच्छाले निर्देशित हुन्छ । त्यसको मुख्य कारक हो जीवनेच्छा
र मृत्युको भय । शक्तिसम्पन्न बन्न चाहनु मान्छेको नैसर्गिक प्रवृत्ति हो ।
बाँच्नकै लागि मान्छे शक्तिशाली बन्न र अरूबाट अपराजित हुन चाहन्छ । त्यस प्रकारको
उग्र कामनाले निम्तिन्छ युद्धको परिस्थिति । प्रथम र द्वितीय विश्वयुद्धको मूल
कारण पनि त्यही नै हो । तर त्यसको परिणति भने सुखद रहेन । बीसौँ शताब्दीको
पूर्वार्धमा बीस वर्षको अन्तरालमा भएका दुई विश्वयुद्ध मानव इतिहासकै सबभन्दा
कहालीलाग्दा नरसंहारकारी घटना हुन् । प्रथम विश्वयुद्धमा झन्डै एक लाख मान्छेको ज्यान
गएको र डेढ करोडभन्दा बढी व्यक्ति घाइते भएको अनुमान गरिएको छ । द्वितीय
विश्वयुद्धमा कति जनधनको ãति भयो भन्ने वास्तविक रूपमा यकिन
हुन नसकेको भए पनि यसमा डेढ करोडभन्दा बढी सैनिक र एक करोडभन्दा बढी सर्वसाधारणको
मृत्यु भएको अनि लगभग एक करोडभन्दा बढी सैनिक घाइते भएको अनुमान छ । त्यसबेलाको
हताहत, रक्तपात र विध्वंशबाट पर्न गएको मानसिक आघातको
लेखाजोखा नै छैन ।
नेपालीहरू
चाहेर वा नचाहेरै ती दुई महासमरमा सहभागी हुनु परेको कुरा इतिहासले बताउँछ । प्रथम
विश्वयुद्धमा रिक्रुट बाहेक साढे सोह्र हजार जति नेपाली सैनिक ब्रिटिश सरकारको
सहयोगका लागि पठाइएको र द्वितीय विश्वयुद्धमा नेलालले सहयोगार्थ पठाएको हजारौँ
तालिम प्राप्त सैनिक बाहेक ब्रिटिश फौजमा रहेको गोरखाली फौजमा एक लाखभन्दा बढी
नेपाली रिक्रुट भर्ती गरिएको जानकारी पाइन्छ (शर्मा, २००८,
पृ. ३६३) । दोस्रो महायुद्धमा नेपाली सेनाहरू विशेषगरी पूर्वतर्फ
बर्मा, सिङ्गापुर, आसाम र पश्चिमतिर
मिश्र, सुडान, सिरिया, इराक, इरान आदिमा लडेका थिए । तिनीहरूमध्ये कति
हताहत भए, कति असक्त घाइते भए र कति हराए भन्ने तथ्याङ्क
पाइँदैन । विश्वयुद्धले संसार जलिरहेको समयमा बेलायत, फ्रान्स,
अमेरिका आदिको गठबन्धन विरुद्ध उत्रेको जर्मनी, इटली र जापान गठबन्धनको सेना पूर्वी एसियामाथि कब्जा जमाउँदै भारतको
पूर्वी प्रान्तसम्म आइपुगेको थियो । अमेरिकाको दुईपटकको अणुबम प्रयोगले जापानको
हिरोसिमा र नागासाकी सहर ध्वस्त पारेपछि संसार झस्कियो र विश्वयुद्धमा विराम लाग्यो
। त्यतिबेला नेपालीहरू कति त्रसित र आतङ्कित भए होलान् भन्ने सहजै अनुमान गर्न
सकिन्छ । त्यसैको विश्वजनीन अभिघातीय अनुभूति विजय मल्लका कवितामा बारम्बार
चियाइरहन्छ ।
दोस्रो
विश्वयुद्धको अन्त्य भए पनि युद्धको सन्त्रास र आशङ्काको अन्त्य भने भएन । द्वितीय
विश्वयुद्धपछि अमेरिका र रुस नयाँ शक्तिकेन्द्रका रूपमा उदाए र विश्व फेरि दुई
विरोधी गुटमा विभाजित हुन पुग्यो । युद्धले थिलथिलिएको युरोपमाथि आफ्नो प्रभुत्व र
प्रभाव जमाउने अनि अर्को गुटलाई निषेध गर्न खोज्ने प्रतिस्पर्धाले अमेरिका र रुस
बिच शीतयुद्धको प्रारम्भ भयो । युद्धका लागि सैन्य तयारी, आणविक हतियारको परीãण, सामूहिक
सुरक्षाका नाममा क्षेत्रीय सङ्गठनहरूको निर्माण, सैनिक
उत्तेजनाको भाषामा एकले अर्कालाई ध्वस्त पार्ने धम्की, छिटपुट
युद्धका घटना आदि शीतयुद्धकालीन गतिविधिले फेरि अर्को विश्वयुद्ध हुन सक्ने र त्यो
अकल्पनीय हुने सम्भावना तीव्र बन्दै गयो । तिनै गतिविधिले आमविनाशको व्यापक
दुश्चिन्ता उत्पन्न ग¥यो (ट्रेच्टेनबर्ग, २००४, पृ. ४) । विश्वयुद्धले पारेको घाउमा
शीतयुद्धले खाटा बस्न दिएन, बरु ज्यादा दर्दनाक बनाइरह्यो,
चहर्याउने पारिरह्यो । विश्व परिस्थितिसँग परिचित, सचेत एवं संवेदनशील कवि आसन्न मृत्युको सम्भावना बोकेर पलपल बाँचेका
मान्छेहरूमा लासको दुर्गन्ध अनुभव गर्छन्, घोर विरक्ति र
उग्र उराठको अनुभव गर्छन् । अनि उनलाई अनुराग, सौन्दर्य,
माधुर्य सबै बित्था लाग्छन्, गीतका फाँकी अलाप्न
बेकार लाग्छ । कविकै शब्दमा :
मानिसमा
लाशको जब दुर्गन्ध आउँछ,
फजूलमा
गीत को गाउँछ (“फजूलमा गीत को गाउँछ ?” : ८६) ।
एकअर्कालाई
ध्वस्त पार्ने शक्तिराष्ट्रहरूको गर्जन र तर्जनले विश्व समुदायलाई कतिखेर जीवनको
अस्तित्व नामेट हुने हो, साँझ सुतेपछि भोलि बिहानको
सूर्य देख्न पाइने हो कि होइन, आज देखेको सहर भोलिसम्म
खण्डहर र लासको थुुप्रोमा परिणत भइसक्ने हो कि भन्ने जगजगीले नित्य झस्काइरह्यो ।
त्यस्तो अवस्थामा कोही पनि चैनसँग निदाउन सक्ने कुरै भएन । त्यही भएर राति निदाएको
बेलामा ऐँठन परिरहने, झस्किरहने र आत्तिएर, तर्सिएर बिउँझिरहने अवस्था भइरहन्छ । कवि भन्छन् :
सुनसानमा—
मानो
करुण चीत्कार सुने झैँ
रातको
गाढा अन्धकारमा,
छटपटाएर
ब्यूँझन्छु—
आफै
आत्तिएर,
तर्सिएर ! (“सूनसानमा” : १२) ।
यो
युद्धको सन्त्रास र मृत्युको भयले उत्पन्न गरेको अभिघातीय मनस्तापको परिणति नै हो
। यो वैयक्तिक अनुभूति मात्र नभएर सर्वदेशीय हो, सबैको
मन मस्तिष्कमा डसिरहने साझा व्यथा हो । त्यसरी निद्रित अवस्थामा झस्केर बिउँझिए
पनि आफू जिउँदै छु भन्ने विश्वास नै गर्न नसक्नु त्यति बेलाको यथार्थ भोगाइ हो ।
सधैँ डराएर, आतङ्कित बनेर जिउनु परेको जब पीडाबोध हुन्छ,
आफ्नै मन कतै कहालिएर सुँकसुँकाइरहेको हुन्छ, अनि
मात्र कविलाई आफू मरेको रहेनछु भन्ने लाग्छ । कविकै भनाइमा :
एउटा
लामो निश्वासले बिउँझायो मलाई
एउटा
रुन्चे आवाजले चिथ¥यो मलाई,
अनि
चाल पाएँ
बाँचेको
छु झैँ लाग्यो आफूलाई (“एक रातमा” : ४) ।
जति
जति तृतीय विश्वयुद्धको भयावह स्थितिको सम्भावना चर्किंदै जान्छ, त्यति त्यति आमविनाश र रक्तपातको दुश्चिन्ता पनि तीव्र हुँदै जान्छ ।
हिजोका नरसंहारकारी विश्वयुद्धहरूको पीडादायी स्मृतिले त्यसप्रकारको सन्त्रास
जन्माउँछ । वर्तमानको हातहतियारको विकास र आणविक शक्तिको होडबाजीले त्यसप्रकारको
त्रास झनै तीव्र तुल्याएको छ । त्यही भएर “यस धरतीको पानीमा” कवितामा यस बीसौँ
शताब्दीको नदीहरूमा पानी होइन, रगत बगेको कल्पना गरिएको छ ।
पृथ्वीका
सारा नदीहरूमा—
गङ्गा, भोल्गा, ह्वाँग–हो
मिसिसिपि, अभ्याजाँ, नाइल;
जताततै
बदलिन्छ पानी,
अकस्मात्
रक्तमा ! (यस धरतीको पानीमा : २) ।
युद्धको
नियम कि मार्ने कि मर्ने नै हो । यसले जसरी पनि मानव जातिको संहार नै हुन्छ ।
शक्ति राष्ट्रहरू युद्धको तयारीमा जुटिरकै छन् । आणविक हतियारको परीक्षण भइरहेका
छन् । विश्वमा एकल हैकम चलाउनका लागि अरूलाई परास्त गर्नुपर्छ । त्यसका लागि युद्ध
आवश्यक पर्छ । त्यसैले कुनै पनि बेला लडाइँ हुन सक्छ । त्यही आशङ्का तलका हरफहरूले
व्यक्त गरेका छन् :
गुलाफको
फूलमा अहिले,
किन
बारुदको गन्ध आउँछ ?
अङ्कमालमा
मुटु किन,
बोल्दछ
बमको आवाज झैँ ?
किन
हरेक झाँग झाँगबाट
चितुवा
लुके झैँ शङ्का चियाउछ ?
हरेक ãण किन त्रास ओसारिएर
यस
धरतीमा लहराउँछ ? (यस धरतीको पानीमा : २—३) ।
“छोरीलाई मानचित्र पढाउँदा” कविता हिजोको युद्धको अभिघात र देशका
सीमारेखाहरू मेटिएर विश्व एउटै देश बनेको र युद्धको समाप्ति भएको भोलिको आशा
बोकेको कविता हो । अहिले विश्व विभिन्न देशहरूका नाममा विभाजित भएको छ । विश्व
मानचित्रमा तिनीहरूलाई छुट्याउनका लागि राता धर्साहरूको प्रयोग गरिएका छन् । ती
राता धर्साहरू मानचित्रमा देखाउनका लागि मात्र कोरिएका होइनन्, तिनको आफ्नै कहालीलाग्दो इतिहास छ, युद्धको इतिहास छ
। हरेक राष्ट्रको जन्मका पछाडि लडाइँको भूमिका रहेको छ । त्यसमा अनगिन्ती मान्छेको
रगत बगेको छ ।
रातो
रगतले कोरिएको साँध छ ।
खेतमा
डील लाए झैँ,
हेर, हरेक राष्ट्रका फाँटमा ! (छोरीलाई मानचित्र पढाउँदा : ७) ।
“छोरीलाई मानचित्र पढाउँदा” कवितामा भविष्यमा देश छुट्याउने रातो सीमारेखा
खोजेर पनि नपाइने दिन आउने आशा व्यक्त गरिए पनि वर्तमानमा त्यस्तो परिस्थिति देखापर्दैन
। ठुलो राष्ट्रबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बन्ने, कमजोर
राष्ट्रलाई शक्तिशाली राष्ट्रले आफ्नो कब्जामा पार्न खोज्ने विकसित भइरहेको छ ।
द्वितीय विश्वयुद्धपछि अमेरिका र रुस बिच चलेको सिङ्गो विश्वलाई आफ्नो प्रभावमा
पार्ने होडबाजी झन् डरलाग्दो छ । अन्य देशको प्राकृतिक स्रोत हत्याउनका लागि पनि
शक्ति राष्ट्रका बिच हानाथाप चल्ने र अरू देशले विभिन्न क्षेत्रीय सङ्गठनहरूका
नाममा तिनीहरूलाई सघाउने हुँदा विश्वयुद्धको खतरा जहिले पनि त्यत्तिकै
देखापरिरहन्छ । त्यसमा नेपाल जस्तो देशको केही लाग्दैन । शक्ति राष्ट्रहरू बिच युद्ध
मच्चियो भने नेपाल पनि बाँकी रहँदैन । त्यही भएर कवि व्यङ्ग्य गर्छन् :
बम
खसाल,
ए बम खसाल !
परिश्रमले
सिँचेको !
पहाड
पर्वत चिर्चेको
ढुङ्गा
फोडेको—
हर्ष
र आश उम्रेको
यस
युग युगको प्राचीन नगरमा
बम
खसाल ! ए, बम खसाल
! ( बम खसाल, ए बम खसाल ! : २२) ।
युद्ध
जेका नाममा भए पनि आखिर युद्ध नै हो । त्यसको भोगाइ दु:खद नै हुन्छ । नेपालीहरूले
कहिले तिब्बतसँग, कहिले अङ्ग्रेजसँग र कहिले
विश्वयुद्धमा सहभागी भएर युद्ध लडेका छन् । तिब्बत र अङ्ग्रेजसँगको युद्धमा निश्चय
नै नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न थियो, तर प्रथम र
द्वितीय विश्वयुद्धमा राणाशासकले अङ्ग्रेजलाई रिझाउनका लागि नेपाली सेना पठाएका
थिए । उनीहरूलाई वीर गोरखालीको उपमा दिएर युद्धमा होमिन हौस्याइएको थियो ।
तिनीहरूप्रति व्यङ्ग्य गर्दै कवि भन्छन् :
कहिलेकाहीँ
युद्ध पनि चाहिएको छ
।
रोटीको खातिर मर्ने
वीरहरू—
देशभक्त पनि चाहिएको
छ
र तिमी भन्छौ—
‘मरे स्वर्ग पाइन्छ
जिते वसुन्धरा ।’
(बाक्लो कोट : १०३—१०४) ।
देशभक्ति, वीरता र बलिदानका नाममा नेपालीहरूलाई युद्धका लागि उक्साइयो, प्रेरित गर्ने काम भयो । त्यसरी युद्धको अग्निकुण्डमा होम्नेहरूप्रति कवि
आक्रोश पोख्छन् :
राष्ट्रिय
वीरताको अस्तित्व जोगाउन,
जीवनमा
बलिदानको आदर्श सिकाउन,
सेवाभावको
जगत्मा प्राण बचाउन,
सम्पत्ति, दाजुभाइ, माता पिता, शिशुको मुस्कान,
लाखन्
नरनारीको प्यार, ममता, आराम,
दृढ
भएर,
फुक्का बनेर, हाँसी हाँसी—
युद्धको
सिर्जना गर्दै अग्निकुण्डका लप्कामा
के
तिमीले होमिदिएनौ, भस्म गरिदिएनौ ? (ए, आत्मा किन्ने मानिस : ५३) ।
“त्यो दिन कहिले आउला !?” कविताले विश्वयुद्धका बेला
भएको नरसंहार र जनमानसमा व्याप्त नैराश्यलाई देखाउन खोजेको छ । विश्वका
शक्तिराष्ट्रहरू युद्धमा होमिएका छन्, जताततै मानवीय विनाश
भइरहेका छन् । मान्छे मार्नु नै प्रमुख लक्ष्य बनेको छ । त्यसैले विश्व स्मसानमय
बन्न पुगेको छ । बाँच्नेहरूका लागि त्यस त्रासदीले निराश र सन्त्रस्त तुल्याएको छ
:
निर्धक्क भई गाउने
त्यो दिन कहिले आउला ?
यो घाँटीमा मीठो
सुरले बास कहिले पाउला ?
चारैतिर मसान छ,
चीत्कार कोलाहल,
नैराश्य हुरी आएर
आशादीप निभ्दछ पलपल ! (त्यो दिन कहिले आउला !? : ५०) ।
अभिघातको
आफ्नै इतिहास हुन्छ र त्यो कहालीलाग्दो हुन्छ । त्यही इतिहास मानसपटलमा फर्की
फर्की आउने र तर्साउने हुन्छ । त्यसलाई सम्झाउने खालका घटना, पात्र वा परिवेश देख्दा पनि अभिघातीय असर पर्छ । विजय मल्लका कवितामा
मूलतः युद्धको विभीषिकासँग सम्बन्धित अभिघात पाइन्छ । विश्वको इतिहास र प्राचीन
महाकाव्यहरू नरसंहार र युद्धकथाले भरिएका छन् । विश्वयुद्धले सन्त्रस्त कविका लागि
पहिलेका युद्ध र तिनीहरूसँग सम्बद्ध पात्र पनि अभिघातीय लाग्छन् ।
इन्द्र, अर्जुन, सिकन्दर,
चन्द्रगुप्त,
सीजर, दारयुस, नेपोलियन,
अझ कति नाम छन्,
इतिहासका पानामा
अलमलिएका !
पृथ्वीनारायण,
जङ्गबहादुर
यी
बहादुर हुन् !
पूजा
यिनका हुन्छन्,
रक्त अबिरले,
नरमुण्ड
लावाले । (गणना : ७८—७९) ।
भूकम्पको
अभिघात नेपालीहरूले भोग्नुपरेको अर्को ठुलो पीडा हो । वि. सं. १९९० सालमा गएको भूकम्पले
धेरै जनधनको क्षति मात्र गरेन, त्यसले बाँच्नेहरूका
अभिघात पनि दिएर गयो । त्यसको अनुभूतिले अझै पनि तर्साइरहन्छ ।
ठूलो
भूकम्प गयो कहिल्यै,
त्यसका
शेष लावाहरू निस्केर
धरतीको
छातीमा फैलिएर बसे—
त्यस्तै
बस्यो त्यो अनुहारमा
गाढा
सन्तापका र सन्तापका रेखाहरू (एउटी अधबैँसेलाई देखेर : १०) ।
अभिघातसँग
दुश्चिन्ता पनि जोडिएर आउँछ । विजय मल्लका कवितामा व्यक्त अभिघात मृत्युको चिन्तासँग
सम्बन्धित छ । मानवीय जीवनमा मृत्यु नै सबैभन्दा ठुलो डर हो । युद्धको विभीषिका र
भूकम्प जस्ता घटनाले मृ्त्युलाई नै आमन्त्रण गर्दछन् । कविले ठाउँ ठाउँमा मृत्युको
चिन्ता प्रकट गरेका छन् । उदाहरणका रूपमा कविताका केही फाँकी तल प्रस्तुत गरिएको छ
।
म धरतीबाट
टाढा छु,
जीवनीको
गर्मीबाट दूर,
सूनसान
र निर्जनतामा
एकान्त
र एकलासमा । (कालो पर्दा तानेर : १५) ।
××× ××× ×××
एउटा
गुलाफ ओइलाएर
ढल्दछ
त्यहीँ सम्मुख ।
मृत्यु
खित्काएर हाँस्दछ
अट्टहासमा
गिजाएर (उर्वशी : १७) ।
××× ××× ×××
मेरा
ओठमा तिमी छोऊ,
के
मुर्दा गीतको लाश छैन त्यहाँ ? (मलाई नसोध : ४०) ।
××× ××× ×××
मृत्युले
नमार्दै जित्दछ
मनुष्यलाई
कुनै युद्धमा ! (यो मेरो उत्तरदायित्व : ४६) ।
××× ××× ×××
चारैतिर
मसान छ,
चीत्कार कोलाहल,
नैराश्य
हुरी आएर आशादीप निभ्दछ पलपल ! (त्यो दिन कहिले आउला !? : ५९) ।
विजय
मल्ल मनका कविभन्दा बुद्धिका कवि बढी हुन् । उनका कवितामा भावनाको खहरे सुसेलिँदैन, कल्पनाको गजपथ अनन्त क्षितिज टेकिँदैन र तिर्सनाको काकाकुल कल्पिँदैन ।
अवश्य नै उनका कतिपय कविता रागात्मक विषय स्पर्श गर्न खोज्छन्, तर ती पनि भावगन्धी मात्र छन् । भावज्वारको उत्ताल तरङ्गमा लहरिनुभन्दा
बरु उनका कविता बढी विचार बोल्छन्, मानवीय अस्तित्वको
सङ्कटप्रति चिन्ता बोल्छन् । सामाजिक, राजनीतिक एवं ऐतिहासिक
चेत, युगबोध तथा अस्तित्ववादी जीवनदर्शन मल्लका कविता उभिने
मूल भित्ति हुन् र तिनकै आडमा मानवीय जिजीविषा, मृत्युप्रतिको
सन्त्रास एवं अभिघात अभिव्यञ्जित भएका छन् ।
प्रमुख
सन्दर्भ सामग्री
फ्रायड, सिग्मन्ड (१९९६). अ जनरल इन्ट्रोडक्सन टु
साइकोएनालिसिस. देवेन्द्र कुमार (हिन्दी अनु.), फ्रायड : मनोविश्लेषण. राजपाल एन्ड सन्ज ।
भण्डारी, कृष्णप्रसाद (२०६३). मनको रोग. साझा प्रकाशन ।
मल्ल, विजय (२०३६). विजय मल्लका कविता. (तेस्रो संस्क.). साझा प्रकाशन ।
शर्मा, बालचन्द्र
(२००८). नेपालको ऐतिहासिक रूप–रेखा, कृष्णकुमारी ।
Luckhurst,
Roger (2006). Mixing memory and desire: Psychoanalysis, dsychology, and trauma
theory. In Paticia Waugh (ed.), Literary
theory and criticism: An oxford guide (pp. 497-507). Oxford University
Press.
Trachtenberg,
Alan (2004). Intellectual background. In Danial Hoffman (ed.), Harvard guide
to contemporary American writing (pp. 1-50). Oxford University Press.
Wolfreys,
Julian (2002). Trauma, testimony, criticism: Witnessing, memory and
responsibility. In Julian Wolfreys (ed.), Introducing criticism at the 21st
century (pp. 126-148). Rawat Publications.

0 comments:
Post a Comment